तरकारी खेतीले धानेको गाउँ

बागलुङ । गलकोट नगरपालिका–९ बरेखानीका मेहनती किसानले गाउँको चिनारी नै बदलिएको छ । बरेखानी अहिले तरकारीमा आत्मनिर्भर गाउँका रूपमा चिनिन्छ । ६१ वर्षीय लीलाम्बर गौतम विसं ०५२ देखि तरकारी खेतीमा छन् । उनी जस्ता थुप्रै किसान तरकारी खेतीमा आबद्ध छन् । वर्षमा तीन÷चार लाख कमाउने गौतम तरकारी खेतीप्रति निकै नै खुसी देखिन्छन् । संख्याका हिसाबले गाउँमा जम्मा दश घर छन् । झण्डै ५० रोपनीमा व्यावसायिक तरकारी खेती छ । अगुवा किसान गौतमले आठ रोपनीमा तरकारीखेती गर्दै आएका छन् । उत्पादित तरकारी खपत हुने मुख्य बजार हटिया हो । तरकारीसँगै अन्नबाली, गाईभैँसी, बाख्रा र मौरीपालनमासमेत किसान व्यस्त छन् ।

उब्जाउ माटो, सिँचाइको सुविधा, बजारको सुनिश्चितता जस्ता कारणले किसान तरकारी खेतीमा आकर्षित छन् । ‘यहाँको हावापानी नै राम्रो छ, उब्जनी बढी हुन्छ’, २४ वर्षीय मित्रलाल गौतमले भने, ‘म पनि सबै कुरा छाडेर व्यावसायिक कृषिमा लागेको छु ।’ तरकारी खेतीबाटै आफ्नो परिवारको जीविका चलेको उनको भनाइ छ । तरकारीमा गोलभेँडा, काउली, बन्दा, मुला, गाँजरलगायत उत्पादन हुन्छ । बेसार र अदुवाबाट पनि किसानले आम्दानी गर्छन् । किसानको अर्को कमाइको स्रोत मौरीपालन पनि हो । एक किलो मह १५ सयमा बिक्री हुन्छ । व्यावसायिक कृषि अँगालेका किसान मेहनत अनुसारको कमाइबाट सन्तुष्ट छन् ।

कृषि गर्नेमा अधिकांश पाका उमेरका र केही युवा किसान छन् । ‘छोराछोरी कोही विदेश, कोही बाहिर बसेर पढ्दै छन्, हामी कृषिमै रमाएका छौँ’ लिलाम्बरले भने । घरमा उहाँ र उहाँकी श्रीमती बुद्धिसरा मात्र हुनुहुन्छ । बढ्दो उमेरमा पनि गौतम दम्पतीको कृषि गर्ने जाँगर घटेको छैन । वेलाबखत पाइने तालिम, अनुदान र उपकरण सहयोगले पनि किसानलाई तरकारी खेतीमा प्रोत्साहन मिल्ने गरेको छ । उन्नत ‘टनेल’ प्रविधिका लागि कृषि ज्ञान केन्द्रबाट एक लाख ८० हजार अनुदान पाएको लिलाम्बरले बताए । उनले अहिले दुई वटा ‘टनेल’ मा तरकारी खेती विस्तार गरेका छन् ।

मध्यपहाडी पुष्पलाल लोकमार्गबाट गाउँ जोड्ने गरी सडक निर्माण सुरू भए पनि किसान खुसी छन् । गाउँमै सडक पुग्न एक किमिको दूरी बाँकी छ । नजिकमा सडक पुगेपछि कृषि उपजलाई बजार पु¥याउन सहज भएको छ । गाउँमै सडक जोडिए दूध पनि नियमित बजार लैजान सकिने किसान बताउँछन् । बसाइँसराइले बस्ती रित्तिँदै गएका वेला बरेखानीका किसानले भने आफ्नै श्रम र सीपबाट गाउँ सिँगारेको स्थानीय समाजसेवी ललिता थापाले बताए । ‘सिंगै गाउँका किसान व्यावसायिक तरकारी खेतीमा छन्’, उनले भने, ‘किसानलाई थप तालिम, अनुदानको खाँचो छ ।’

थापाकै पहलमा चार महिनाअघि उक्त गाउँमा केन्द्रीय बिजुली विस्तार भएको थियो । अन्य वस्तीभन्दा अलग्गै रहेकाले बरेखानीमा विकास निर्माणका योजना ढिलो पुग्ने गरेका छन् । नगरपालिकाले चालू आवमा सडक पु¥याउनका लागि चार लाख ५० हजार बजेट छुट्टाएको छ । बस्तीमा जोड्न खनिएको नयाँ सडक वर्षायामको पहिरोले पुरानै अवस्थामा फर्काएको छ । गाउँदेखि तल नाइरी खोलासम्म भने सडकको सहज पहुँच छ ।

प्रतिक्रिया