फुटबल स्टेडियमको प्याराफिट धमाधम जोडिँदै

काठमाडौं । मंसिर १५ गतेदेखि सुरु हुन लागेको दक्षिण यसियाली खेलकुद (साग) अन्तर्गतको महिला फुटबल प्रतियोगिता पोखरामा हुँदै छ । सोही प्रतियोगिताका लागि बुधबारबाट धमाधम प्याराफिट जोड्ने काम भइरहको छ ।

निर्माणाधीन महिला फुटबल मैदानका लागि आवश्यक स्टिल मोडुलर ग्रान्डस्ट्यान्ड २ दिनअघि पोखरा आइपुगेको हो । मैदान बनाउने जिम्मा भारतको ग्रेट स्पोर्ट्स इन्फ्रा र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीले पाएको छ ।

जेभीका प्रोजेक्ट म्यानेजर दीपक बरालले ५ दिनभित्र सबै प्याराफिट जडान भइसक्ने जानकारी दिए । ‘आइतबार ७ कन्टेनर र सोमबार ८ कन्टेनर गरी १५ कन्टेनर प्याराफिटका लागि आवश्यक सामान पोखरा आएको हो,’ म्यानेजर बरालले भने, ‘५ दिनभित्र तयार हुने यो प्याराफिट ३८ सय क्षमताको हुनेछ ।’

उनले प्याराफिट निर्माण भइसकेपछि दर्शकका लागि कुनै समस्या नहुने जानकारी दिए । खेल मैदानका लागि परिवर्तन गर्नुपर्ने दुबो बुधबार साँझसम्म पोखरा आइपुग्ने र तत्काल फेर्न सुरु गर्नेसमेत बरालले जानकारी दिए । ‘केही दुबो आउन बाँकी छ । त्यो दुबो पनि साँझसम्म आइपुग्छ,’ उनले भने, ‘दुबो आइसकेपछि साँझबाटै हामीले काम सुरु गरिहाल्छौँ ।’

मैदानभित्र पर्ने सिन्थेटिक एथ्लेटिक ट्रयाकको कामसमेत धमाधम निर्माण भइरहेको बरालले जानकारी दिएका छन् । उनका अनुसार ट्रयाक ५ दिनभित्र पूरा भइसक्नेछ । ‘रंगशालाको अहिले ९० प्रतिशत पूरा भइसकेको छ । बाँकी काम पनि केही दिनभित्रै पूरा हुन्छ,’ उनले भने । मंसिर १५ देखि २४ गतेसम्म हुन लागेको खेल पोखरासहित काठमाडौं र जनकपुरमा हुनेछ ।

पोखरामा ९, जनकपुरमा १ र बाँकी खेल काठमाडौंमा हुने तय भएको छ । पोखरामा हुने खेलमा ट्रायथालन, प्याराग्लाइडिङ, आर्चरी, बिच भलिबल, ह्यान्डबल, महिला क्रिक्रेट, महिला फुटबल र भारोत्तोलन छन् । सबै खेलका लागि भौतिक र प्राविधिक निर्माण कार्य तीव्ररूपमा अघि बढिरहेको छ ।

प्रतिक्रिया