कांग्रेसको दृष्टिमा सरकार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार पत्रकार सम्मेलन गरेर वर्तमान सरकार असफल भएको आरोप लगाएको छ । उप–निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन लक्षित प्रचारप्रसारका सामग्रीहरू सार्वजनिक गर्ने क्रममा उसले गएको २१ महिनामा सरकार असफल भएका २१ वटा बुँदाहरू सार्वजनिक गर्दै सरकारप्रति विभिन्न आरोपसमेत लगाएको छ ।

झण्डै दुईतिहाइ बहुमतका साथ वर्तमान सरकार गठन भएको बुधवार २१ महिना पूरा भएको छ । प्रतिपक्षी कांग्रेसले भने ‘आगामी उप–निर्वाचन सरकार बदल्ने नभए पनि सरकारको शैली परिवर्तन गर्न भूमिका खेल्ने’ निर्वाचन भएको भन्दै ‘सरकारको असफलताका बुँदाहरू’ सार्वजनिक गरेको छ ।

पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मतदाताले अपेक्षा गरेअनुसार अहिलेको सरकारले काम गर्न नसकेको आरोप लगाए । उनले प्रमुख प्रतिपक्षीका रूपमा कांग्रेसको भूमिका भने सफल रहेको दाबी गरे । सो अवसरमा उनले सरकारले कालापानी विवाद सुल्झाउनका निम्ति राजनीतिक तथा कूटनीतिक पहल गरेर भूमि फिर्ता गराउन विफल भएको आरोप लगाए ।
उक्त पत्रकार सम्मेलनमार्फत कांग्रेसले सरकार असफल बनेको भन्दै सार्वजनिक गरेका २१ बुँदाहरू यस्ता छन् ।

राष्ट्रियताका मामिलामा वर्तमान सरकार असफल बनेको कांग्रेसको आरोप छ । उसले प्रतिपक्षले साथ दिएका बेला पनि कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद सुल्झाउन सरकारले कुनै पनि कूटनीतिक पहल गर्न नसकेको जनाएको छ । पहिले आफ्नो पालामा देशभित्रै अस्थिरता रहेकाले यो मुद्दामा कांग्रेसले केही गर्न नसकेको तर अहिले सरकारले समेत प्रतिपक्षको जस्तो सञ्चार खपतका लागि प्रतिक्रिया दिएर बसेको कांग्रेसको आरोप छ ।

सरकारले संविधानको दायरा बढाउन असफल भएको आरोप लगाएको छ । अहिलेको सरकारले मधेसवादीहरूसँग संविधान संसोधनको प्रतिबद्धता गरेर त्यो पनि नगरेको पत्रकार सम्मेलनमा बताएको छ । त्यसले संविधानप्रतिको अपनत्व खुम्चिएको उसको बुझाइ छ ।

सरकार सत्ताको सैद्धान्तिक चरित्र निर्मणमा असफल बनेको आरोपसमेत लगाएको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले यो सरकारले सत्ताको चरित्र नै निर्माण गर्न नसकेको आरोप लगाएका हुन् ।

संविधानको बाँकी काम गर्न पनि सरकार सफल हुन नसकेको उसको आरोप छ । उसले संघीयता कार्यान्वयनलगायतका कुरामा संविधानको थप कामहरू सरकारले नगरेको आरोप पनि लगाएको छ ।

यस्तै, नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिलाई नियन्त्रण गर्न वा राजनीतिक तवरबाट उक्त समस्या समाधान गर्न पनि सरकार असफल भएको उनले आरोप लगाएका छन् ।

यसैगरी, कूटनीतिक मामलामा पनि सरकार असफल भएको कांग्रेसको दाबी छ । प्रवक्ता शर्माले कूटनीतिक हिसाबले गएको २१ महिनामा सरकार कुनै पनि ढंगले सफल हुन नसकेको आरोप लगाए ।

प्रतिपक्षी दल कांग्रेसले सरकारको अर्को असफलताका रूपमा शान्तिसुरक्षालाई आँैल्याएको छ । विभिन्न क्षेत्रमा भएका हत्या, बलात्कारलगायतका अपराधहरूको उदाहरण दिँदै उसले मुलुकमा शान्ति सुरक्षा दिन सरकार असफल भएको दाबीसमेत गरेको छ ।

सरकार गठन भएको २१ महिनामा सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको कांग्रेसको मूल्यांकन छ । जनताले थेग्न नसक्ने गरी मूल्यवृद्धि भएको भन्दै उसले भनेको छ, मूल्यवृद्धि सगरमाथाको उचाइमा पुगेको आभास भएको छ ।

त्यस्तै, सरकारले विभिन्न क्षेत्रमा भएका भ्रष्ट्राचाराको नियन्त्रण पनि गर्न नसकेको समेत आरोप लगाएको छ । उसले नेपाल वायु सेवा निगमको वाइडबढी जहाज खरिदमा भएको भनिएको भ्रष्ट्राचारलाई अनुसन्धान गर्ने निकाय हुँदाहुँदै सरकारले त्यसलाई ढाकछोप गर्न खोजिएको दाबी गरेको छ ।

स्वदेशी लगानीमा नै जलाशययुक्त बुढी गण्डकी आयोजना बनाउने भनिएको सरकारी योजनामा पनि सरकार असफल भएको कांग्रेसको ठहर छ । उसले पेट्रोलियम पदार्थबाट उपभोक्तासँग उठाइएको रकम जम्मा गरेर अन्त्यमा उक्त आयोजना चिनियाँ कम्पनीलाई दिएर सरकारले राष्ट्रघात गरेको आरोप लगाएको छ ।

आफ्नो पालामै ९० प्रतिशत निर्माण सम्पन्न गरेर १० प्रतिशत मात्र काम बाँकी राखिएको मेलम्ची आयोजना सम्पन्न गर्न नसकेको आरोप पनि कांग्रेसको छ । अहिलेको सरकारले विभिन्न लोभ लालचमा मेलम्चीमा ढिलाइ गरेको उसको दाबी छ ।

बाराको निजगढमा निर्माण गरिने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको योजना अघि बढाउन पनि सरकार असफल भएको कांग्रेसको दाबी छ । उसले त्यसका लागि त्यहाँ ठूलो संख्यामा रूखहरू काट्न लागिएको र विवाद सिर्जना भएको आरोप लगाएको छ । त्यसलाई समाधान गर्न सरकार सफल हुन नसकेको कांग्रेसले जनाएको छ ।

यस्तै गरी चिकित्सा शिक्षा क्षेत्रमा देखिएको विकृतिलाई सरकारले हल गर्न नसकेको कांग्रेसकोे ठहर छ । उसले डा. गोविन्द केसीका मागहरू सम्बोधन नभएको र अझै पनि अभिभावकहरू सरकारले तोकेको भन्दा बढी शुल्क तिर्न बाध्य भएको आरोप लगाएको छ ।

प्रमुख प्रतिपक्षी दलका नेतासमेत सदस्य रहने संवैधानिक परिषद् सरकारको नियतका कारणले असफल जस्तै बनेको कांग्रेस प्रवक्ता शर्माले बताए । उनले सरकार परिषद्लाई असफल बनाउने दिशामा अघि बढेको दाबी समेत गरे ।

प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारले शब्दमा प्रेस स्वतन्त्रता भने पनि व्यवहारमा निरंकुशता देखाएको आरोप लगाएको छ । उसले सञ्चारमाध्यमको शिरमा तरबार झुन्ड्याउने काम भएको दाबी गरेको छ । यस्तै गरी धर्मका नाममा सरकारको चरित्र पनि फरक देखिएको कांग्रेसको आरोप छ । उसले होली वाइन प्रकरण सम्झाउँदै सरकारप्रति प्रश्न उठाएको हो ।

गुठीलाई व्यवस्थित गर्ने नाममा सरकारले नेपाको धर्म र संस्कृतिमाथि प्रहार गरेको र त्यसले गर्दा असफल बनेको कांग्रेसले दाबी गरेको छ ।
सामाजिक सुरक्षा कोष आफ्नै पालामा स्थापना भएको भए पनि वर्तमान सरकारले त्यसको जस लिन खोजेको कांग्रेसको आरोप छ । उसले सामाजिक सुरक्षाका हकमा सरकारले जनतालाई ढाँटेको दाबी गरेको हो ।

बालुवाटारमा रहेको सरकारी जग्गालाई व्यक्तिका नाममा लगिएको भनिएको प्रकरणमा पनि सरकार विफल भएको शर्माले बताए । त्यसमा अनावश्यक रूपमा कांग्रेसलाई पनि जोडिएको उनको तर्क छ । त्यसलाई पनि कांग्रेसले सरकारी असफलताका रूपमा देखाएको छ ।

यो सरकार बनेपछि सेयर बजार ओरालो लागेको कांग्रेसको आरोप लगाएको छ । अर्थतन्त्रको गति नाप्ने भनिएको सेयर बजार नै ओरालो लाग्नुलाई उसले सरकारी असफलता भनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कहिले जाइलाग्नु त कहिले अरिंगाल बन्नु भन्ने अभिव्यक्ति दिएको भन्दै कांग्रेसले सरकारले राजनीतिक सहिष्णुता देखाउन नसकेकोे आरोप लगाएको छ । त्यसलाई पनि उसले सरकारको असफलता मानेको छ ।

कांग्रेसले सरकार असफल भएको भन्दै लगाएको आरोपलाई सरकारी अधिकारीहरूले भने खण्डन गरेका छन् । यसबारेमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कालापानीको विवादबारे सरकारले सबैको कुराहरू पनि सुनेर कूटनीतिक पहल गर्न सरकार लागि परेको बताएका छन् ।

उनले कांग्रेसले लगाएका आरोपहरू तथ्यहीन भएको समेत बताएका छन् । उनले भने, ‘सरकारले गरेका राम्रा कामहरूबाट जनताको र दुनियाँको ध्यान अन्यत्र मोड्ने गरी एउटा भ्रमको पुलिन्दाको रूपमा त्यो आएको छ ।’ बिबिसी

प्रतिक्रिया