खैजेडी संरक्षणमा युवा

सिन्धुली । हराउन लागेको खैजेडी भजन संरक्षणका लागि युवा पुस्ता सक्रिय भएका छन् । मौलिक परम्पराअनुसार लगाइने खैजेडी भजन लोप हुन थालेपछि युवालाई तीन दिने तालिम दिएको हो । मौलिक संस्कृतिलाई जोगाउने उद्देश्य राखेर कमलामाई नगरपालिकाले जिल्लामा पहिलोपटक युवालाई छनोट गरेर तालिम दिएको जनाएको छ ।

प्रदेशसभा सदस्य विनोद खड्काले सिन्धुलीमा पहिलोपटक लोपोन्मुख खैजेडी भजनको संरक्षण गर्नका लागि तालिम सुरु गर्ने कमलामाई नगरपालिकालाई धन्यवाद दिए । उनले हराउन लागेका परम्परागत संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा जोड दिँदै मौलिक पहिचान दिने सांस्कृतिक सम्पदा जोगाउन राज्य तथा सबै नागरिक लाग्नुपर्नेमा जोड दिए ।

कमलामाई नगरपालिका–४ को आर्थिक सहयोगमा सिन्धुली कलाघरको आयोजनामा खैजेडी भजन तालिम सुरु गरिएको हो । धार्मिक कार्यमा गाइने खैजेडी भजन लोकप्रिय भएको अग्रजहरूले बताउँदै लोप हुन लागेकामा चिन्ता व्यक्त गर्दै आएका थिए । निकै प्रचलित खैजेडी भजन पछिल्लो समय लोप हँुदै गएको छ । हिन्दू धर्ममा निकै प्रचलित खैजेडीको तालमा रातभरि नाचिने भजन केही समययता गाउँघरमा अपवादको रूपमा देख्न पाइन्छ । युवा पुस्तामा विकसित पश्चिमा संस्कृतिको आर्कषण र प्रविधिले गर्दा लोप हुँदै गएको हो ।

सिन्धुलीमा पहिलदेखि प्रचलित खैजेडी भजन तत्कालीन नेकपा माओवादीको सशस्त्र युद्धका बेलादेखि विस्तारै लोप हुँदै गएको कमलामाई नगरपालिका–३ का खैजेडी भजनका प्रशिक्षकसमेत रहेका पोष्टराज गौतमले बताए । उनले पछिल्लो समयमा यसको संरक्षण गर्न समेत नसकिएको गुनासो गरे । युवाको पुरानो संस्कृतिमा आर्कषण बढ्नुभन्दा पनि पश्चिमा संस्कृतिको मोहले पुराना रीतिरिवाज हराउँदै गएको अवस्थामा यस्तो तालिमले संस्कृतिसँगै नेपाली पहिचानको समेत जगेर्ना हुने उनको भनाइ छ । तालिममा २५ जनाभन्दा बढी युवाको सहभागिता रहेको छ ।

प्रतिक्रिया