प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा नेकपाका केन्द्रीय सदस्य सूर्य थापा नियुक्त भएका छन् । डा. कुन्दन आर्यालले प्रेस सल्लाहकारबाट राजीनामा दिएपछि उनको स्थानमा थापालाई नियुक्त गरिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त गरेको थियो । पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारमा प्रधानमन्त्रीका प्रेस सल्लाहकारका रूपमा कुशलतापूर्वक कार्यसम्पादन गरेका थापालाई प्रधानमन्त्री ओलीले पनि स्थान दिएका हुन् । केही दिनअघि प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्यालको राजीनामा स्वीकृत भएको थियो । अर्यालको राजीनामा स्वीकृत भएसँगै पत्रकारितामा लामो समय बिताएका थापालाई नियुक्त गरिएको छ ।

प्यूठान निवासी थापाले तात्कालीन प्रधानमन्त्री खनालको प्रेस सल्लाहकार रहँदा कुशलतापूर्वक काम गरेपछि ओली पनि प्रभावित भएका थिए । थापा नेकपाको प्रचार विभाग उपप्रमुख समेत हुन् । यसअघि तत्कालीन एमालेको प्रचार तथा प्रकाशन विभागको उपप्रमुख तथा प्रेस चौतारी नेपालका सह–इञ्चार्ज रही सकेका उनी नवयुग, बुधबार साप्ताहिकको पूर्वसम्पादकसमेत हुन् । थापाका विभिन्न पुस्तकसमेत प्रकाशित छन् । यसैगरी आर्थिक सल्लाहकारमा पूर्वसचिव लालशंकर घिमिरे नियुक्त हुँदा विकाश विज्ञमा गजेन्द्र थपलियालाई नियुक्त गरिएको छ ।

प्रतिक्रिया