नेपाल फाइनलमा

काठमाडौं । घरेलु टोली बंगलादेशमाथि सोझो सेटमा जित निकाल्दै नेपाल एक खेल अगावै प्रथम एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । नेपालको जितले माल्दिभ्सले पनि एक खेल अगावै फाइनलमा स्थान बनाएको छ । अब नेपालले बुधबार माल्दिभ्ससँग खेल्दैछ । यो खेलमा जित हात पारे नेपाल शीर्षस्थानको टुंगो लगाउनेछ । पराजित भएपनि नेपाल फाइनलमा रहने छ । सरस्वती चौधरीको उच्च प्रदर्शनमा नेपालले बंगलादेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो ।

एकपक्षीय बनेको खेलमा नेपालले पहिलो सेटमा २५–७ को सहज जित निकाल्यो । सरस्वतीले उच्च प्रदर्शन गर्दा घरेलु टोलीका खेलाडी निरिह बनेका थिए । पहिलो सेटमा सरस्वतीले ७ अंक जोडेकी थिइन् । दोस्रो सेटमा प्रशिक्षक जगदिश भट्टले सरस्वतीलाई विश्राम दिएपनि प्रतिभा माली, कप्तान अरुण शाही, सुनिता खड्का र निरुता ठगुन्नाले उच्च प्रदर्शन गर्दा नेपाल २५–६ को सेटमा विजयी हुन सफल भयो । एक समय नेपालले १५–० को अग्रता लिएको थियो ।

तेस्रो सेटमा पनि नेपालीले टोलीले उच्च प्रदर्शनलाई निरन्तरता दिँदै खेल २५–६ ले अफ्नो पक्षमा पार्दै ३–० को सोझो सेटमा विजयी हुन सफल भयो । प्रशिक्षक भट्टले तीनै सेटमा फरक फरक खेलाडी उतार्दै सबै १२ खेलाडीलाई मौका दिएका थिए ।

च्याम्पियनसिपको तीन खेलमा नेपालले कुनै पनि सेट गुमाएको छैन । जितसँगै अपराजित रहेको नेपालले ३ खेलबाट ९ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । समान खेलबाटै ८ अंक जोडेको माल्दिभ्स दोस्रो स्थानमा छ । पराजित बंगलादेश ३ अंकसहति चौथो तथा ४ अंक जोडेको किर्गिस्तान तेस्रो स्थानमा छ । अफगानिस्तानले कुनै अंक जोड्न सकेन ।

राउन्ड रोविन लिगपछि शीर्ष दुई टोली नेपाल र माल्दिभ्सले बिहीबार उपाधिका लागि खेल्नेछन् । सोही दिन तेस्रो र चौथो स्थानको प्ले अफका लागि बंगलादेश र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपका सबै खेलहरू शहिद सुरवार्दी इन्डोर स्टेडियम मिरपुर ढाकामा हुनेछ ।

प्रतिक्रिया