हिरासतबाटै आलमको रजगज

रौतहट । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलम अहिले प्रहरी हिरासतमा भए पनि साक्षीलाई त्रास र धम्की दिन थालेका छन् । उनले अपहरण र ज्यान मार्ने धम्की दिएर बयान फेर्न लगाएको स्वयं साक्षीले सञ्चारमाध्यमलाई बयान दिएपछि सो रहस्य खुलेको हो ।

राजपुर बमकाण्डको मुद्दा अदालतमा थुनछेक बहस चलिरहेको वेला घटनाका साक्षीहरूलाई अपहरण र त्रासमा पारेर बयान फेर्न लगाइएको खुलासा भएको छ । राजपुर घटनाका घाइते भारतीय नागरिक गौरशंकर रामलाई आलम पक्षका ‘मानिस’ले बन्धक बनाई बयान फेर्न लगाइएको मंगलबार खुलासा भएको हो । अन्य साक्षीलाई समेत धम्की दिइन थालिएको प्रहरीले जनाएको छ । राम अहिले प्रहरीको शरणमा पुगेका छन् ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन भएको बम विस्फोटको घटनाका घाइतेहरूलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको र प्रमाणहरू नष्ट गरेको आरोपमा कांग्रेस नेता आलम पक्राउ परेका हुन् । उनीविरुद्धको कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोटन भण्डारणको तीनवटा कसुरमा मुद्दा चली थुनछेक बहस भइरहेको छ । थुनछेक बहस सकिन नपाउँदै आलम पक्षका मानिसले साक्षीहरूलाई धम्क्याएर बयान फेर्न लगाएका छन् ।

जुनसुकै मुद्दामा साक्षी होस्टाइललाई आरोपीले आर्थिक प्रलोभन, डर, त्रासलगायत विभिन्न हतकण्डा अपनाएर आफू जोगिने हतियारको रूपमा प्रयोग गर्न खोज्छन् । राजपुर बमकाण्डको घटनाको पछिल्लो घटनाले यही देखाएको छ । जिल्ला न्यायाधिवक्त खडिन्द्रराज कट्वालले अदालतमा थुनछेक बहस चलिरहेको वेला साक्षीले दबाब गरेको होस्टाइल निवेदनले कुनै अर्थ नराख्ने बताए ।

थुनछेक बहस लम्बियो
आलम पक्षका वकिलले आलमलाई छुटाउने रणनीतिअनुसार थुनछेक बहसलाई लम्ब्याउन खोजेका छन् । पटकपटक सरकारी साक्षीलाई आफ्नो पक्षमा ल्याउन खोजेका उनीहरू असफल हँुदै गर्दा बहस भने लम्बिएको छ ।

गत बुधबारदेखि सुरु भएको थुनछेक बहसको छैटौँ दिन आलमका पक्षबाट ३ जना कानुन व्यवसायीले बहस गरे । आलमको पक्षबाट बहस गर्न भनेर २८ जना कानुन व्यवसायीहरूले वकालतनामा दर्ता गराएका छन् ।

आलमको तर्फबाट सोमबार र मंगलबार गरी ७ जना कानुन व्यवसायीहरूले मात्र बहस गरिसकेका छन् । जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले मंगलबार पनि बहस नसकिएका कारण बुधबार १० बजे उपस्थित गराउने गरी आलमलाई प्रहरी हिरासतमा फिर्ता पठाइएको बताए ।

वकालतनामा लेखाएका सबै कानुन व्यवसायीले बहस गर्ने समय लिए बिहीबारसम्म बहस लम्बिने अदालत स्रोतले जानकारी दियो । वकालतनामा दर्ता गराएकामध्ये अझै पनि करिब २१ जना कानुन व्यवसायीहरूले बहस गर्न बाँकी छ । आलमको पक्षका वकिलहरूले बहस गरिसकेपछि सरकारी वकिलको तर्फबाट पनि प्रतिबहस हुने छ ।

मार्ने धम्की दिए
भारतको बिहार सितामाढी घर भएका रामको बयान फेरिएको निवेदन बोकेर सोमबार अधिवक्ता श्रीवास्तव न्यायाधीश दीपक ढकालको इजलासमा पुगेका थिए । उनी प्रहरीको अनुसन्धानमा दह्रो साक्षीको रूपमा छन् ।

आलमका मानिसले अपहरण शैलीमा लगेर बयान फेर्न लगाएको रामले बताए । घटनाको यथार्थ बताउँदा आफूले आलम पक्षका मानिसबाट धम्की र अपहरणको सिकार बन्नु परेको सुनाए । ‘आलमका मानिस आएर घरबाट लगेर चार दिनसम्म धम्क्याए । बयान फेर्न भने । पैसाको लोभ देखाए,’ उनले भने, ‘अदालतमा बयान फेरेको सत्य होइन । म स्टोभ पड्केर घाइते भएको होइन । राजपुर घटनामै परेर घाइते भएको हुँ ।’

घरमा बसिरहेको वेला चारजना गाडी लिएर रामको घर पुगेका थिए । केही कुरा गर्नु छ भनेर गाडीमा राखेर भारतकै सिमर लगे । चार दिनसम्म बन्धक बनाए । केही कागजमा सही गराए । ‘मेरो आधार कार्ड पनि लगे । सितामढीबाट केके कागज बनाएर ल्याए मलाई थाहा छैन,’ त्रासको त्यो दिनबारे सुनाउँदै रामले भने, ‘विस्फोटमा परेको होइन भनेर लेखिएको कागजमा हस्ताक्षर गराए ।’

घटनाबारे सुनाउँदा उनी अहिले पनि डराउँछन् । आलमका मानिसले मोटरसाइकलमा राखेर रौतहट ल्याएका थिए । उनलाई बन्धक बनाई बयान फेर्ने सर्त गरिएको रहेछ । उनले सर्त कबुले । बयान फेरिएको कागजमा सही गर्न लगाएर अदालतमा लगे । रामको तर्फबाट अदालतमा पेश भएको निवेदनमा आफूलाई बम विस्फोटको घटनाबारे जानकारी नभएको उल्लेख छ । बम विस्फोटमा नभई स्टोभ पड्किएर घाइते भएको झुठो विवरण लेखाई उनलाई त्रासमा सही गर्न लगाइएको खुलेको छ ।

आर्थिक प्रलोभनमा बयान फेरिन
यसअघि विस्फोटपछि इँटाभट्टामा हालेर जिउँदै मारिएका ओसी अख्तर विदेशमा रहेको भन्दै उनकी पत्नी अमना खातुनले जिल्ला अदालत रौतहटमा निवेदन दिएकी थिइन् । २३ जनालाई जिउँदै इँटा भट्टामा हालेर हत्या गरेको अभियोगमा नेता आलमविरुद्ध गत बिहीबारै बयान सकिएको अवस्थामा अमना बयान फेर्दै अदालत पुगेकी थिइन् । तर, उनलाई पाँच लाख र पाँच कठ्ठा जमिनको प्रलोभन दिएर बयान फेर्न लगाएको एक अडियो टेपले खुलाएको छ ।

करिब ४० मिनेट लामो उक्त अडियोअनुसार ओसीका सहोदर भाइ जुमाइल मियाँ भने आलमलाई कानुनी सजाय दिनैपर्ने पक्षमा छन् । तर, समसुल र सँगै रहेका अन्य व्यक्ति उनलाई ‘मन्त्री (आलम) छुटेपछि आफूहरूलाई बाँच्न मुस्किल हुने भन्दै धम्काउँछन् । ‘पाँच लाख रुपैयाँ र पाँच कठ्ठा जमिनले जीवन चलाउन सहज हुन्छ,’ अडियोमा एक व्यक्तिको आवाज सुनिन्छ, ‘थाहा छ, अहिले पाँच कठ्ठा जमिनको पनि १४–

१५ लाख पर्छ !’
समसुलले आलम मुसलमान भएको र भोलि आफूहरूलाई हिन्दुले सहयोग नगर्ने भन्दै फकाउँछन् । तर, मुस्लिम भए पनि आलमले आफ्नो दाजुको शवमा माटो दिने मौका पनि नदिएको भन्दै जुमाइलले उनको प्रतिकार गरेका छन् । अडियो संवाद भोजपुरीमा छ । जसमा जुमाइल अन्तिमतिर दाजु वसीलाई सम्झेर भक्कानिँदै रोएको समेत सुनिन्छ ।

प्रतिक्रिया