म्याग्दी । साग, तरकारी, अचार, सलाद, गुन्द्रक र धजरा जे बनाए पनि उत्तिकै स्वादिष्ट मानिने औषधीय गुणको बहुउपयोगी मुला म्याग्दीको एक गाउँका दुई कृषक परिवारको लागि जीवन जिउने आधार बनेको छ । म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा उत्पादन भएका मुलानै टोड्केको पहिचान बनेको छ भने यहाँका दुई परिवार मुला बेचेर नै मालामाल भएका छन् । समुद्री सतहदेखि दुई हजार ४३० मिटरको उचाइमा अवस्थित टोड्केमा बसोबास गर्ने चार परिवारमध्ये दुई परिवारको पुख्र्यौली पेशा नै मुला उत्पादन गरेर बिक्री गर्नु हो ।
वर्षौं पहिलेदेखि मुला खेती गर्दै आएकी टोड्केकी तीजमाया पाइजाले मुला बिक्री गरेर नै वार्षिक रु एक लाखभन्दा बढी कमाइ हुने बताइन् । उनले भनिन्, ‘हाम्रो आम्दानीको प्रमुख स्रोत भनकै मुला, आलु र फापर हो, यही बेचेर वर्षभरिका लागि खर्च पुग्छ ।’ करीब दुई रोपनीमा मुला खेती गरेकी पाइजाको बारीमा पर्यटकीय क्षेत्र टोड्केको भ्रमणमा आएका आन्तरिक पर्यटक मुला किन्नका लागि जाने गर्दछन् ।
पहिला पहिला म्याग्दी, बागलुङ र पर्वतका विभिन्न गाउँबाट धान लिएर मुला साट्न मानिस आउने गरेकोमा पछिल्लो समय गाउँगाउँमा व्यावसायिक मौसमी वा बेमौसमी तरकारी खेतीको लहर चलेकाले पहिलाको जस्तो बिक्री हुन छोडेको पाइजाको भनाइ रहेको छ । यहाँका एउटै मुला दुईदेखि चार–पाँच किलोसम्मका हुने गर्दछन् ।
मुला किन्न बेनी नगरपालिका–६ बाट टोड्के आएका दयाराम पौडेलले यहाँको मुला स्वादिष्ट र ‘अर्गानिक’ हुने भएकोले स्वास्थ्यको लागि पनि उपयोगी हुने बताए । दुई बोरा मुला किनेर घर लैजानका लागि तयारी गरेका पौडेलले सागको गुन्द्रक र धजरा बनाएर हिउँदभरि खानका लागि मुला किन्न आएको बताए ।
रातो र सेतो गरी यहाँ दुई प्रकारका रैथाने जातका मुला उत्पादन हुने गर्छन् । सेता मुलाको तुलनामा रातो मुला ग्राहकको रोजाइमा पर्ने पाइजाले बताइन् । पहिलाको तुलनामा अहिले मुलाको बिक्री कम र उत्पादन बढी हुँदै गएको उनको भनाइ छ । बिक्री नभएर बचेका मुला काटेर धजरा बनाउने र हिउँदमा बजारमा लगेर बिक्री गर्ने गरेको उनले बताइन् ।
प्रतिक्रिया