सम्बन्ध जोड्दै कलाकार

काठमाडौं । कलाबाट दुई देशबीच सम्बन्ध जोड्ने लक्ष्यका साथ संयुक्त कला रचना तथा प्रदर्शनी हुने भएको छ । नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ६४ औँ वर्ष तथा चीनमा कम्युनिस्ट पार्टीले सत्ता सम्हालेको ७०औँ वर्षको अवसर पारेर उक्त कार्यक्रम हुन लागेको हो । चाइना फाउन्डेसन फर पिस एन्ड डेभेलपमेन्ट नामक संस्थाले गर्ने आयोजना गरेको उक्त कार्यक्रममा नेपालका कलाकार रवीन्द्र श्रेष्ठ र चिनियाँ कलाकार लि छवानले सेरामिक्समा चित्र बनाउने छन् ।

राजधानीमा नेपाल ललितकला पत्रकार समाजले आयोजना गरेको भेटघाट कार्यक्रममा चीनका प्रसिद्ध कलाकार छवानले नेपाल र चीनबीचको सम्बन्धलाई युगौँयुगसम्म स्थायी राख्न यस्ता कार्यक्रम फलदायी हुने बताए । सेरामिक्स पेन्टिङ बनाउँदै आएका उनले भने, ‘पृथ्वी रहेसम्म नेपाल र चीनको सम्बन्ध रहन्छ ।

हाम्रो मित्रता दिगो र बलियो छ ।’ सेरामिक्स कलामा प्रसिद्ध सहरको रूपमा परिचित चिङतचनका कलाकार छवानले कलाले सांस्कृतिक सम्बन्धलाई जनस्तरसम्म लैजान महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले १५ सय वर्षभन्दा पुरानो सेरामिक्स कलाको इतिहास रहेको च्याङसी प्रान्तको चिङतचन सहरले चीनको ऐतिहासिक वैभवलाई विश्वमा चिनाएको जनाए । सेरामिक्समा चित्र बनाउनु निकै कठिन काम हो । काँचो माटोमा चित्र बनाइ त्यसलाई १३६० डिग्रीमा पोलेर ‘सेरामिक्स पेन्टिङ’ तयार गरिन्छ । यसमा प्रयोग गरिने रङलाई ‘छिङ्हवा’ भनिन्छ । यो परम्परागत चिनियाँ पद्धति हो ।

‘सेरामिक्स पेन्टिङ’ चीनबाट युरोप तथा एसियाका विभिन्न मुलुकमा प्राचीनकालदेखि निर्यात हुने छवानले बताउँदै भने, ‘पहिले पहिले सेरामिक्ससँग सुन साटिन्थ्यो ।’ उनले केही समयअघि चिनियाँ राष्ट्रपतिले सि जिङपिङले नेपाल भ्रमण गरेर दुई देशको सम्बन्धलाई नयाँ युगमा प्रवेश गराएको भनाइ राखे । उनले कहिलेकाही उक्त सेरामिक्स कलाको काम पोल्दापोल्दै फुट्ने डर हुने सुनाए ।

उनले भने, ‘अतिनै संवेदनशील भएर यो काम गर्नुपर्दछ । जब सही सलामत ढंगले कला निस्किएमा त्यो पृथ्वी रहुन्जेल रहन्छ ।’ कलाकार छवानले जसरी नफुटी सहीसलामत ढंगले तयार भएको कला पृथ्वी रहुन्जेल रहन्छ त्यसैगरी नेपाल र चीन रहन्छ भन्ने भाव अनुसार कला बनाइन लागिएको जिकिर गरे । उनले दुई देशको सम्बन्ध प्राचीनकालदेखि नै निकट र अनन्त छ भन्ने दर्शाउनका लागि श्रेष्ठलाई फाउन्डेसनले आमन्त्रण गरेको बताए ।

कलाकार छवानले बौद्धधर्म र बुद्धप्रतिको आस्थाका कारण चिनियाँले नेपाललाई तीर्थस्थलको रूपमा लिएको सुनाउँदै भने, ‘नेपालको संस्कृति निकै समृद्ध छ । साथै, बौद्धधर्म र यसको महत्व चिनियाँका लागि सदैव आकर्षण रहनेछ ।’

नेपाल र चीनका कलाकारले कोलाब्रेसन आर्टमार्फत दुई देश दाजुभाई रहेको सन्देश प्रवाह गर्ने छवानपत्नी लिउ रु सीले बताइन् । उनले भनिन्, ‘चीनबाट छनोट भएका छवान र नेपालबाट श्रेष्ठले ‘हामी एउटै आमाका सन्तान हौँ, र ‘हामी एउटै उद्देश्यका लागि एकै ठाउँमा उभिएका छौँ’ भन्ने भावलाई कलामा प्रस्तुत गर्नेछन् ।’

उनले दुवै कलाकारले तीनवटा माटोका स्लेटमा संयुक्तरूपमा तीनवटा चित्र बनाउने जानकारी दिइन् । यी चीनमध्ये एउटा नेपाली दूतावास, एउटा चिनियाँ दूतावास र अर्को आयोजकसँग रहनेछन् । उनका अनुसार फाउन्डेसनले विश्वभरी सांस्कृतिक सम्बन्ध विस्तार गर्न १२० देशसँग सम्पर्क गरेको जानकारी दिइन् ।

नेपालबाट सहभागी कलाकार श्रेष्ठले दुवैजना कलाकारले तीनवटा कला बनाउने जनाउँदै तिनमा हिमालय, बुद्धको आँखा, मन्दिरका टुँडाल तथा विभिन्न सांस्कृतिक र सामाजिक जीवन झल्किने विषय समेटिने बताए । चिनियाँ दर्शन अध्येता तथा चिनियाँ भाषा शिक्षक कुमार खड्काले कलाकर छवानले चीनको चिङतचनमा ‘विचार’ नामक आर्ट ग्यालरीसमेत खोलेका बताए । उनले चिङतचन सहर घुम्नेक्रममा ‘विचार’ ग्यालरी देखेको सुनाउँदै त्यसपछि कलाकार छवानसँग गहिरो सम्बन्ध बनेको जनाए । दुवै कलाकारले बनाएका कलाकृतिको चीनको प्रसिद्ध सहर छेन्दुमा नोभेम्बर महिनाको अन्त्यमा प्रदर्शनी हुँदैछ ।

प्रतिक्रिया