क्यानभासमा रसुवा

काठमाडौं । स्थानीय संस्कृति तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ चित्रकला कार्यशाला गरिएको छ । विगत एक वर्षदेखि चित्रका माध्यमबाट ऐतिहासिक, पुरातात्विक र धार्मिक क्षेत्रको प्रचारप्रसारका साथै कला पर्यटन प्रवद्र्धन गर्दै आएको कलाकारको समूहले यसपटक भने रसुवामा ‘स्थलगत चित्रकला कार्यशाला’ गरिएको हो । फेसबुकबाट जोडिएर हरेक शनिबार कार्यशाला गर्दै आएको उक्त समूहले यसपटक रसुवाका ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ‘शनिबारीय स्थलगत चित्रकला कार्यशाला’ आयोजना गरिएको संयोजक दिवेश प्रधानले जानकारी दिए ।

उनले यसपालि ‘रसुवा कला यात्रा’ नाम दिएर कला कार्यशाला आयोजना गरिएको बताउँदै कलायात्राका सहभागी कलाकारको टोली उपत्यकाबाट बिहीबार त्यसतर्फ प्रस्थान गरेको थियो । प्रधानले रसुवा र नुवाकोटको संगमस्थल ऐतिहासिक एवं धार्मिक तीर्थस्थल उत्तरगयाधाम, बेत्रावतीबजारको स्थलगत भ्रमण गरी शुक्रबार बिहान बेत्रावतीको सांस्कृतिक पर्व ठूलो (हरिबोधनी) एकादशी मेलामा स्थलगत चित्रकला कार्यशाला गरेको बताए । ती चित्रको शुक्रबार साँझ सोही स्थानमा प्रदर्शनी गरिएको छ ।

पौराणिक र ऐतिहासिक हिसाबले महत्वपूर्ण बेत्रावतीमा पुसेऔँसी (पितृऔँसी) का साथै दशहरा, जनैपूर्णिमा, गाईजात्रा, कुसेऔँसी, ठूलो एकादशी, बालाचतुर्दशी, माघेसंक्रान्तिलगायतका पर्वमा ठूलो मेला लाग्ने गर्छ । यस्तै कात्तिक २३ गते नियमित ‘शनिबारीय स्थलगत चित्रकला कार्यशाला’ आयोजना गरिने र आइतबार यहाँको कालिकास्थानसँगै नुवाकोटको त्रिशूली, देवीघाट तथा नुवाकोट दरबारको स्थलगत भ्रमणको कार्यक्रम रहेको जनाइएको छ । कलायात्रामा स्थानीय संघसंस्थाको सहकार्य रहने आयोजकले जानकारी दिएको छ ।

कलायात्रामा राकेशचन्द्र श्रेष्ठ, दीपेन्द्रमान बनेपाली, राधेश्याम कर्माचार्य, कान्छाकाजी भासीमा, विक्रम प्रजापति, प्रकाश मानन्धर, झलक केसी, सूर्यराम सुवाल, रुविन बाडेलगायतका कलाकार सहभागी हुँदैछन् । स्थानीयस्तरमा कलाकार शशीकुमार डंगोल र डिल्लीराम घिमिरेले संयोजन गरेको जनाइएको छ । यसअघि सोही कलाकारको टोलीले ‘भोटेकोसी सभ्यता’ अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोसी क्षेत्रमा पुगेर स्थलगत चित्रकला कार्यशाला आयोजना गरी पर्यटन प्रवद्र्धनमा सहयोग गरेको थियो । कलाकारको टोलीले गएको एक वर्षदेखि काठमाडौं उपत्यकाका विभिन्न धार्मिक, पुरातात्विक तथा ऐतिहासिक क्षेत्रमा पुगेर चित्रकला कार्यशाला गर्दै आएको छ ।

प्रतिक्रिया