महासंघको विशेष साधारणसभा स्थगित

काठमाडौं । उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा स्थगित हुने भएको छ । विधान संशोधनका लागि आगामी कात्तिक २९ गते बोलाइएको साधारणसभा स्थगित गर्ने निर्णय भएको हो ।

शुक्रबार साँझ बसेको विधान संशोधन कार्यदलको बैठकले विशेष साधारणसभा स्थगित गर्ने, अध्यक्ष संम्बन्धी विधानको हालको व्यवस्था संशोधन नगर्ने र संशोधन गर्नुपर्ने अन्य विषय नियमित साधारणसभाबाट गर्ने निर्णय गरेको छ ।

‘यो निर्णय महासंघको कार्य समितिलाई समितिमा सिफारिस गर्ने छाँै,’ कार्यदलका संयोजक तथा महासंघका विशेष सदस्य चण्डीराज ढकालले भने, ‘उसले हाम्रो निर्णयअनुसार विशेष सधारणसभा बोलाउने विषयलाई स्थगित गर्ने छ ।’

महासंघको विधान अनुसार हाल वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । यो सहित विधानका विभिन्न विषयमा संशोधन गर्न कात्तिक २९ गते विशेष साधारणसभा बोलाइएको थियो । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने हालको व्यवस्था संशोधन गरी प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चुन्ने व्यवस्था ल्याउने तयारी थियो । विधान संशोधन कार्यदलले यो प्रक्रिया स्थगित गर्ने निर्णय गरेपछि हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको लागि स्वतः अध्यक्ष बन्ने बाटो खुला भएको छ ।

प्रतिक्रिया