उपनिर्वाचनः वाम तालमेल, कांग्रेसलाई चुनौती

बागलुङ । नेपाली कांग्रेससामु क्षेत्र नं २ (ख) मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनमा वाम तालमेलको पुरानै चुनौती खडा भएको छ । विसं २०७४ को चुनावमा पनि काङ्ग्रेसले वाम गठबन्धनको सामना गर्नुपरेको थियो । सो चुनावमा कांग्रेसका जीतबहादुर शेरचनलाई तीन हजार २६० मतले पछि पार्दै गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती विजयी भएका थिए ।

घर्तीले ११ हजार ८८४ मत पाउँदा शेरचनको मत आठ हजार ६६४ थियो । उपचुनावमा पनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समर्थनमा राजमोका उम्मेदवार खिमविक्रम शाही चुनावी मैदानमा छन् । कांग्रेसले अघिल्लो चुनावमा पराजित शेरचनलाई पुनः उम्मेदवार बनाएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा तत्कालीन नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राजमोको गठबन्धनले सबै क्षेत्रमा एकलौटी जितेको थियो । विसं २०७० को संविधानसभा सदस्यको दोस्रो चुनावमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्र जितेको कांग्रेस वाम तालमेलकै कारण पराजित भएको थियो ।

विसं २०७४ को चुनावपछि भने तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनिसकेको छ । त्यो बेलाको तीनदलीय वाम गठबन्धन उपचुनावसम्म आइपुग्दा दुईमा झरेको छ । नेकपा र राजमोको केन्द्रीय नेतृत्वबीच उपचुनावमा पनि वाम तालमेललाई निरन्तरता दिने सहमति भएपछि उक्त क्षेत्र राजमोले पाएको हो ।

यो चुनावमा पनि परिचित प्रतिद्वन्द्वी वाम गठबन्धन र नेपाली कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने निश्चित देखिएको छ । चुनाव जित्ने जिकिर भने दुवैतर्फका उम्मेदवार र नेताको छ । नेपाली कांग्रेसका सभापति दीपेन्द्रबहादुर थापाले यसपालिको वाम तालमेललाई आत्मिय नभएको बताए ।

‘पहिले वाम तालमेल गरेका हुनाले उपचुनावमा पनि बाध्यता पर्यो होला’, सभापति थापाले भने, ‘उहाँहरुको एकता आत्मिय खालको छैन, एकतर्फी जस्तो छ ।’ कांग्रेसका उम्मेदवार शेरचन अघिल्लो चुनावपछि जनतामाझ घुलमिल भएकोले चुनाव जित्नेमा विश्वस्त छन् । ‘गएको चुनावमा केही मतको अन्तरले हारेपनि जनताको काम र सेवा गर्न छोडिन’, उनले भने, ‘अहिले परिस्थिती फरक छ, हामी चुनाव जित्छौँ ।’

उनले पहिले चुनाव जितेका दल र उम्मदेवारले जनतामाझ गरेको वाचा पुरा गर्न नसकेको आरोपसमेत लगाए । पहिले चुनाव हारेका कारण आफूले सद्भावको मत पनि बटुल्ने शेरचनको भनाइ छ । राजमाका जिल्ला अध्यक्ष अमर थापा भने अघिल्लो चुनावमा भन्दा बढी मतका साथ चुनाव जितिनेमा ढुक्क छन् । उनले भने, ‘कांग्रेसले जितिरहेको ठाउँ हो, जनमत पनि राम्रो थियो, सरकार पनि कांग्रेसकै थियो, ‘उनले भने, ‘त्यो परिस्थितिमा त काङ्ग्रेस ठूलो मतान्तरसहित चुनाव हार्यो, अहिले कसरी जित्छ ? जित्दैन ।’

तीनै तहमा बलियो कम्युनिष्ट सरकार भएको, जनतामा आशा जागेको, विकास, निर्माणदेखि राष्ट्रिय मुद्दामा दरिलो अडान लिएका कारण आफ्नो उम्मेदवारले झन् बढी मत लिएर जित्ने अध्यक्ष थापाको ठोकुवा छ । उनले उम्मेदवारीलाई लिएर छिटपुट असन्तुष्टि देखिए पनि त्यो समाधान हुने बताए ।

सो क्षेत्रमा नेकपाका नेता शेरमान घर्तीले स्वतन्त्र उम्मेदवारी दिएपछि गठबन्धनलाई अप्ठेरो परेको छ । ‘उहाँ पुरानो हाम्रै पार्टीको साथी हो, जिम्मेवार व्यक्ति कम्तीमा अर्को दललाई चुनाव जिताउन लाग्नुहुन्छ भन्ने लागेको छैन’, अध्यक्ष थापाले भने, ‘विश्वास छ उहाँले उम्मेदवारी फिर्ता लिनुहुन्छ, त्यसमा नेकपाका साथीहरुले पहल गर्नुहुनेछ ।’

शेरमान तत्कालीन नेकपा माआवोदी केन्द्रमा आउनुपूर्व राष्ट्रिय जनमोर्चामा आवद्ध थिए । गएको स्थानीय तह चुनावमा उनि माओवादी केन्द्रबाट ढोरपाटन नगरपालिकाको प्रमुख पदमा चुनाव लडेका थिए । नेकपाका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लेसमेत बिहीबार पोखरामा आयोजित एक कार्यक्रममा उनको उम्मेदवारी फिर्ता हुने बताएका थिए ।

राजमोका उम्मेदवार शाहीले वाम गठबन्धन नै आफ्नो जितको पहिलो आधार भएको बताए । ‘अहिलेको सरकार जनतामाझ लोकप्रिय हुँदै गएको छ, हाम्रो सङ्गठन पनि विस्तार भएको छ’, उनले भने, ‘सजिलै चुनाव जितिनेमा म ढुक्क छु ।’ उनले चुनावी अभियानलाई पनि प्रभावकारी बनाइने उल्लेख गरे । अव्यवहारिक र महत्वकांक्षी योजनाभन्दा पनि जनताका आधारभूत मुद्दा सम्बोधन गर्ने गरी अगाडि बढ्ने उनको भनाइ छ ।

को हुन् शाही र शेरचन ?

राजमोका उम्मेदवार शाही पार्टीका जिल्ला सदस्य छन्। निसीखोला गाउँपालिका–३ बोहोरागाउँका शाही शिक्षण पेशाबाट निवृत्त भएपछि राजनीतिमा सक्रिय भएका हुन् । उनि राजमोका पाका र विश्वासिला नेता मानिन्छन् । यस्तै नेपाली कांग्रेसबाट उम्मेदवार बनेका शेरचन विद्यार्थीकालदेखि नै कांग्रेसको राजनीतिमा आवद्ध छन् ।

ढोरपाटन नगरपालिका–१ का शेरचन नेपाल विद्यार्थी संघको तर्फबाट विसं २०६२ मा काठमाडौँस्थित ताहचल क्याम्पसको स्ववियु सभापतिसमेत भएका थिए । कांग्रेसजनमाझ शेरचन स्पष्ट वक्ता र विकासप्रेमी नेताका रूपमा चिनिन्छन् । शेरचनलाई नेपाली कांग्रेसले दोस्रोपटक उम्मेदवार बन्ने अवसर दिएको हो ।

राजमो, नेपाली कांग्रेससहित आठ दल र दुई स्वतन्त्र उम्मेदवारले उपचुनावका लागि मनोनयन दर्ता गरेका छन् । अन्य दलमा समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट निमबहादुर भण्डारीले उम्मेदवारी दिएका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारीले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया