सागका लागि पूर्वाधारको तयारी तीव्र

काठमाडौं । नेपालमा मंसिर तेस्रो साताबाट १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता सुरु हुँदैछ । आयोजनाको जिम्मा लिएको लामो समयपछि मंसिर तेस्रो साताबाट साग सुरु हुन लागेको हो । पूर्वाधारका कारण देखाउँदै दुई पटकसम्म मिति सारेर मंसिरका लागि तय साग समयमै गर्न यतिबेला आयोजक नेपालले तयारी तीव्र पारेको छ । मात्र २४ दिन बाँकी रहँदा अझै पूर्वाधारले पूर्णता पाएको छैन ।

उद्घाटन र समापन गर्ने एकमात्र अन्तर्रा्ष्ट्रिय दशरथ रंगशालाको स्तरोन्नति अहिले तीव्र गतिमा भइरहेको छ । रंगशालामा रंगरोगनसहित सिट राख्ने, सरसफाइ गर्ने लगायका काम भइरहेका छन् । रंगशालामा सागअघि मंसिर ३ गते विश्वकप छनोटको खेल गराउने तयारी छ । विश्वकप छनोट भएका कारण पनि रंगशालालाई चिटिक्क बनाउन राखेपलाई भ्याईनभ्याई छ ।

२०७२ सालको भूकम्पमा दशरथ रंगशाला क्षतविक्षत भएको थियो । लामो समयको प्रयासपछि रंगशाला अहिले रंगशाला जस्तो बन्दैछ । एकताका मर्निङ वाक गर्ने थलो बनेको रंगशालाको स्तरोन्नति अहिले अन्तिम चरणमा पुगेको राष्ट्रिय खेलकुद परिषद्को दाबी छ । परिषद्का पूर्वाधार निर्माण तथा मर्मत शाखा प्रमुख दिपक उपाध्यायले सबै पूर्वाधारको काम अन्तिम चरणमा रहेको बताए ।

उनले अरू काम सकाएर अहिले दशरथ रंगशालाको भीआईपी प्यारापिटतर्फ केन्द्रित भएको बताए । शुक्रबारसम्ममा कार्गोमार्फत् प्यारापिटको छानो नेपाल आइपुग्ने र विश्वकप छनोटअघि नै तयार पार्ने लक्ष्यमा काम भइरहेको उनले जानकारी दिए । उनका अनुसार अन्य क्षेत्रका पूर्वाधारको काम पनि अन्तिम चरणमा पुगेको छ । महिला फुटबल सञ्चालन हुने पोखरा रंगशालामा अहिले एथ्लेटिक्स ट्रयाकको काम भइरहेको छ । ३० हजार दर्शक क्षमताको बनाउने ग्रेट स्पोर्टस् इन्फा कन्सट्रक्सनले टेन्डर पाए पनि सागअघि १० हजार सिट राख्ने सहमतिअनुसार सिट आइपुगेलगत्तै जडान सुरु गरिने पूर्वाधार प्रमुख उपाध्यायले बताए ।

अहिले एथ्लेटिक्स ट्रयाक बनाउने क्रम सुरु भएको र सिट यो सातामा आइपुग्ने उनको भनाइ छ । ‘विशाखापटनमबाट सामनहरू नेपालका लागि हिँडिसकेको छ । सरकारले पनि छिटो पठाउन आग्रह गर्यो । सोही अनुसार सिट लोड ट्रक पोखरामा पुगेबित्तिकै काम सुरु हुनेछ,’ उनले भने ।

सातदोबाटोमा बनिरहेको हिटिङ स्वीमिङ पुल पनि १५–२० दिनमा सकिने उपाध्यायले बताए । समयमै नसकिने टिप्पणी भइरहेको बेला पूर्वाधार शाखा प्रमुख उपाध्यायले भने, ‘छानो हाल्न बाँकी छ । मेसिन आइसकेको छ । जोड्न बाँकी छ । छानो हालेपछि टायल हाल्ने काम हुनेछ । टायल हाल्न १० दिन लाग्छ नै । समग्रमा २० दिनमा हिटिङ पुलको काम सकिन्छ ।’

उनका अनुसार लङटेनिसको पूर्वाधार तयार भइसकेको छ भने स्वाक्सको पूर्वाधार अन्तिम अवस्थामा छ । पोखरामा कभर्डहल तयारीमा अवस्थामा रहँदा क्रिकेट मैदान तयार गरिएका छन् । रेस्लिङ हुने जनकपुरमा कर्भडहल बनिसकेको उपाध्यायले बताए ।

प्रतिक्रिया