जुलुमलाल सम्मानित

ललितपुर । नेपाली कला तथा भाषाका क्षेत्रमा योगदान दिएका अग्रज कलाकार जुलुमलाल चित्रकार सम्मानित भएका छन् । नेपालभाषा मंकाः खलः ललितपुरले चित्रकारको भीमरथारोहणको सन्दर्भ पारेर सम्मान गरेको हो ।

खलःका पूर्वअध्यक्ष एवं सल्लाहकार चित्रकारले विगत छ दशकदेखि नेपाली ललितकलाका क्षेत्रमा क्रियाशील छन् । साथै उनले नेपाल भाषाको विकास र प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएको खलःले बताएको छ ।

संस्थाका संस्थापक अध्यक्ष छत्रबहादुर कायस्थले एक समारोहका बीच कलाकार जुलुमलाललाई सम्मानित गर्दै नेपाली कला र नेपालभाषाको विकास, प्रवद्र्धन र संरक्षणमा जुलुमलालको भूमिका विशिष्ट रहेको बताए । उनले कला, संस्कृति, साहित्य तथा भाषाले मानिसलाई पहिचान दिलाउने भएकाले कलाकार जुलुमलालले आफूलाई समाजमा चिनाउन सकेको जिकिर गरे ।

खलःका अध्यक्ष ऋषिप्रसाद श्रेष्ठले नेपालको मौलिक कलाको संरक्षण र विकासमा जुलुमलालको भूमिका अतुलनीय रहेको धारणा व्यक्त गरे । त्यस्तै संस्थाका पूर्वअध्यक्ष डा.पुष्पराज राजकर्णिकारले समाजमा आफ्नो अमूल्य योगदानका कारण जुलुमलाल परिचित हुन सकेको बताए ।

उक्त अवसरमा सम्मानित व्यक्तित्व जुलुमलालले आफ्ना पुराना संस्मरण सुनाउँदै कला र संस्कृतिको विकासमा राज्यले काम गर्नुपर्ने भनाइ राखे । उनले नेपाली कला र संस्कृति मौलिक रहेकाले यसको विकास, संरक्षण तथा प्रवद्र्धनमा नीतिगत सम्बोधन हुनुपर्ने जिकिर गरे । उनले भने, ‘कला र संस्कृतिको विकास हुन सकेन भने राज्य समृद्ध बन्न सक्दैन । समृद्ध समाज र देश बन्न कला र संस्कृतिको संरक्षण र विकास हुनुपर्दछ ।’ नेवार समुदायमा ७७ वर्ष ७ महिना ७आैँ दिनमा भीमरथारोहण गर्ने प्रचलन छ ।

२००२ सालमा पाटन ललितपुरको जोम्बहालटोलमा जन्मिएका कलाकार जुलुमलालले नेपाली आधुनिक तथा परम्परागत कलामा पहिचान बनाउन सफल भएका छन् । जुद्धकला पाठशाला भोटाहिटीबाट कलामा प्रवीण गरेका उनले आइएसम्मको अध्ययनसमेत गरेका छन् । चित्रकला विषय अध्ययन गरेका कलाकार जुलुमलालले विभिन्न सामाजिक संघसंस्थामा रही कामसमेत गरिरहेका छन् ।

उनले नेपाल कलाकार समाजका पूर्वकार्यकारी सदस्य, अधिकार सम्पन्न बागमती क्षेत्र ढल निर्माण सुधार आयोजना कार्यान्यन तथा अनुगमन समितिका बोर्ड सदस्य भई काम गरेका छन् । त्यसैगरी, चित्रकार (पँु) समाजका पूर्वउपाध्यक्ष, नेपाल निजामती कर्मचारी संगठनका पूर्वकेन्द्रीय सचिव, का.मु. उपाध्यक्ष युवक बौद्धमण्डल नेपाल साथै खानेपानी तथा ढल निकास विभागमा शाखा अधिकृत भई कार्य गरिसकेका जुलुमलालले सन् १९८० मा बैंककमा भएको १२औँ विश्वबौद्ध सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको सदस्य भई सहभागिता जनाएका थिए ।

दर्जनौँपटक सामूहिक कला प्रदर्शनीमा भाग लिएका जुलुमलालले २०२२ सालमा तीन व्यक्ति चित्रकला प्रदर्शनीमा सहभागी भएका थिए । उनले नेपाल भाषा मंका खलःमा रही काम गरेका छन् ।

पौभा, संस्कारजन्य चित्र, आधुनिक शैलीका चित्र बनाउने जुलुमलालले समाज रूपान्तरणमा कलाको भूमिका महत्वपूर्ण हुने बताउँछन् । उनले राजनैतिक, सामाजिक, सांस्कृतिक विषयलाई कलामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्न सकिने बताए । उनले भने, ‘पौभा विशेष गरी नेवारी शैलीमा बन्ने चित्र हो । यो नेपालको मौलिक कला पनि हो । यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा लैजान सकिएमा नेपालको नेपालको सांस्कृतिक पहिचान विश्वभर फैलने थियो ।’

उनले नेपाली कलालाई नेपालभित्रै र बाहिर चिनाउन र यसको विस्तार गर्न राज्य तथा कलाका संघसंस्थाले पहल लिनुपर्ने भनाइ राखे । उनले भने, ‘कलाप्रतिको सचेतनाका कारण यसको विकास सही ढंगले हुन सकेको छैन । हामीले अब योजनाबद्ध ढंगले नेपाली कलाको विकास, अध्ययन, अनुसन्धान तथा प्रवद्र्धनमा काम गर्नुपर्दछ ।’ उनले काठमाडौं उपत्यकामा प्रचलित संस्कारजन्य, धार्मिक तथा सामाजिक चित्र बनाउँदै आएका छन् । कलाकार जुलुमलालले भने, ‘नेपालका मौलिक कला राष्ट्रका सम्पत्ति हुन् । तिनको व्यवस्थापनको जिम्मा राज्यले लिनुपर्दछ । तब मात्र नेपाली कलाको विश्वसम्म पहुँच पुग्न सक्दछ ।’

प्रतिक्रिया