विश्व

टर्कीका राष्ट्रपतिलाई अमेरिका भ्रमणको निम्तो

सौर्य अनलाइन २०७६ कार्तिक २१ गते १४:४४ मा प्रकाशित

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले वासिङ्टनको भ्रमण गर्ने बताएका छन् । दुबै मुलुकबीच पछिल्लो समय बढेको तिक्तता र कुटनीतिक सम्बन्धमा आएको चिसोपनका कारण टर्कीका राष्ट्रपतिको अमेरिका भ्रमणमा अन्यौल बढेको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार ट्वीट गर्दै टर्कीका राष्ट्रपतिसँग टेलिफोनमा निकै राम्रो छलफल भएको जानकारी दिए । उनले ह्वाइट हाउसमा एर्डोगानसँग आगामी नोभेम्बर १३ मा भेटवार्ता हुने बताए ।

‘सिरियासँगको सीमा, आतंकवादको निर्मूलन, कुर्दहरुसँगको तनाब समाप्ति तथा अरु धेरै विषयमा हामीबीच भलाकुसारी भए,’ ट्रम्पले भनेका छन् । उनले उत्तरी सिरियामा उत्पन्न गतिरोधका कारण त्यस क्षेत्रमा बन्दी बनाइएका इस्लामिक स्टेट्सका केही लडाकूहरु भागे पनि उनीहरुलाई पुनः पक्राउ गरिएको टर्कीका राष्ट्रपति एर्डोगानले जानकारी गराएको पनि बताए ।

टर्कीले सिरियाभित्र प्रवेश गरी आक्रमण गरेपछि टर्कीविरुद्ध आर्थिक नाकाबन्दी लगाउने भन्दै अमेरिकी संसदले विधेयक पारित गरेपछि टर्कीका राष्ट्रपतिले अमेरिका भ्रमण गर्ने वा नगर्ने अन्यौल बढेको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय