चेतनाको अभावमा बढदै छ आँखाको समस्या

हिमाली तथा दुर्गममा जिल्लामा पर्छ संखुवासभा । अनेक समस्यासगँ जुधँदै आएका यस जिल्लाका नागरिक पछिल्लो समय शापु नामक रोग सँग पनि जुध्दै छन् । केही समयदेखि यहाँ उक्त रोग देखा पर्न थालेको छ । यो रोगका बारेमा स्थानीयलाई प्रयाप्त जानकारी पनि छैन, अझ कतिले त यो रोगका बारेमा पहिलोपटक सुनेका हुन सक्छन् । विरलै सुनिने यस रोगका बारेमा अनेक भ्रमहरू पनि छन् । आँखामा लाग्ने एक प्रकारको यो रोगले धेरैलाई सताउन थालेको छ । यसै सन्दर्भमा तेजरत्न आखाँ तथा कान उपचार केन्द्र संखुवासभा खाँदबारीका इन्चार्ज क्षितिज बराजसँग सौर्य दैनिकका लागि बाबुराम बास्तोला ले गरेको संवादको सम्पादित अंशः

शापु रोग भनेको के हो यसका बारेमा प्रस्टयाइदिनुस् न ?
– शापु ९क्ज्ब्एग्० एक दृष्टिनाशक आँखाको रोग हो । यो रोग प्रायः नेपाली बालबालिकाहरूमा वि.सं. ०३२ (सन् १९७५) देखि देखापरेको हो । प्रायः वर्षायाम सकिएसँगै भदौदेखि मंसिर महिनासम्म विशेष गरी नेपालको मध्य पहाडी भेगमा शापु रोग महामारीको रूपमा देखापर्ने गरेको छ । रोगको लक्षणहरू देखा परेको २४ देखि ४८ घण्टाभित्रै उपचार हुन नसकेको अवस्थामा आँखाको दृष्टि गुम्न सछ । यो विगतको अनुभवले पुष्टि गरेको आधारमा भनेको हुँ । सेतो पुतलीको झुसको कारण लाग्ने यो रोग पोखराबाट उत्पति भएको यस क्षेत्रमा लागेको चिकित्सक र यसबारेमा चासो राख्नेहरूको दाबी छ । लामो अनुसन्धानपछि डाक्टर मदनकुमार उपाध्यायले यो रोगलाई शापु नाम दिनु भएको हो ।

कसरी चिन्ने शापु रोग फैलाउने पुतली कस्तो हुन्छ यसको प्रकार ?
-सेतो रंगका पुतलीका प्रजाति करिब तीन सय छन् । त्यसमध्ये एक प्रजातिको सेतो पुतलीमा शिरतिर तेर्सो र पखेटातिर ठाडो कालो धर्काे हुन्छ । त्यो उज्यालो वस्तु बत्ती, पर्दा, कपडा, झ्यालमा बढी आकर्षित हुनेगर्छ । त्यस्तो प्रकारका ठाउँमा बढी सक्रिय हुन्छ । धेरैजसो पोथी सेतो पुतलीले अण्डा ढाक्न प्रयोग गर्ने झुसका कारण यो रोग फैलिने गरेको छ । सो पुतलीले अण्डा कोरल्ने समयमा झुस छाड्छ र त्यो झुस आँखामा प¥यो भने यो रोग लाग्ने खतरा हुन्छ । त्यसबार सचेत रहुन राम्रो हुन्छ ।

त्यस पुलतीले झुस नै अण्डा ढाक्न प्रयोग हुन र त्यसले असर गर्नाको कारण के हो ?
– हालसम्म सेतो पुतली (मोथ) लाई नै शापुको कारकको रूपमा लिने गरिएको छ । अहिलेसम्मको अनुसन्धान अनुसार प्रमाणित भएको कुरो हो यो । यद्यपी कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूमा पनि यो रोग देखा परेको छ । साथै अन्य कारणहरूमा सुक्ष्म जिवाणु एवं विषाणुसमेत रहेको पाइएको छ । तर, हालसम्म यो रोगको कारक यहि नै हो भनेर यकिन भएको छैन । अझै अनुसन्धान गर्नुपर्ने देखिन्छ यस बारेमा ।

यस रोगका चिन्ह तथा लक्षणहरू के के हुन, कसरी बुझने आम मान्छेले ?
-शापु रोगका बारेमा अहिलेसम्म देखिएको लक्षणहरू यस प्रकार छन्ः
– एक्कासि एउटा आँखा रातो हुनु ।
– चिप्रा नलाग्नु ।
– उज्यालोमा हेर्न गाह्रो हुन, नसक्नु ।
– आँखाको दृष्टि एक्कासि कमी हुनु ।
– आँखाको दुखाइ सामान्य वा बढी हुनु निकै कष्टकर दुखाइको महसुस गर्नु ।
– उपचार गर्न ढिला भएमा वा हेल हेलचेक्र्याइँ गरेमा आँखाको कालो नानीमा सेतो देखिनु ।

यस रोगको निदान तथा उपचार विधि के हो ?
– यो रोगको निदान तथा उपचार आँखा विभाग वा आँखा अस्पतालहरूमा मात्र हुने गरेको छ । शापु रोगको आकस्मिक उपचार सेवा आँखाभित्र औषधि अथवा सुई लगाएर वा जटिल अवस्थामा पुगेको बिरामीलाई आँखाको शल्यक्रियासमेत गरी उपचार गर्नुपर्ने हुन्छ । यो रोग लागिसकेपछि समयमा नै उपचार भएमा मात्र आँखा निको हुन्छ । यदि, उपचार गर्न ढिला भएमा बिरामीको दृष्टि गुम्न सक्छ वा आँखा सुकेर जान सक्छ । त्यसलै यस रोगलाई हेल्चेक्र्याइँ गर्नु हुँदैन रोग लागेमा तुरुन्त उपचार गराउनुपर्छ ।

यसको रोकथामका उपाय छ कि छैन, छ भने के छ ?
-यसबाट बच्न वा रोकथामका लागि केही सावधानी अपनाउन सकिन्छः
– सेतो पुतली (मोथ) को संसर्गबाट सकेसम्म टाढै रहने ।
– धेरै उज्यालो हुने सेतो बत्ती नबाल्ने ।
– साँझ र राती घरको झ्याल ढोकाबन्द राख्ने । ताकी पुलती कोठा वा घरभित्र छिर्न नपाओस् ।
– सकेसम्म झ्यालको ढोकामा जाली हाल्ने ।
-सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुलभित्र मात्र सुत्ने । यसरी पनि धेरै सुरक्षित पार्छ ।

यो रोग लागि हालेको अस्थामा रोगलाई कसरी नियन्त्रण गर्न सकिएला ?
– रोगको लक्षण देखा परेमा वा शंका लागेमा तुरुन्तै आँखा उपचार केन्द्र वा अस्पताल गरी उपभार गर्ने ।
– आफुखुसी अनुमानको भरमा कुनै पनि औषधि वा जडीबुटी प्रयोग नगर्ने ।
– आँखाका स्वस्थ्य कर्मीहरूको सल्लाह बमोजिम उपचार गर्ने । यसले रोग लागिहालेको अवस्थामा त्यसलाई नियन्त्रण गर्न सक्छ ।

अहिलेसम्म तपाइँहरूलाई भएको जानकारीअनुसार यो रोगले कतिजनालाई प्रभाव पारेको छ ?
– हामीले जानकारी पाएअनुसार संखुवासभामा शाफुको संक्रमण ९ जनामा देखिएको छ । ती मध्ये आठजनाको समयमा नै उपचार हुन नसकेका कारण आँखाको दृष्टि गुमिसकेको छ । यस्तै एकजनाको समयमा नै उपचार भएका कारण स्वस्थ्य भएका छन् ।

नेत्र ज्योति केन्द्रले संखुवासभामा सेवा दिन थालेको कति भयो ?
– संखुवासभामा विगत १४ वर्षदेखि नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा उपचार केन्द्रले सेवा दिँदै आएको छ । यहाँ आँखाको उपचार सुविधा छ । यस्तै समय समयमा मोतिबिन्दुको शल्क्रियाशिविर, जिल्लाको चैनपुर र नुममा दुईवटा उपचार केन्द्र स्थापना गरिएको छ । साथै प्रत्येक बर्ष जिल्लाका विभिन्न विद्यालयमागई विद्यार्थीको आँखा जाँच गर्ने र जटिल समस्या भएका विद्यार्थीलाई थप उपचारको लागि आँखा उपचार केन्द्रसम्म ल्याई उपचार गर्ने गरेका छौँ । यो लामो समयदेखिको निरन्तर सेवा हो ।

यहाँको अनुभवमा आँखाका बारेमा स्थानीयको जनचेतना कस्तो पाउनु भएको छ ?
-दुर्गम ठाउँ भएकोले अन्य स्वास्थ्य जस्तै आँखाको स्वास्थ्यका बारेमा पनि अनेक भ्रम, अन्धविश्वास छ । आँखाको स्वास्थ्यसम्बन्धी जानकारीको अभाव, समाजमा व्याप्त अन्धविश्वासका कारण वेला वेला आँखाको उपचार गराउनु पर्छ भन्ने धारण आम मान्छेमा छैन । आँखाको समस्या भए पनि तत्कालै आँखा उपचार केन्द्रमा नआई घरमै आफुखुसी उपचारको प्रयास गर्ने चलन छ । यस्तै, कारण र हेलचेक्राइँले पनि जिल्लामा आँखासम्बन्धी रोगको समस्या दिनानुदिन बढ्दै गएको छ ।

प्रतिक्रिया