‘बाह्य लगानीको वातावरण बनाऔँ’

काठमाडाैं । नेकपाका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बाह्य लगानी जुटाउनका लागि सरकारले उपर्युक्त वातावरण सिर्जना गर्नुपर्ने सुझाव दिएका छन् । गैरआवासीय नेपालीलाई मात्र नभै विदेशीहरू पनि नेपालमा लगानी गर्नका लागि पूर्वाधार बनाउनुपर्ने उनको धारणा थियो ।

समृद्ध नेपाल निर्माणमा एनआरएनहरूको भमिका विषयमा सञ्चार केन्द्र नेपालले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा नेता नेपालले लगानीका लागि सरकारले अनुकूल वातावरण बनाउनुपर्ने बताएका हुन् । ‘नेपालमा घुम्न र लगानी गर्न उत्तम गन्तव्यस्थल बनाउनुपर्छ । यसका लागि हामीले सबै न्यूनतम पूर्वाधारहरू तयार गर्नुपर्छ, अनुकूल वातावरण सिर्जना गर्न सक्नुपर्दछ’, नेपालले भने । उनले सडक होस् या सामुन्द्रिक बाटो, विकासका लागि मुख्य आधार हुने भएकाले सरकारले त्यसलाई प्राथमिकता दिनुपर्ने बताए ।

‘विकसित मुलुकहरू अमेरिका र भारतको राम्ररी अध्ययन गर्ने हो भने तपार्इंहरूले देख्नुहुन्छ बाटोको निर्माण । उनीहरूले पछि (१÷२ सय) वर्ष सम्मको कुरालाई ध्यानमा राखेर बाटोको निर्माण गरेका छन् । तर हाम्रोमा बाटो निर्माण संकुचित प्रवृत्तिको छ’ नेपालको भनाइ छ । एनआरएनमा शुक्रबार मात्रै निर्वाचित कुमार पन्तसहितको प्यानललाई बधाई दिँदै नेता नेपालले स्वदेशमा समृद्धिको अभियानमा सघाउन आग्रह पनि गरेका थिए ।

दक्षिण कोरियाका एनआरएनए डा.देवीबहादुर बस्नेतले स्थायी सरकार भएकाले बाह्य लगानी भित्र्याउने वातावरण बनाउन सुझाव दिए । पहिले देशभित्रै समृद्धिको आधार खोजेपछि मात्रै बाह्य विकल्पमा लाग्न सरकारलाई आग्रह पनि गरे । त्यसका लागि पूर्वाधार र अन्य वातावरण हुनुपर्ने बताए । एनआरएन अस्ट्रेलियाका नेता देवबहादुर गुरुङले नेपाल र नेपालीमाझ आफूहरू जहाँ रहे पनि सदा सेवा गर्न तत्पर रहेको बताए । कार्यक्रममा एनआरन जापानका नेता महेन्द्रकुमार श्रेष्ठ, सञ्चार केन्द्रका अध्यक्ष गोविन्दप्रसाद चौलागार्इंसहितले एनआरएनको भूमिकाबारे बोलेका थिए ।

प्रतिक्रिया