क्यान्सर पीडित बालिकालाई आर्थिक सहयोग

काठमाडौँ । लामो समयदेखि कलेजोको क्यान्सर भएकी बालिकालाई आर्थिक सहयोग गरिएको छ । महाङ्काल खेलकूद विकास समितिले लामो समयदेखि कलेजको क्यान्सरबाट पीडित चन्द्रागिरि नगरपालिका–७ बस्ने आयुषा बजगाईंलाई रु ४२ हजार १०५ आर्थिक सहयोग गरेको हो ।

विजयादशमी तथा शुभ दीपावलीका अवसरमा सुरु भएको ब्याटमिन्टन प्रतियोगिताको अवसर पारेर समितिका अध्यक्ष देवेन्द्र महतले क्यान्सर पीडित आयुषाका बुबा साधुराम बजगाईंलाई आज बिहान उक्त रकम हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा अध्यक्ष महतले मानवसेवा ठूलो धर्म भएकाले मानवसेवाका लागि थोरै भए पनि समितिका तर्फबाट सहयोग गरेको बताए । ‘आगामी दिनमा पनि समितिले गरीब, दुःखीका लागि यस्तो सहयोग गर्नेछौँ’, उनले भने ।

महाङ्काल खेलकूद समितीले विभिन्न अवसर पारेर खेलकूद र सामाजिक कार्य गर्दै आइरहेको छ । उक्त समितिको अगुवाइमा हाल एक करोड बराबर लागतमा चन्द्रागिरिमा कभर्ड हल निर्माण गर्न लागिएको छ ।

प्रतिक्रिया