चित्रमा सिन्धुलीगढी

सिन्धुली । इस्ट इन्डिया कम्पनीका फौजलाई १८२४ असोज १५ गते सिन्धुलीगढीमा गोर्खाली सेनाले परास्त गरेको दिनको सम्झनामा चित्रकला कार्यशाला गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभागले सिन्धुलीगढीमा आयोजना गरेको कला शिविरमा एक दर्जन कलाकार सहभागी छन् ।

‘सिन्धुलीगढी कला शिविर’ को उद्घाटनका क्रममा प्रदेशसभा सदस्य विनोदकुमार खड्काले क्यानभासमा चित्र बनाए । उनले कला संस्कृतिको विकासविना राज्यले समृद्धता हासिल गर्न नसक्ने बताए । देशलाई चिनाउन कलाको भूमिका विगतदेखि नै विशिष्ट रहँदै आएको बताउँदै उनले भने, ‘कला र कलाकारको सम्मानमा राज्यले सक्दो सहयोग गर्नुपर्दछ ।’ त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य कमलजंग राई र जरावट्टा कलाकार विश्वम्भर लामिछानेले पनि क्यानभासमा चित्र बनाएका थिए । १३ असोजदेखि सुरु भएको उक्त कार्यशाला १७ गतेसम्म रहने आयोजकले जनाएको छ ।

प्रतिष्ठानका चित्रकला विभाग प्रमुख प्राज्ञ सुष्मा राजभण्डारीले कलामार्फत सांस्कृतिक पहिचानको विकास गर्न कार्यशाला गरिएको बताइन् । उनले भनिन्, ‘प्रतिष्ठानले कलाको विकासका लागि स्थानीय तहदेखि संघीय सरकारसम्म काम गर्न पहल गरिरहेको छ ।’ उनले देशको पहिचाननै कला र संस्कृति भएकाले स्थानीयत तहले समेत यस क्षेत्रलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरिन् । उनले प्रमुख अतिथि तथा अन्य अतिथिलाई प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशन गरिएका पुस्तक र क्याटलग उपहार स्वरूप प्रदानसमेत गरिन् ।

कला शिविरमा कलाकार सुदर्शनविक्रम राणा, सुनिता राणा, अशुराम खाइजु, विश्वम्भर लामिछाने, सुदिप बिशंखे, सुरेम देशार, अनिल खड्का, संजु थापा मगरलगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया