नेपालीको महान् चाड बडादसैँ

विश्वभरि रहेका नेपालीहरू यतिवेला महान चाड दसैँ मनाउन व्यास्त छन् । घटस्थापनादेखि नौ दिनसम्म देवी दुर्गाका विविध स्वरूपको पूजा गर्ने र दसौं दिनदेखि पूर्णिमाको दिनसम्म प्रसादका रूपमा टीकाजमरा ग्रहण गरिन्छ । दश दिनसम्म देवीको पूजा आराधना गरिने भएकोले दसैँ भनिएको हो । वर्षमा दसैँ चारवटा हुन्छन्, तर अहिले मनाउँदै गरेको दसैँ बडादसैँ हो । नेपालमा दश दिनको ‘प्याकेज’लाई बडादसैँ भन्ने चलन छ भने हिन्दुस्तानमा देवी विसर्जनको दिनलाई विजयादशमीका रूपमा मनाउने चलन छ । पछिल्लो समय छिमेकी मुलुक हिन्दुस्थानको संस्कृति भित्रिन थालेपछि बडादसैँलाई विजयादशमी भन्ने पनि गरिएको छ । तिहार पर्वलाई दिपावली मात्रै भन्ने र बडादसैँ पर्वलाई विजयादशमी मात्रै भन्ने प्रचलन सुरु भएको छ । यसतर्फ नेपालीहरू सचेत हुनुपर्छ । वास्तवमा विजयादशमी भनेको बडादसैँ पर्वका १० दिनमध्ये एउटा महत्वपूर्ण दिन हो । त्यसैगरी, दीपावली भनेको तिहार पर्वका पाँच दिनमध्ये एउटा दिन हो । तर हिन्दुस्तानको संस्कृतिले पेल्दै पेल्दै जाँदा हाम्रो मौलिक चाड दसैँको अस्तित्वसमेत खतरामा पर्ने संकेत देखिएको छ ।

दसैँ हिन्दूहरूको सबैभन्दा ठूलो चाड हो कि, नेपालीहरूको सबैभन्दा ठूलो चाड ? भन्ने प्रश्नको उत्तर खोज्नु जरुरी भइसकेको छ । नेपाली गैर हिन्दूहरूले समेत ठूलो चाडका रूपमा दसैँलाई मनाउँछन्, तर गैरनेपाली हिन्दूहरूले दसैँलाई खासै ठूलो उत्सवका रूपमा मनाउँदैनन् । दसैँसग सम्बन्धित नेपालका विभिन्न शक्तिपीठमा जनजाति तथा आदिवासी पुजारी छन् । विश्वमा सबैभन्दा बढी पशु बली हुने ठाउमा थारू पुजारी छन् । छिन्ताङ भगवतमा राई पुजारी, गोरखाको कालिका दरबारमा काली स्थापना गरेको ठाउँमा मगर पुजारीबाहेक अरू पस्न पाउँदैनन् । गोरखाको कालिका मन्दिरमा मगरको अग्राधिकार छ । स्याङ्जाको आलमदेवी मन्दिरमा मगर पुजारी छन् । दाङको बाराही मन्दिरमा मगर पुजारी छन् । राजविराजको राजदेवीमा पुजारी थारू, काठमाडौँको शोभाभगवती र भद्रकालीमा बज्राचार्य पुजारी छन् । भक्तपुरको नवदुर्गा र पलाञ्चोक भगवतीमा वज्राचार्य पुजारी छन् । धरानको बूढासुब्बामा मगर पुजारी छन् । दसैँमा विशेषगरी गण्डकी प्रदेशका कोतमा मगर पुजारी छन् भने ब्राह्मण पुरोहित छन् । काली स्थापना गरेको ठाउँमा महाअष्टमीको कालरात्रिको मध्यरातमा मगर पुजारीले केराको पातमा भातको जाँड कालीलाई चढाउने चलन छ ।

बडादसैँ भनेको नेपालको राष्ट्रिय एकताको सूत्रसमेत हो । यो सूत्रले नेपालका सबै क्षेत्र, धर्म, वर्ण तथा जातजातीलाई समेटेको छ । तर, पछिल्ला दिनमा यो सूत्रलाई चुँडाल्ने षड्यन्त्र भइरहेको छ । उदाहरणका लागि बडा दसैँलाई हिन्दूको चाड भनेर प्रचार प्रसार गरी आदीबासी जनजातिको चित्त दुखाउने काम भएको छ । अर्कोतिर हिन्दूहरूको चाड बडा दसैँ बहिस्कार गर्नु पर्छ भन्दै जनजातीवीच अभियान सुरु गरिएको छ । यदि, बडा दसैँ हिन्दुहरूको मात्रै चाड हो भने अरू धर्मालम्बीहरूलाई जबर्जस्ती मनाउन लगाउनु हुँदैन । अन्याय हुन्छ । तर, गहन ढंगले विश्लेषण गर्ने हो भने दसैँ हिन्दूहरूको मात्रै नभएर नेपालीहरूको महान चाड हो ।

प्रतिक्रिया