स्वास्थ्य शिविरबाट स्थानीय लाभान्वित

अर्घाखाँची । बर्दीमा रहेका सशस्त्र प्रहरीका विशेषज्ञ डाक्टरहरू र अन्य डाक्टरहरू तथा नर्सहरूले मुस्कानसहित स्वास्थ्य परीक्षण गरेको देख्दा स्थानीय दंग परे । ‘प्रहरीका पनि डाक्टर हुँदा रहेछन् मलाई त थाहा थिएन’, स्थानीय भोजबहादुर कुमालले भने, ‘सुरुमा डर लाग्यो र हाँसीहाँसी कुरा गर्दै जाँचेपछि सामान्य लाग्यो ।’

सन्धिखर्क नगरपालिका वलेवाग निवासी ८३ वर्षीय चमकला कुमालले शिविरमा दाँत फुकाल्नुका साथै मटुको परीक्षण गरिन् । ‘दैलोमै डाक्टरसाबहरू आएर जाँच गर्नुभयो’ निकै हँसिलो चेहेरामा उनले भनिन, ‘दाँतले निकै दुःख दिइरहेको थियो, अब सायद समस्या नहोला ।’ विश्व मुटु दिवसको अवसरमा लायन्स÷लियो क्लब अफ काठमाडौं लर्ड बुद्धले आयोजना गरेको दुईदिने स्वास्थ्य शिविरमा करिब १ हजार ५ सय जनाले स्वास्थ्य सेवा लिएका थिए ।

शिविरको समापन गर्दै पूर्वउपप्रधानमन्त्री तथा जिल्लाका प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले स्वास्थ्य क्षेत्रमाथि कसैले पनि खेलवाड गर्न नहुने बताए । ‘पछिल्लो समयमा धेरै मानिसले मिर्गौला क्यान्सर, हृदयघातका कारण ज्यान गुमाइरहेका छन्’ उनले अगाडि थपे, ‘खानपिनमा ध्यान दिई समयसमयमा स्वास्थ्य परीक्षण गर्ने बानी सबैले बसाल्नुपर्छ ।’ रायमाझीले जिल्लाले स्वास्थ्य क्षेत्रमा अपेक्षित फड्को मार्न नसकेको भन्दै जिल्ला अस्पताललाई सुविधा सम्पन्नसहित ५० श्ययाको बनाएरै छाड्ने दावी गरे । ‘समान्य रोग लाग्दा पनि बिरामीहरूलाई धेरै पैसा तिरेर बाहिर जानुपर्ने बाध्यता छ’, उनले भने, ‘सुविधासम्पन्न अस्पताल बनाई अब हामी जिल्लामा स्वास्थ्य क्षेत्रको विकासमा केन्द्रित हुनुपर्ने जरुरी देखिएको छ ।’

बलेवाङमा कुमाल समुदायको बाहुल्यता रहेको छ । शिविरबाट यो समुदाय लाभान्वित भयो । शिविरमा सशस्त्र प्रहरी बल नेपाल सशस्त्र प्रहरी अस्पताल बलम्बु र नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग पु¥याएका थिए । सशस्त्र प्रहरीका विशेषज्ञ डाक्टरहरू र अन्य डाक्टरहरू तथा नर्सहरूले स्वास्थ्य परीक्षण गरेका गरेका छन् । क्लबका संस्थापक चार्टर अध्यक्ष विष्णु भण्डारीले क्लबले प्रत्येक प्रत्येक वर्ष मुटु दिवसको अवसर पारेर दुर्गम बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेको बताए । ‘स्वास्थ्यको पहुँचबाट टाढा रहेका विभिन्न बस्तीमा पुगी स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेका छौँ’, उनले भने, ‘धेरै मानिसलाई नयाँ जीवन दिन पाइरहँदा खुसी छौँ ।’

क्लबका अध्यक्ष हरि अधिकारीले समान्य स्वास्थ्य समस्या पनि बिस्तारै जटिल हुने भएकाले स्वास्थ्य शिविरले मानिसलाई धेरै फाइदा पु¥याउने बताए । ‘समयसमयमा विभिन्न संस्थाहरूले यसैगरी दुरदराजमा पुगेर स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्छ’, उनले भने, ‘बाध्यताले स्वास्थ्य संस्थासम्म पुग्न नसकेकाहरूलाई शिविरबाट फाइदा पुग्छ ।’ सशस्त्र प्रहरी अस्पतालमा कार्यरत प्रहरी उपरीक्षक रत्न पोखरेलले अस्पतालले विभिन्न सामाजिक संस्थाहरूसँग सहकार्य गरेर दुर्गम बस्तीसम्म पुगी स्वास्थ सेवा प्रदान गर्दै आइरहेको उनले बताए ।

‘विभिन्न रोगका विशेषज्ञ डाक्टरहरूसहित २५ जनाको मेडिकल टोलीले सेवा प्रदान ग¥यौँ’, पोखरेलले भने, ‘उल्लेख्य मात्रामा स्थानीयको सहभागिता रहँदा हामीलाई पनि निकै उत्साह प्रदान भयो ।’ जिल्लाका विभिन्न ठाउँका बिरामीहरू शिविरमा आई स्वास्थ्य सेवा लिएका थिए ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया