२९ औषधि उद्योग थपिँदै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले फार्मेसीको अनुगमनमा अन्य मन्त्रालयले सहयोग नगरेको बताएका छन् । ‘वल्र्ड फर्मासिस्ट डे’ को अवसरमा बुधबार काठमाडाैंमा आयोजित कार्यक्रममा राज्यमन्त्री यादवले अनुगमनमा अर्थ र उद्योग मन्त्रालयबाट आवश्यक सहयोग नपाइएको गुनासो गरेका हुन् ।

न्युट्रासुटिकल पदार्थहरू उद्योग मन्त्रालयमार्फत भित्रने भन्दै यसको अनुगमनमा स्वास्थ्य मन्त्रालय एक्लैले केहि गर्न नसक्ने उनको भनाइ थियो । ‘यस्ता कार्यक्रममा स्वास्थ्य मन्त्रालयलाई मात्र बोलाएर केही हुँदैन,’ राज्यमन्त्री यादवले भने ‘अर्थ मन्त्रालय र उद्योग मन्त्रालयलाई पनि बोलाउनुहोस् ।

हाम्रो ठाउँबाट हामी आफ्नो काम गर्छ ।’ कार्यक्रममा नेपालमा न्युट्रासुटिकल पदार्थको प्रयोग र अवस्थाका सम्बन्धमा विभिन्न वक्ताहरूले आ–आफ्नो धारणा राखेका थिए । नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले ‘ड्रग पोलिटिक्स’ का कारण खाद्य पदार्थको रूपमा भित्रने न्युट्रासुटिकल औषधिको रूपमा बिक्री भइरहेको बताए ।

कार्यक्रममा डा. अरुणा उप्रेतीले ओमेगा थ्री, क्याल्सियम, भिटामिन जस्ता न्युट्रासुटिकल उत्पादनहरू व्यापारिक प्रयोजनले मात्र बिक्री वितरण भइरहेको भन्दै घरमै उपलब्ध हुने र सन्तुलित आहारमा जोड दिनुपर्ने धारणा राखिन् । औषधि व्यवस्था विभागका नारायण प्रसाद ढकालले सबै न्युट्रासुटिकल प्रोडक्टको आवश्यकता नहुने बताए । ‘न्युट्रासुटिकल्स नै चाहिँदैन भन्दिनँ म । कतिपय अवस्थामा यो नभई हुँदैन,’ उनले भने, ‘तर यसको उचित अनुगमनमा ध्यान दिन जरुरी छ ।’ हरेक वर्ष सेप्टेम्बर २५ का दिन मनाईने ‘वल्र्ड फर्मासिस्ट डे’ यस वर्ष ‘सबैका लागि सुरक्षित र प्रभावकारी औषधि’ भन्ने नाराका साथ मनाइएको छ ।

यता बजारमा थप नयाँ २९ नेपाली औषधि उद्योग थपिँदैन छन् । यी उद्योगहरूले औषधि व्यवस्था विभागमा उद्योग स्थापनाका लागि अनुमति पनि लिएका छन् । उनीहरूले निर्माण लगायतका आवश्यक प्रक्रिया अगाडि बढाइरहेका छन् । स्वदेशी उद्योगले गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरकै उत्पादन थालेपछि स्वदेशी उत्पादनको माग बढ्दै गइरहेको छ । विभागबाट अनुमति लिएकामध्ये क्यान्सरविरुद्धको औषधिदेखि सर्पले टोकेका बिरामीको उपचारका लागि आवश्यक पर्ने ‘एन्टी स्नेक भेनम’ औषधि उत्पादन गर्ने उद्योगहरू छन् । हाल नेपालमा क्यान्सर विरुद्धको र एन्टी स्नेक भेनम औषधि उत्पादन भएको छैन ।

विभागका महानिर्देशक ढकालका अनुसार नयाँ र नेपालमा उत्पादन नभएका औषधि निर्माण गर्ने भन्दै उद्योगहरूले अनुमति लिएका हुन् । उनले भने, ‘क्यान्सर रोग लगायतको बिरामीको उपचारमा प्रयोग गरिने नयाँ–नयाँ औषधि उत्पादन हुनु गौरवको विषय हो, गुणस्तरीय औषधि यही उत्पादन हुँदै जाँदा अन्य देशसँग भर पर्नुपर्ने बाध्यता पनि हट्छ ।’ उत्पादनको स्वीकृति पाउने नयाँ उद्योग कम्पनीहरू ३० देखि ४० करोड लागतबाट सुरु भएको बताइएको छ । यस आधारमा हेर्ने हो भने २९ उद्योगले १० अर्बभन्दा बढी लगानि गर्ने देखिन्छ ।

तिजिग फर्माले एन्टी क्यान्सर ट्रिटमेन्टको लागि औषधि उत्पादन गर्ने भएको छ भने सुनसरीमा एन्टी स्नेक भेनम सेरमको उद्योग पनि सञ्चालनमा आउने भएको छ । त्यस्तै विभागबाट अनुमति लिएका उद्योगहरू धादिङ, काभ्रे, चितवन, मकवानपुर, बारा, तनहुँ, पर्वत, धनुषा, मोरङ, रुपन्देही, सुनसरी, जनकपुर र ललितपुरमा खोल्न लागिएको छ । विभागमा हालसम्म एलोपेथिक तर्फ ८५ वटा स्वदेशी उद्योग दर्तामा छन् । हाल ५० वटा जति सञ्चालनमा रहेको अनुमान गरिएको छ । विभागको तथ्यांकअनुसार अहिले ३७ उद्योगले मात्रै विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ) को जिएमपी पाएका छन् ।

प्रतिक्रिया