श्राद्ध परेपछि सुत्केरी रेफर

बैतडी । दशरथ चन्द नगरपालिका–४ की कलावती जोशी सुत्केरी व्यथा लागेर १ असोजमा जिल्ला अस्पताल भर्ना भएकी थिइन् । उनलाई चिकित्सकले शुक्रबार पेटबाट बच्चा निकाल्ने समय दिएका थिए ।

सोहीअनुसार उनीहरूले तयारी पनि गरेका थिए । शुक्रबार चिकित्सकले कलावतीलाई सबै प्रक्रिया पूरा गरेर प्रसूति गराउने तयारी गरिरहेका थिए । शल्यक्रिया गर्ने अन्तिम तयारी गरिरहँदा एनेस्थेसिया अर्थात् सुई लगाउने चिकित्सकले नलगाउने भने । उनले आफ्नो बुबाको श्राद्ध भोलि भएको र आफू घर जानुपर्ने भएकाले सुई नलगाउने जानकारी गराए ।

सो अस्पतालमा एनेस्थेसिया चिकित्सक खेमराज भट्ट रहेका छन् । उनले सुई लगाउन नमानेपछि चिकित्सकले हतार हतारमा अन्तिम समयमा कलावतीलाई डडेल्धुरा रेफर गरे । अन्तिम अवस्थामा चिकित्सकले रेफर गरेपछि कलावती र उनको परिवारमा निकै भय देखिएको थियो । उनीहरू आत्तिएका थिए ।

उनीहरूमाथिको आपत्ति त्यत्तिमा नै सिमित रहेन् । जिल्ला अस्पतालबाट डडेल्धुरा पु¥याउन गाडीबाट करिब दुई घण्टाको बाटो पर्दछ । सुत्केरी हुनलाई कलावतीलाई लैजान एम्बुलेन्स पनि छैन । जिल्ला अस्पतालमा भएको एउटा एम्बुलेन्सपछि बिग्रिएर थन्काइएको छ । उनीहरूले त्यसपछि सवारीसाधन खोज्न थाले । बल्ल बल्ल एउटा प्राइभेट जिपमा निकै महंगो भाडा तिरेर कलावतीलाई डडेल्धुरा पु¥याए । रेफर गरिएकी सुत्केरीले एम्बुलेन्स समेत नपाउँदा निजी जिप–गाडी महंगोमा भाडामा बुक गर्नु परेको सुत्केरीका आफन्त नारायण जोशीले बताए ।

कलावतीको अप्रेशन हुन नसकेपछि डडेल्धुरा रेफर गरिएको जिल्ला अस्पताल बैतडीका डाक्टर देवेन्द्र लेखकले पनि जानकारी दिए । ‘सुत्केरी कलावती जोशी असोज १ गते भर्ना हुनु भएको हो । उहाँ आफैँ सुत्केरी हुने अवस्था नभएपछि शुक्रबार अप्रेशनको तयारी थियो’, चिकित्सक लेखकले भने, ‘अप्रेशनअघि सुई लगाउने एनेस्थेसिया चिकित्सक खेमराज भट्टले शनिबार घरमा बुबाको श्राद्ध परेकाले सुत्केरीलाई सुई लगाउन सक्दिन भन्नुभयो । धेरै कर गर्ने कुरा पनि भएन । त्यसपछि सुत्केरीलाई डडेल्धुरा रेफर गरेका हाैँ ।’

एनेस्थेसिया भट्टले भने शनिबर घरमा बुबाको श्राद्ध परेकाले घर जानुपर्ने हुँदा सुई नलगाएको बताए । ‘सुत्केरीलाई सुई लगाएर घर जान मिलेन । कुनै समस्या परे अस्पतालमै बस्नुपर्ने भएकाले सुई नलगाएको हुँ’, घटनाबारे उनले भने, ‘सुत्केरी नछुने मान्यता होइन, मैले तुरुन्तै घर जानु परेकाले डाक्टरले सुत्केरी रेफर गरेका हौँ ।’

बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले घटनाप्रति गम्भीर चासो लिएको बताएका छन् । उनका अनुसार डाक्टर र ऐनेस्थेसियाबीच केही मनमुटाव पनि देखिएकाले घटनाबारे छानबिन गर्ने बताएका छन् । प्रजिअ अधिकारीले भने, ‘स्वास्थ्यकर्मीको घरमा बुबाको श्राद्ध परेकाले सुई नलगाएको विषयम मैले गम्भीर चासो लिएर बुझ्दा डाक्टर र ऐनेस्थेसियाबीच केही मनमुटाव पनि रहेछ । जुनसुकै कारणले पनि एउटा सुत्केरीले जिल्लामै पाउने सेवा नपाएको विषयमा आवश्यक जाँचबुझ गर्छु ।’

प्रतिक्रिया