प्रा. खम्बूले ल्याए आत्मकथा

काठमाडौं । प्राध्यापक केआर खम्बूद्वारा लिखित आत्मकथा ‘छायाँको लस्कर’ बजारमा आउने भएको छ । आत्मपरक शैलीमा लेखिएको यो पुस्तकमा झापा आन्दोलनको विषयलाई समेत प्रस्तुत गरिएको छ । झापा आन्दोलन ताका वर्तमान प्रम केपी ओली र उनका समकालीन कम्युनिस्ट नेतासँग राजनीतिक सहयात्रा गरेका खम्बू उभयचर र सरिसृप प्राणीमाथि विद्यावारिधि गर्ने पहिलो नेपाली हुन् ।

नेपालयबाट प्रकाशित हुन लागेको उक्त पुस्तकमा उनको वैयक्तिक कथासँगै त्यसवेलाको सामाजिक, सांस्कृतिक तथा राजनीतिक परिवेशलाई उतारिएको छ ।

झापा आन्दोलनबाट सुरु भएको कम्युनिस्ट आन्दोलनमा सक्रियरूपमा लागेका खम्बू त्यसवेलाका एक कार्यकर्ता समेत रहेका थिए । उनको यात्रा राजनीतिक अभियन्ता मोहनचन्द्र अधिकारी, केपी ओली, मदन भण्डारी, माधव नेपाल, सिपी मैनाली, गोविन्द न्यौपानेलगायतको संगतबाट अघि बढेको थियो ।

अध्ययनका क्रममा ज्योति गुमाएका प्रा. खम्बूले पुस्तकमा विगतका राजनीतिक, सामाजिक तथा सांस्कृतिक विषयलाई लेखेका छन् । त्यसवेलाका अविस्मरणीय क्षण र सम्झनालाई उतारिएको पुस्तकले नेपालको कम्युनिस्ट राजनीतिका प्रारम्भिक अवस्थालाई बुझ्न सकिन्छ ।

पुस्तकमा खुट्टामा जुत्ता नहुने पूर्वी पहाड खोटाङको बाल्यकालदेखि तराई झरेको तरूनो अवस्था र राजधानीको विद्यार्थी राजनीतिलाई उधिनिएको छ ।

तत्कालीन भूमिगत पार्टी ‘नेकपा माले’ को निकट रहेर खम्बूले स्कुले जीवनदेखि नै राजनीति सुरु गरेको विषय पुस्तकमा समावेश छ । त्यतिवेला विद्यालय तथा विश्वविद्यालयको पढाइलाई ‘बुर्जुवा’ शिक्षा भनेर महत्व दिएको थिएन । मालेले ‘बुर्जुवा’ शिक्षा बहिस्कारको अभियान नै चलाएको थियो । तैपनि, खम्बूले आफ्नो पढाइलाई खस्किन दिएनन् । यहीकारण उनको जीवन यात्रा क्रान्ति र प्रज्ञाको दोसाँध हुँदै अघि बढ्यो । विस्तारै उनी सक्रिय राजनीतिबाट अलग्गिए र प्राज्ञिक क्षेत्रमा लागे ।

पोस्टडक्टरेटको तयारीका क्रममा अचानक उनका दुवै आँखा ज्योतिविहीन बन्न पुगे । दृष्टि गुमेपछि पनि उनको ज्ञान आर्जनको मोह अहिलेसम्म पनि जारी नै छ । उनी अहिले पनि ल्यापटपको बोलिदिने सफ्टवेयरमार्फत् आफ्नो अध्ययनलाई अगाडि बढाइरहेका छन् । उनी अहिले मेची क्याम्पसमा प्राध्यापनरत् छन् । खम्बूले आत्मकथा पुस्तकका रूपमा पाठकसामु आउन लागेकोमा आफू निकै उत्साही भएको सुनाए ।

उनले भने, ‘पुस्तक सार्वजनिक हुने खबरले म रोमाञ्चित छु । आफ्नो जीवनको कथामार्फत् मैले मेरो परिवेश र उतिवेलाको समयको कथा बुनेको हुँ ।’ उनले आफ्नो कथा भन्दैगर्दा मेरा अगुवा र दौँतरीहरूको समय र कथा पनि जोडिएर आएका बताए । उनले थपे, ‘एउटा सामान्य मान्छेको संघर्षको कथालाई पाठकहरूले रुचाइदिनुहुन्छ भन्ने आत्मविश्वास लिएको छु ।’ पुस्तक दशैँअघि नै बजारमा ल्याउने प्रकाशकको तयारी छ ।

प्रतिक्रिया