भैरवी आधारभूत विद्यालयको आफ्नै भवन

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित भैरवी आधारभूत विद्यालयको आफ्नै चारकोठे पक्की भवन निर्माण भएको छ । ६९ लाख ६९ हजार लागतमा सामुदायिक विद्यालयको भवन निर्माण भएको विद्यालयले जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना इकाइ शिक्षाको आर्थिक सहयोगमा विद्यालयको भवन निर्माण भएको हो ।

गत माघमा विद्यालयको भवन निर्माण सुरू भएको थियो । करिब सात महिनामा विद्यालय भनव निर्माण सम्पन्न भएको थियो । आइतबार भवनको उद्घाटन गर्दै पूर्वमन्त्री तथा सांसद महेश बस्नेतले भैरवी आधारभूत विद्यालयमा विद्यार्थी भर्ना गर्न भनसुन गर्नुपर्ने गरी शैक्षिक गुणस्तर कायम गरिने बताए ।

उनले भने, ‘अहिले ठूला निजी विद्यालमा विद्यार्थी भर्ना गर्न भनसुन गर्नुपर्छ अब सामुदायिक विद्यालयमै विद्यार्थी भर्ना गर्न भनसुन गर्नुपर्ने गरी शैक्षिक र भौतिक गुणस्तर कायम गरिनेछ ।’ पहिलाको तुलनामा अहिले धेरै गुणाले विद्यालयको शैक्षिक गुणस्तर कायम भएको स्मरण गर्दै उनले भैरवी आधारभूत विद्यालयलाई नमुना विद्यालय बनाइने बताए । प्रदेश सांसद शशिजंग थापाले विद्यालयलाई नमुना बनाउने काममा आफ्नो तर्फबाट सबै साथ र सहयोग हुने प्रतिवद्धता व्यक्त गरे ।

सूर्यविनायक नगरपालिका–७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले कतिपय अभिभावकले विद्यालयको भलो चिताए पनि आफ्ना बालबालिका सामुदायिक विद्यालयमा भर्ना भने नगर्ने प्रवृत्ति यथावत रहेको बताए । उनले आगामी शैक्षिक सत्रमा सबै अभिभावकलाई ढुक्क भएर भैरवी आधारभूत विद्यालयमा विद्यार्थी भर्ना गर्न समेत आग्रह गरे ।

प्रतिक्रिया