मनसुन सक्रिय, तीन दिनसम्म वर्षा

काठमाडौँ । मनसुन पुनः सक्रिय भएकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेका कारण मनसुनी गतिविधि केही सक्रिय भएको मौसमविद् शान्ति कँडेलले बताइन् ।

‘अझै तीन दिन देशभर हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको र सो अवधिभर वर्षा अविरल नभई केही समय बलदी हुने केही समय वर्षा हुने क्रम निरन्तर भइरहनेछ’, उनले भनिन् । हाल देशभर आंशिकदेखि सामान्य बदली भई मध्यको पहाडी भेगलगायत पूर्वी तथा पश्चिमी भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

उक्त महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहितको वर्षा हुनुका साथै मध्य तथा पूर्वी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना भएकाले पहिरो जान सक्ने तथा सडक र हवाई यातयातमा सामान्य अवरोध आउन सक्ने हुँदा सतर्कता अपाउन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया