स्वास्थ्यकर्मी खोज्दै मन्त्रालयमा जनप्रतिनिधि

काठमाडौं । देशकै दुर्गम जिल्ला हुम्लाको ताजाकोट गाउँपालिका प्रमुख बागदल मल्ल स्वास्थ्यको कर्मचारी खोज्दै स्वास्थ्या तथा जनसंख्या मन्त्रालयमा आएका छन् ।

अध्यक्ष मल्लले ताजाकोटमा रहेको मैला स्वास्थ्य चौकी स्वास्थ्यकर्मी विहीन भएको भन्दै कर्मचारी खोज्दै संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइपुगेका हुन् । कर्मचारी समायोजनका कारण स्वास्थ्य चौकीमा कार्यरत सबै स्वास्थ्यकर्मी अन्यत्र समायोजन भएपछि स्वास्थ्यकर्मी खोज्न जिल्ला जनस्वास्थ्य कार्यालय जुम्ला, प्रदेश डिभिजन कार्यालय सुर्खेत, कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग टेकु चहार्दै शुक्रबार मन्त्रालय आइपुगेका हुन् ।

समायोजनअघि स्वास्थ्य चौकीमा १ हेल्थ असिस्टेन्ट, २ अहेब, २ अनमी र १ कार्यालय सहयोगी गरी ६ जना रहेपनि समायोजनपछि रित्तिएको थियो । समायोजनपछि हेल्थ असिस्टेन्ट राजेन्द्र स्यांकु र अनमी अम्बिका शर्माको अदानचुली गाउँपालिकामा सरुवा भएको छ । अहेबद्वय मोतिलाल जैशी र लीलाराज शर्माको खार्पुनाथ गाउँपालिकामा समायोजन भएको छ भने अनमी नितु पण्डितको सर्लाहीमा समायोजन भएको छ । नितुबाहेक अन्य सबै स्वास्थ्यकर्मी स्थानीय ताजाकोट गाउँपालिकाकै हुन् ।

गाउँपालिका अध्यक्ष मल्लले स्वास्थ्य चौकी कर्मचारीविहीन भएपछि सामान्य ज्वरो आउँदा पनि एक दिनको बाटो हिडेर उपचार गराउन जानुपर्ने अवस्था आएको बताए । ‘यातायातको साधन छैन्, सामान्य ज्वरो, रुघाखोकी आउँदासमेत स्वास्थ्य जाँच गर्ने र औषधि लिनुपर्ने ठाउँ छैन । अहिले औषधोपचारका लागि एक दिनको बाटो हिँडेर जानुपर्ने अवस्था छ यो पनि सम्भव छैन । उनले भने, ‘जिल्लाकै दुर्गम मानिने मैला सदरमुकामबाट ४७ कोश टाढा रहेको छ । उक्त ठाउँबाट पनि यातायात भएको ठाउँमा पुग्न कम्तिमा तीन दिन लाग्छ ।’ यसअघि लगभग तीन महिनाअघि भाइरल इन्फ्लुइन्जाको संक्रमणबाट १४ जनाको ज्यान गएको थियो भने सयौँ बिरामी परेका थिए ।

प्रतिक्रिया