पुग्नैपर्ने ठाउँ गंगाजमुना

मान्छेहरू धर्म गर्न जाँदा केही रमाइलो पनि होस् भन्ने ठान्दछन् भने गंगाजमुना झरना धादिङ, गोरखा, रसुवा नुवाकोट र काठमाडौं, चितवन मकवानपुरका लागि उपयुक्त स्थान हो । यो झरना पहाडको माथिबाट ठूला दुई झरना निरन्तर झरिहन्छ । सबै गाउँवासीले देखेर होइन आफ्ना पूर्खाले भोगेर कथा जसरी सुनाएर झरनाको महत्व सुनाउँदा प्रफुल्लित हुने यो झरनामा हरेक वर्ष ठूलो मेला लाग्ने गर्छ ।

दुई झरना ठूलो गंगा र सानो जमुना झरनाको रूपमा परिचित छ । पारि डाडाँबाट छङछङ झरिरहेको देखिन्छ । पौराणिक तथा धार्मिकरूपले प्रसिद्ध मानिएको गंगाजमुना झरना उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–५ मा पर्दछ । गाउँपालिकाको नामसमेत पहिचानका लागि यही झरनाको नामबाट राखिएको भए पनि प्रचारप्रसार र प्रवद्र्धनको अभावमा उल्लेख्य मात्रामा पर्यटक तान्न भने सकेको छैन ।

वरिपरिको गाउँमा पानी नपरेको अवस्थामा पानी पार्न यो झरनामा जलधारा गरेपछि पानी पर्छ भन्ने विश्वासमा मूलपानी, फूलखर्क, बुढाथुम, आगिनचोक, सल्यानकोटवासी वैशाख जेठमा भगवानसँग पूजा गर्छन् । हरेक वर्ष हरिबोधनी एकादशी (ठूली एकादशी) को दिन यहाँ ठूलो मेला लाने गर्छ । मेलाको अघिल्लो दिन नै मानिस यहाँ मनोकांक्षा पूरा हुने हेतुले बत्ती बाल्न आउँछन् । रातभर जाग्राम बसेर बत्ती बालेपछि भोलिपल्ट नुहाइधुवाई गरेर महादेवको पूजा गर्ने चलन छ ।

यहाँ देशका धेरै ठाउँबाट मानिस मेला भर्न आउँछन् । पूजा गर्छन् र आफूले चिताएको कुरा मागेमा पूरा हुन्छ भन्ने विश्वासमा मानिस भाकल पूरा गर्नसमेत आउने गर्छन् । भक्तजनले फूलको डोली, जिउँदो परेवा र गाईको दूध चढाएर आफूले चाहेको कुरा माग्छन् । यो पूरा हुन्छ भन्ने मान्यता छ । त्यसैले पनि यस झरनामा तिर्थालुहरू जाने गर्छन् । उनीहरूको उदेश्य धार्मिक आस्था पूरा गर्नेको साथै मनोरञ्जन प्राप्त गर्ने हुन्छ ।

काठमाडाैंबाट धेरै दूरीमा नभएकाले पर्यटकीय यो झरना हेरेर दुई दिनमै काठमाडौं फर्किन सकिन्छ । काठमाडाैंबाट एक सय किलोमिटरको यात्रा तय गरेपछि धादिङबँेसी पुगिन्छ । धादिङबँेसीबाट सल्यानटार ३० किलोमिटर पार गरेपछि २५ किलोमिटरको दूरी फूलखर्क हुँदै सुकभञ्ज्याङसम्म कच्चीबाटो जानुपर्छ । यो यात्रामा पनि अन्य पर्यटकीय र ऐतिहासिक स्थान हेर्न सकिन्छ ।

सल्यानटार पुगेपछि रानीपौवा ऐतिहासिकस्थल हो । नजिकै पाँचधारे छ । रानीपौवा पृथ्वीनारायण शाह गोरखाबाट नुवाकोटतर्फ जाँदा बाटोमा वास बस्न बनाइएको पाटी हो । पाँचधारे त्यतिखेर पानीको अभाव भएको वेला धारा हालेर पानीलाई व्यवस्थित गरिएको स्थान हो । त्यसैले पनि यो स्थान ऐतिहासिकसमेत रहेको छ ।

सल्यानटार नेपालको ठूलो टारसमेत भएकाले मौसम सफा भएको वेला ज्यामरुङ क्षेत्रबाट हेर्दा रमणीय देखिन्छ । एउटै टारसम्म बारीका पाटा, केही रुख बिरुवा र टारको बिचबाट सडक छिचोल्ने बाटोले एकपटक हेरेर जो कोही पनि रमाउन सक्छ । सल्यानटारमा फल्ने मास उच्चस्तरको हुने भएकोले माग धान्नसमेत सकिरहेको छैन ।

सल्यानटारबाट फूलखर्कतर्फ जाँदा गोर्खातर्फका डाडाँ सर्लक्क लमतन्न परेर सुतेको देखिन्छ । नजिकै तल रहेको बूढीगण्डकीले डाँडाका फेदलाई समेत आकर्षक बनाएको छ । बूढीगण्डकीमा निर्माण हुने एक हजार २ सय मेगावाटको जलाशययुक्त जलविद्युत् परियोजना निर्माणपछि भने यो बाटोको यात्रा अझै अविस्मरणीय खालको हुनेछ । हरियो डाँडाकाँडा र नजिकै देखिने गणेश हिमाल शृंखलाले उकालोमा थाकेको वेलासमेत आराम दिन्छ ।

सुकभञ्ज्याङ पुगेपछि उकालो बाटो हिँड्नुपर्ने हुन्छ । गुरुङ गाउँ पार गर्दै झरना पुग्न हिँडेर दुई घण्टा लाग्छ । अलि विस्तारै जानेका लागि समय बढी पनि लाग्छ । वर्षाको समयमा ठूलो हुने र हिउँदमा अलि सानो पानीको झरनाले सबैको मन लोभ्याउने झरना गंगाजमुनाको रूपमा परिचित छ । पहाडको ठाडो ढिस्को उभिएको माथिबाट पानी झर्ने गर्छ । यस दृश्यले पनि मान्छेहरूलाई यहाँ तान्ने गरेको स्थानीय बताउँछन् ।

पानीको झरना बगिरहन्छ । पश्चितमतर्फ रहेको एउटा स्थानमा कुकुर धारा छ । यसको माथि गंगाजमुनामा नुहाइसकेपछि यसतर्फ नुहाउन आउने भक्तजनले सबै पापबाट मुक्ति पाइने भनाइ रहेको र मानिस कुकुरधारामा नुहाउन नपाए पनि मुख धोएर भए पनि जाने गरेका छन् । हालै गाउँपालिकाले यसको संरक्षणका गरी पर्यटकीय गतिविधि बढाउन केही काम थालेको छ । कुकुरकै आकारमा यहाँ मूर्ति बनाइएको छ । यही मूर्तिबाट पानी तल झर्छ । कुकुरधारामा नुहाएदेखि गत वर्षमा जानेर वा नजानेर भएका पाप क्षय हुने जनविश्वास रहेको छ ।

झरनानजिकै पहराको बीचमा गंगाजमुनाको पूजा गर्ने स्थान रहेको छ । झक्तजन यो ठाउँमा पूजा गर्न जाँदा गत वर्षमा कठिन हुने गरेको थियो । कुनै बाटो नभएकोले पहरालाई समाउँदै जानुपथ्र्यो । यस वर्ष गाउँपालिकाले ४१ लाख र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले ५० लाख रुपैयाँ खर्च गरेर केही संरचना तयार गरेको छ । अहिले त्यहाँ सिँढी, रेलिङ, ठूला दुई प्रवेशद्वारको निर्माण भएको छ । पानी पर्दा वा घाम चर्केको वेला बस्नका लागि चावटा टहरा र शौचालयसमेत बनाइएकोले अब पर्यटकीय क्षेत्र बनाउन आफूहरूले यसमा जोड दिने गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारीले बताए ।

गंगाजमुना पुग्ने पर्यटकका लागि सांस्कृतिक झाँकीले समेत स्वागत गर्ने गरी गाउँपालिकाले योजना बनाएको छ । झरनाबाट १० मिनेटको दूरीमा रहेको गुरुङ गाउँ महत्वपूर्ण गाउँ हो जहाँ बसेर पर्यटकले गुरुङ संस्कृति अनुभव गर्ने छन् भने घरवास निर्माण गरी वास बस्ने र गाउँमै फलेको चिज खाने व्यवस्था मिलाउन लागिएको छ । समय क्रममा यो ठाउँ सबै दृष्टिले महत्वपूर्ण बन्दै गएको छ ।

एकै दिनमा २० पर्यटक रातिको वास बस्नुपर्ने भएमा हाललाई व्यवस्थापन गर्न सकिने गरी १० घर गुरुङ गाउँमा मिलाउन लागिएको छ । आगामी वर्ष गाउँपालिकाले योजना बनाएर काम गर्ने हो भने अझै विस्तार गर्ने योजना रहेको गाउँपालिकाको छ ।

पर्यटक झरना मात्र हेरेर चित्त नबुझाउने हुनाले गंगाजमुनासँगै रहेको गुरुङ गाउँमाथि पैयूँखर्क जान सक्छन् । यहाँ पहिले घलेहरूको दरबार रहेको भग्नावशेषसमेत छ । यसलाई संरक्षण गरी गंगाजमुना–घले दरबार मार्ग बनाउन सके थोरै समयका लागि नेपाल घुम्न आएका विदेशी पर्यटकले समेत उपभोग गर्न पाउने पर्यटन व्यवसायीको समेत धारणा छ । बेलुका आएर गाउँ बसेका पर्यटकले आफू उठ्नेबित्तिकै आँखाअगाडि हिमाल हेर्न पाउने छन् भने हीराडाँडा हेर्दै गाउँको रोटी तरकारी खाएर न्यानो आतिथ्यता पाउनेछन् ।

प्रतिक्रिया