फर्निचर तथा फर्निसिङ एक्स्पो सुरु

काठमाडौं । सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) सुरु भएको छ । बुधबार एक कार्यक्रमका बीच उपराष्ट्रपति नन्दकिशोर पुनले एक्स्पोको उद्घाटन गरे । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा एक्स्पो सुरु भएको हो । राजधानीको भृकुटीमण्डपमा सुरु भएको एक्स्पो भदौ २९ गतेसम्म सञ्चालन हुनेछ ।

एक्स्पोको उद्घाटन कार्यक्रममा आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष रुपेश प्रधानले कच्चा पदार्थको सहज उपलब्धता नभएका कारण मुलुकमा फर्निचर व्यवसाय फस्टाउन नसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराए । दक्ष जनशक्तिको अभाव सँधै खड्किँदा अन्य मुलुकबाट जनशक्ति आयात गर्नु पर्ने अवस्था आएको भन्दै उनले प्रोत्साहनमुखी ठोस नीति ल्याउन सरकारसँग आग्रह गरे । मुलुकभर १० हजार फर्निचर तथा फर्निसिङ व्यवसायी रहेको र ५ लाखभन्दा बढीले रोजगारी पाइरहेको भए पनि यो क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न नसकेको उनको गुनासो थियो ।


एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गरेको छ । विगत वर्षको तुलनामा परिस्कृत रुपमा एक्स्पो सुरु गरिएको छ । एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय २० भन्दा बढी प्रदर्शकहरुको सहभागिता रहेको छ । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षण बन्ने विश्वास गरिएको छ । यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन पनि एक्स्पोको आकर्षण बन्ने बताइएको छ ।

प्रतिक्रिया