नेपाललाई विश्वकप छनोटमा सफलता

काठमाडौं । नेपालले फिफा विश्वकपअन्तर्गत दोस्रो चरणको छनोटमा चाइनिज ताइपेईविरुद्ध ऐतिहासिक जित निकालेको छ । अन्जन विष्ट नायक बन्दा नेपालले घरेलु टोलीमाथि २–० को जित निकाल्यो । प्रशिक्षक योहान कालिनले फुटबल टिम सम्हालेपछि पहिलो जित निकाल्दा नेपालले भने नौ खेलपछि पहिलो सफलता निकालेको छ । ताइपेईमा भएको खेलमा नेपालका लागि अञ्जन विष्टले खेलको तेस्रो मिनेटमा नै गोल गर्न सफल भए । ताइपेईको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै नेपालले गोल गर्न सफल भयो ।

खेलको सुरुआतमा नै गोल खाएको ताइपेईले खेलमा फर्कन निकै दबाब दिएको थियो । २२औँ मिनेटमा ताइपेईको प्रहारलाई गोलकिपर किरण चेम्जोङले बचाएका थिए । त्यसपछि ४१औँ मिनेटमा फेरि ताइपेईको सशक्त प्रहारलाई नेपाली गोलकिपर किरणले नै ब्लक गरेका थिए । त्यसपछि ४३औँ मिनेटमा ताइपेईले डिबक्समा अर्को गोलको अवसर सिर्जना गरेको थियो । तर पोस्ट नजिकैबाट बाहिरियो ।

४४औँ मिनेटमा नेपालका रवि पासवानको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । काउन्टरमा ताइपेईको प्रयासमा नेपालको डिफेन्सले ब्लक गर्यो । त्यसपछि पाएको कर्नरमा फेरि ताइपेई टिम चुक्न पुग्यो । पहिलो हाफमा एक गोलले पछाडि परेको ताइपेई दोस्रो हाफमा झन आक्रामक रूपमा मैदानमा उत्रियो । उसले ५२औँ मिनेटमा पाएको मौकालाई पनि नेपाली डिफेन्स लाइनले क्लियर गर्यो । ५४औँ मिनेटमा ताइपेईको फ्रिकिकलाई नेपालको डिफेन्सले नै बचायो ।

दोस्रो हाफमा एकोहोरोरूपमा पेलेको ताइपेईले बारम्बार नेपालको पोस्टमा धावा बोले पनि डिफेन्स बलियो हुँदा आधा दर्जन प्रहारलाई रोकेको थियो । त्यसमा किरण चेम्जोङले पनि उत्कृष्ट प्रदर्शन गरे । नेपाली टिमको कप्तानीसमेत गरिहेका किरणले ताइपेईको प्राय प्रहारलाई असफल बनाएका थिए । खेलको ६२ औँ मिनेटमा नेपालले दोस्रो गोल गर्यो । नेपालका लागि फेरि पनि अञ्जनले गोल गर्न सफल भए । उनले डिबक्सभित्र अनमार्क रहेको फाइदा उठाउँदै गोल गर्न सफल भए ।

त्यसपछि ६८औँ मिनेटमा नेपालले फेरि अर्को मौका पाए पनि रवि पासवानले बल कन्ट्रोल गर्न सकेनन् । ७२औँ मिनेटमा ताइपेईले फेरि पाएको गोलको अवसरमा उसका कप्तान असफल बने । ७६औँ मिनेटमा नेपालको विमलको प्रहारलाई ताइपेईका गोलकिपरले बचाए । दुई गोलको अग्रता बनाएपछि नेपाली टिमले आफ्नो शैली पनि परिवर्तन गरेको थियो । दोस्रो हाफको सुरुआतमा केही डिफेन्सिभ देखिएको नेपालले खेलको पछि केही आक्रामक देखिएको थियो ।

८६औँ मिनेटमा नेपालले अर्को आक्रमणको अवसर बनाए पनि विमल असफल भए । ताइपेईले बारम्बार प्रहार गरे पनि गोल फर्काउन असफल भयो । ताइपेईको प्रतियोगितामा लगातार दोस्रो हार हो । यसअघि उसले जोर्डनसँग दुई–एकको हार ब्यहोरेको छ । यता नेपाल कुवेतसँग सात–शून्यले पराजित भएको थियो ।

प्रतिक्रिया