चार महिनामैँ बच्चा…

काभ्रे । ०७६ वैशाख ४ गते मण्डन देऊपुर नगरपालिका–४ महादेवस्थानका राजन बज्रगाईँले बनेपा नगरपालिका नालाकि रुपा (परिवर्तित नाम) सँग मागी विवाह गरे । आफ्नो गच्छेअनुसार राजनले धुमधामसँग विवाह गरे ।

विवाहपछि उनीहरूको जिन्दगी राम्रैसँग चल्दै थियो । तर, गएको भदौ १९ गते राजनको जीवनमा निकै आश्चर्यचकित घटना घट्यो । मागी विवाह गरेको ४ महिनामै बच्चा जन्मियो । विवाहअघि कहिल्यै नभेटिएकी रुपाबाट बच्चा जन्मिएपछि उनी झसकिए । बच्चा जन्मनु अघिसम्म पनि श्रीमति गर्भवति भएको उनले थाहा पाएनन् ।

श्रीमतीको शारीरिक अवस्था परिवर्तन हुँदै गएपछि राजनले शंका गर्न भने सुरु गरिसकेका थिए । तर, अचानक रुपा गत बिहीबार विरामी पर्छिन् । विरामी श्रीमतीलाई लिएर उनी बनेपाको शिर मेमोरियल अस्पतालमा पुग्छन् । अस्पतालले उनी गर्भवति रहेको बतायो । रुपाले त्यहीँ आफ्नो सन्तानलाई जन्म दिइन् ।

मागी विवाहको चार महिनामै सन्तान जन्मेपछि राजन खुसी होइन अत्यन्त चकित खान्छन् । त्यसपछि उनले रुपालाई यसविषयमा सोधपुछ गर्दछन् । सोधपुछ गर्नेक्रममा रुपाले विवाहपूर्व आफ्नो प्रेमी रहेको जानकारी गराउँछिन् । रुपाका अनुसार सिन्धुली जिल्ला दुम्जा घर भएका पुस्कर पुलामी मगरसँग उनी विवाहपूर्व सम्बन्धमा रहेकी थिइन् ।

मगर भने विवाहित रहेको खुलेको छ । घटनाको सबै जानकारी लिएपछि राजन इलाका प्रहरी कार्यालय बनेपामा पुगेर मगरविरुद्ध उजुरी दिएका छन् । उनले रुपालाई जबरजस्ती करणी गरेको भनेर उजुरी दिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी प्रमुख निरञ्जन भट्टराईले बताए ।

‘आइतबार अचम्मको जाहेरी दर्ता भएको छ । हामीले उजुरीको आधारमा पुलामीलाई पक्राउ गरी म्याद थपसमेत गरी अनुसन्धान गरिरहेका छौँ’, भट्टराईले भने । अस्पतालका अनुसार अहिले आमा र बच्चाको उपचार जारी रहेको छ । उनीहरूको स्वास्थ्य अवस्था पनि राम्रो रहेको बताइएको छ ।

प्रतिक्रिया