आधुनिक नेपाली कलाको विकासक्रम–२

देवेन्द्र थुम्केली

नेपाली आधुनिक कलाको इतिहास पश्चिमा वस्तुवादी शैलीबाट भित्रिएको हो । यसको जग सन् १८२० को दशकपछि भएको मान्नुपर्दछ । यही जगमा विकास भएको नेपाली कलाको इतिहास विभिन्न घुम्ती र गोरेटो पार गर्दै आजको अवस्थामा आइपुग्न सकेको हो । फेरि, इतिहास शक्तिशाली राज्यपक्षधरको मात्रै बढी लेखिने हुँदा नेपाली कलाको वास्तविक इतिहास कलाकृति र तिनले अगाडि सारेको चिन्तनका आधारमा भएको छ ।

हुन त इतिहासको सूक्ष्म खोज तथा अध्ययनबिना वर्तमानको जग थाहा हुँदैन । नेपाली कलाको इतिहासमा पनि आधुनिक कालको इतिहास नेपालको महत्वपूर्ण राजनीतिक परिघटनापछि अघि बढेको देखिन्छ । सन् १८१६ को सुगौली सन्धिपछि नेपालमा इस्ट–इन्डिया कम्पनी अर्थात् ब्रिटेनको प्रभाव र विस्तार पर्न थाल्यो । ब्रिटेनले नेपालमा राजनीतिकसँगै सांस्कृतिक विकास र प्रगतिबारे जानकारी लिँदै खोज अनुसन्धानसमेत गरेको पाइन्छ । ब्रिटेनले नेपालको प्रकृति, धर्म, संस्कृति, जीवजन्तु, पशुपंक्षी, वनस्पति तथा यहाँको सामाजिक जीवनमा भएका विविध गतिविधिका बारेमा अध्ययन गरेको पाइन्छ ।

यसवेला नेपाली चित्रकलामा कलाकार राजमान सिंह चित्रकारको नाम अग्रपंक्तिमा आउँछ । नेपाली कलाकै इतिहासलाई नयाँ मोडमा लैजाने कलाकारको रूपमा समेत उनलाई चिनिन्छ । उनले नेपाली परम्परागत मौलिक कला धारलाई नयाँ बाटोमा लाने अवसर प्राप्त गरे । नेपालमा भएको बाह्य राजनीतिक प्रभावका कारण कला क्षेत्रमा उनलाई परम्परागत कला शैलीको धार परिवर्तन गर्ने अवसर जुरेको हो । विश्वमा बेलायती साम्राज्यको प्रभाव फैलिँदै जानेक्रममा त्यसको प्रभाव नेपाली राजनीतिसँग कला, साहित्य तथा सांस्कृतिक क्षेत्रमासमेत प¥यो । यही कारण मौलिक ढंगले अगाडि बढिरहेको नेपाली कलामा पश्चिमी प्रभाव पर्न थाल्यो ।

हुन त नेपाली कलामा पश्चिमी शैलीलाई भित्र्याएको श्रेय केही अघिसम्म भाजुमान चित्रकारलाई दिने गरिन्थ्यो । तर, भाजुमानभन्दा ३० वर्ष अगाडि अर्थात् सन् १८२० मै राजमानले पश्चिमी वस्तुवादी शैलीमा राजमानले काम गरेका कृतिहरू भेटिएसँगै भाजुमानका बारेमा लेखिएको इतिहास नयाँ मोडबाट अगाडि बढेको छ । सन् १८५० मा भाजुमान प्रधानमन्त्री जंगबहादुर राणासँगै बेलायत भ्रमणमा गएपछि नेपाली कलामा पश्चिमा शैली भित्रिएको लेखिँदै र पढिँदै आइएको थियो ।

नेपाल र अंग्रेज अर्थात् इस्ट इन्डिया कम्पनी (बेलायत) सँग भएको सन् १८१६ को सुगौली सन्धिपछि अंगे्रजको चहलपहल बढ्दै गयो । इस्ट इन्डिया कम्पनीको नेपालमा स्थायी आवासीय प्रतिनिधि बस्न थाले । त्यतिवेला बेलायतको पहिलो स्थायी आवासीय प्रतिनिधिको रूपमा इडवार्ड गार्डनर नेपाल आएका थिए । उनी नेपालमा तत्कालीन शासकसँग सम्बन्ध स्थापित गर्दै वनस्पतिको खोज अनुसन्धान कार्यमा समेत संलग्न भए । सन् १८१६ देखि १८२९ उनले नेपालमा बेलायतको स्थायी आवासीय प्रतिनिधिका रूपमा रहेर काम गरे ।

गार्डनरको सहयोगीको रूपमा रोबर्ट स्टुआर्ट पनि नेपाल आएका थिए । स्टुआर्टले गार्डनरलाई वनस्पतिका नमुना संकलनलगायतका कार्यमा सहयोग गरे । गार्डनरको अध्ययन अनुसन्धान टोलीमा फ्रान्सिस डी सिल्भा र भरत सिंह पनि रहेको कतिपय इतिहासकारले उल्लेख गरेको पाइन्छ । इस्ट इन्डिया कम्पनी भारतमा नाथालियल वालिच वनस्पति संकलन तथा अध्ययन गर्ने प्रमुख व्यक्ति थिए । वालिचसँग सन् १८२० मा तराई हुँदै काठमाडौं आउँदा गार्डनरका सहयोगी रोर्बटलाई मलेरिया लाग्छ । यही रोगका कारण उनकोे काठमाडौंमा मृत्यु हुन्छ ।

रोबर्टको मृत्युपश्चात् उक्त खाली पदमा ब्रायन एचएच हड्सन नियुक्त भई काम गर्न काठमाडौं आउँछन् । सुरुमा हड्सन गार्डनरको सहयोगी भएर काम गर्छन् । हड्सनको रुचि नेपाली संस्कृतिसँगै चराचुरुंगी तथा जीवजन्तुको अध्ययनमा केन्द्रित रहन्छ । उनले आफ्नो अध्ययन अनुसन्धानका लागि दृष्टान्त चित्रको आवश्यकता परेकाले कलाकारको खोजी गर्छन् । त्यसैक्रममा हड्सनले कलाकार राजमानसिंह चित्रकारलाई आफ्नो सहयोगी तथा चित्रकारको रूपमा नियुक्त गर्छन् ।

काठमाडौंमा चलेका परम्परागत तथा संस्कारजन्य कलाकृति बनाउने परिवेशमा हुर्केका राजमानले हड्सनको संगतपछि नेपाली कलामा नवीनतम् शैलीमा काम गरे । कतिपय इतिहासकारले राजमानसँगै हड्सनको काममा सहयोग गर्न अन्य १० जना कलाकारसमेत रहेको चर्चा गरेका छन् ।

हड्सनभन्दा तीन वर्ष जेठा सन् १७९७ (?) मा जन्मिएका राजमानले आफ्नो कलाको प्रारम्भिक थालनी परम्परागत तथा संस्कारजन्य कलाबाटै गरेका थिए । उनको यो कार्य पुर्खादेखि चलिआएको थियो । हड्सनसँगको संगतपछि उनले सुरुमा काठमाडौं उपत्यकाका बौद्ध वास्तुकला चैत्य, स्तुपा, बहाल तथा बिहारका रेखाचित्र बनाएको पाइन्छ ।

त्यस्तै, उनले जीवजन्तु तथा चराचुरुंगीका थुप्रै रेखाचित्र बनाए । प्राकृतिक यथार्थवादी शैलीमा उनले सयौँ जीवजन्तु र चराचुरुंगीका रेखाचित्र तथा जलरंगी चित्र बनाए । त्यसैगरी, राजमानले दृश्यचित्र तथा मुहारचित्र पनि थुप्रै्र बनाए ।

कलामा राजनीतिक प्रभाव
नेपाली कला इहिासको नयाँ चरणको यस पाटोपछि पश्चिमा प्रभावले नेपाली कलालाई नराम्ररी गाँज्दै लग्यो । मौलिक कला परम्परामा एकाएक नयाँ शैलीका कला बनाउन थालियो । राणाकालमा बेलायतीको प्रभावले नेपाली कलाको मूलधारलाई गहिरो गरी प्रभाव पा¥यो । वास्तवमा भन्ने हो भने नेपाली कलाको मौलिकता चीरहरणका समयावधिको रूपमा राणाकाललाई लिनुपर्दछ । आफ्नो पहिचानलाई जागृत गराउने कला परम्पराको संरक्षण राज्य तहबाट हुन सकेन ।

कलामा देखापरेको नयाँ चिन्तनलाई ग्रहण गर्दै आफ्नो मौलिक कला परम्परालाई अझ समृद्ध र विकसित बनाउनुको सट्टा राज्यले त्यसलाई खासै महत्व दिएको पाइँदैन । यसले नेपाली कलाको मौलिकताको विकासमा कहीँकतै सपोर्ट गरेको पाइँदैन ।
यो उपक्रम ०६२÷६३ को जनआन्दोलनसम्म पनि जारी थियो । केही आधुनिक कलाकारले अहिले पनि नेपाली परम्परा तथा लोककलाको मौलिकताका बारेमा नकारात्मक टिप्पणी गरेको पनि पाइन्छ । साथै नेपाली मौलिक परम्परामा हुर्केका लोककलाका बारेमा समेत राज्य तहमा पुगेका कलाकारको दृष्टिकोण स्पष्ट भएको पाइँदैन । कला, साहित्य र संस्कृतिको विकासको ठेक्का लिएका राज्यका संरचना पनि नेपालको बहुसंस्कृति, बहुभाषा, तथा बहुकला पक्षीय छैनन् । यिनको चिन्तन पनि जागिरे प्रवृित्तभन्दा माथि उठ्न सकेको पाइँदैन । अझ पछिल्लो समय कला तथा संस्कृतिका क्षेत्रमा पनि ठेकेदारी तथा कमिसन प्रथाले जरा गाड्न थालेको छ ।

कलामा राजनीतिक प्रभाव
२००७ सालको राजनीतिक प्रभावले नेपाली कलामा केही भए पनि सचेतनाको जरा गाड्न थालेको थियो । कलाकारले स्वतन्त्र ढंगले कला रचना गर्ने अभ्यास थालेका थिए । मुहारचित्र, सिकारचित्र तथा दृश्यचित्र बनाउने परम्परासँगै राजनीतिक व्यंग्य तथा स्वतन्त्रका विषयमा कार्टुन तथा चित्र बनाउने कार्य पनि भएको पाइन्छ । पर्चा पम्प्लेटमा व्यंग्यचित्र छापेर समाजमा राजनीतिक जागरण ल्याउने कार्यमा कहीँ न कहीँ कलाकारको भूमिका देखिन थालेको थियो ।

२०१५ सालको आमनिर्वाचन र प्रजातन्त्रप्रतिको जनताको आकांक्षालाई ०१७ सालको राजा महेन्द्रको ‘कु’ ले नेपाली समाजलाई निरंकुशतातिर लगेको सर्वविदितै छ । राजा महेन्द्रको ‘कु’ पछि नेपाली कलामा पनि त्यसको प्रभाव पर्न थाल्यो । औपचारिक कला शिक्षाको अध्ययन गरेर आउने कलाकारको संख्या उल्लेख्य मात्रामा बढ्दै गयो । पञ्चायती व्यवस्थामा नेपालका अधिकांश कलाकार त्यसको हिमायतीको रूपमा काम गरेको देखिन्छ । व्यवस्थालाई खबरदारी गरी बनाइएका कलाकृति अति नै कम मात्रामा बनेको पाइन्छ । यसले पनि के कुराको संकेत गर्दछ भने नेपाली कलाकारले आममानिसका विषयलाई कममात्रामा कलाकृतिमा उतारे ।
कलाकार सचेत सामाजिक प्राणी भएकाले उसको समाजप्रति केही भए पनि उत्तरदायित्व रहन्छ । उद्देश्यसहित आममानिसका दुःखसुखका विषय कलाकृतिमा कमै बने । कतिपय कलाकारले नेपालको गरिबीलाई बेचे ।

०४६ पछिको नेपाली कलाको परिदृश्य
नेपाली कलामा राजनीतिक, सांस्कृतिक, सामाजिक दृष्टिले सचेत ढंगले कला सिर्जना गर्ने समयका रूपमा ०४६ सालपछिलाई लिनुपर्ने हुन्छ । ०४६ सालपछि नेपाली समाजमा आएको खुल्लापन र त्यसको बाछिटाले सिंगो समाजलाई नै तरंगित बनायो । कला, संस्कृति तथा साहित्यका क्षेत्रमा विविध विचार, दर्शन तथा आस्थाका विषय प्रकट हुन थाले । समाजमा भुइँमान्छेका रूपमा परिचित मानिसका विषयलाई कलाकारले सचेत ढंगले कलाकृतिमा उधिन्न थाले । मूलतः नेपाली कलामा ०४६ सालदेखि ०६५ सम्ममा निकै उथलपुथल भएको पाइन्छ ।

राजनीतिक परिवर्तनका निम्ति कलाकार सचेत ढंगले कला बनाउँदै भौतिकरूपमै सडकमा समेत निस्किए । ०४६ साल चैत ३ गते घण्टाघरमा साहित्यकार, संगीतकर्मी तथा ललितकलाकर्मी सचेतपूर्ण ढंगले सडकमा निस्किएर गरिएको आन्दोलनको परिघटना महत्वपूर्ण छ । यसपछि कलाकर्मीले देशमा स्वतन्त्रतापूर्वक कला रचना तथा विचारमा आबद्ध भएर संगठित रूपमा समाज परिवर्तनका लागि काम गर्दै आएको पाइन्छ ।

०५२ सालमा सुरु भएको सशस्त्र विद्रोह र त्यसले नेपाली समाजमा ल्याएको रापतापका विषयसमेत कलामा पक्ष र विपक्षका रूपमा उतारिएको पाइन्छ । वास्तवमा यो परिघटनाले कलाकारलाई सचेत ढंगले कलाकृति बनाउनुपर्छ भन्ने अवधारणाको विकास गरेको देखिन्छ ।, नयाँ पुस्ताका कलाकार सचेत ढंगले जुर्मुराउँदै उठे । कलामा नयाँ शिल्पविधि, चेतना, अवधारणा तथा दर्शनको प्रभाव देखिन थाल्यो ।

यस्तै परम्परागत मौलिक कलाको प्रवद्र्धनमा समेत कलाकार विस्तारै अगाडि बढ्न थाले । खासमा यसै समयमा मौलिक पहिचानको विषयले प्राथमिकता पाउन थालेपछि नेपाली कलामा यसको बहस सघन तरिकाले हुन थालेको हो ।  ०५८ सालको शाही ‘कु’पछि भएका राजनीतिक आन्दोलनमा कलाकारले लोकतन्त्र तथा गणतन्त्रका पक्षमा सडक, क्यानभास तथा पत्रपत्रिकामा बनाएका व्यंग्यचित्रले जनतालाई जागृत बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो । त्यस्तै, ०६२/६३ सालको जनआन्दोलनको प्रभाव कलामा व्यापक रूपमा देखियो ।


नेपाली राजनीतिक परिवर्तनमा कलाकारले भूमिका निभाए पनि ०४६ सालको परिवर्तनपछि सरकारी तबरबाट खासै यस क्षेत्रले सहयोग पाएन । राजनीति खिचातानीमा अल्झिएको नेपाली समाजले समृद्धि र विकासलाई कला, साहित्य तथा संस्कृतिमा जोड्न पहल नै गरेन । नेपालको सामाजिक, सांस्कृतिक, राजनीतिक तथा शासकीय दृष्टिले परिवर्तन भएको ०५२ देखिको परिदृश्य तथा ०६२÷६३ को परिस्थितिले पनि कलालाई खासै महत्व दिएको पाइँदैन ।

सरकारले ‘प्रज्ञा प्रतिष्ठान’ स्थापना गरे पनि यी संरचनाले नेपाल लोकतान्त्रिक, गणतान्त्रिक तथा मौलिक पक्षको विकास र समृद्धिमा सौन्दर्य दृष्टिकोण निर्माण गर्न सकेका छैनन् । यसको मुख्य कारण ती संस्था हाँक्ने व्यक्तिको पुरातनवादी चिन्तन नै मुख्य कारक बन्न गएको छ । यी संरचनाले नेपालको विविधतालाई आत्मदेखि नै सकार्न अझै पनि सकेका छैनन् । साथै यिनको विकासबिना राज्य बलियो हुन्छ भन्ने चेतलाई गम्भीर रूपमा लिएको पाइँदैन ।
नेपाली कलामा आधुनिकताको जग बसेको लगभग दुई वर्षको समयावधिमा विभिन्न कलाकारले योगदान दिएका छन् । खासमा यसअघि नै नेपाली आधुनिक कलाको विकासक्रमलाई १० चरणसम्म चर्चा गरिसकिएको छ । ०४६ सालपछि नेपाली कलामा देखापरेका कलाका चिन्तन र शैलीको बारेमा परिचर्चा गरिनुपर्दछ । विश्वकला परिदृश्यमा देखापरेका विभिन्न शैली नेपाली कलामा पनि भित्रिएको पाइन्छ । ती शैली र चिन्तनमा विशेषगरी नेपालका मौलिक विषयले समेत सशक्त प्रभाव पार्न थालेको देखिन्छ ।

कलाको विकासमा लेखनको भूमिका
नेपाली कलामा देखिएका प्रवृत्तिलाई सौन्दर्यीकरण गर्ने काममा भने खासै ध्यान दिएको पाइँदैन । अझ कलाको इतिहास तथा समीक्षाका क्षेत्रमा काम नै हुन सकेन । नारायणबहादुर सिंहले सुरु गरेको कला लेखनको यात्रालाई त्यसपछि केही कलालेखकले मात्रै निरन्तरता दिने कोसिस गरे । तर पनि उनीहरूको प्रयास प्राप्त थिएन । उनीहरूलाई राज्यनियन्त्रित कलाका संरचनाले खासै महत्व दिएको पाइँदैन । नेपाली कलालेखनमा सत्यमोहन जोशी, नारायणबहादुर सिंह, गोविन्दनारायण ज्यापू, कुलमानसिंह भण्डारी, मनुजबाबु मिश्र, गेहेन्द्रमान अमात्य, मदन चित्रकार, डा. अभि सुवेदी, डा. संजीव उप्रेती, रमेश खनाल, मुकेश मल्ल, नारदमणि हार्तम्छाली, ज्ञानेन्द्र विवश, नगेन्द्रप्रसाद पौड्याल, नविन्द्रमान राजभण्डारी, लोक चित्रकार, अशोकमान सिं, सुधिर थापा, अरुण रञ्जित, डा. यामप्रसाद शर्मा, देवेन्द्र थुम्केली, इन्द्र खत्री, कृष्ण शाह यात्री, केशव राज खनाल, दीपक कुँवर, एससी सुमन, श्यामसुन्दर यादव, लगायतले योगदान दिएका छन् ।

हुनत नेपालमा पत्रकारिता सुरु भएपछि समाजका विविध क्षेत्रसँगै कलाका विषयमा समेत लेखिन थालिएको हो । १९५८ सालमा गोर्खापत्रको प्रकाशन सुरु भएपछि कलाका विषय सामाजिक सरोकारको रूपमा आउन थालेको हो । गोरखापत्र या अन्य त्यसवेला प्रकाशित विभिन्न पत्रपत्रिकाले कलाका विषयमा कहिलेदेखि लेख्न थाले त्यो खोजीकै विषय हो ।

नेपालमा पहिलोपटक कलाकै सन्दर्भमा केन्द्रित रहेर सत्यमोहन जोशीले २००८–००९ सालमा प्रकाशन गरेको ‘कलाकार’ त्रैमासिक हो । सुरुमा नेवारी भाषामा प्रकाशित यो पत्रिका नेपाली भाषामा समेत प्रकाशित थियो । यसले चित्र, मूर्ति, वास्तुकला, संगीत तथा साहित्यको विषयलाई महत्व दिएको थियो । २०१४ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापना भएपछि यसले नेपालको पुरातात्विक सम्पदा, प्राचीन नेपाली कलाका विविध सन्दर्भमा रहेर विभिन्न पुस्तक प्रकाशन गरेको देखिन्छ । यस्तै पुरातत्व विभागले समेत २०१० सालपछि नेपाली सम्पदा र पुरातात्विक महत्व राख्ने विषयमा अनुसन्धान गर्ने, जर्नल प्रकाशन तथा पुस्तक प्रकाशन गर्ने काम गरेको छ ।

२०१६–०१७ सालदेखि गोरखापत्रमा नारायणबहादुर सिंहको प्रवेशसँगै नेपाली कलाका बारेमा लेखिन थालिएको हो । २०२० साल ताका गेहेन्द्रमान अमात्यले समेत गोरखापत्र लगायतका पत्रपत्रिकामा कलासम्बन्धी लेख रचना प्रकाशन गरेको पाइन्छ । २०२२ सालमा नेपालमा कलाको संस्थागत विकास गर्ने उद्देश्य राखेर नेपाल ललितकला संस्था (नाफा) स्थापना भयो । यसले २०२३ सालमा कलाकार शिलुप्यारीको सम्पादनमा नाफाको मुखपत्र प्रकाशन भयो । त्यसको एक वर्षपछि त्यसको अर्को अंक निस्क्यो । त्यस्तै, यसै वर्ष कलाका विषयमा गोविन्द नारायण ज्यापूले समेत कला शिक्षण विधिका विषयमा पुस्तक प्रकाशन गरेको पाइन्छ । २०२७ सालमा विजय थापाको सम्पादनमा कलाकार नामक अर्को पत्रिका निस्कियो । यसले पनि कला, साहित्य, संगीत तथा वास्तुकलाका विषयलाई समेट्यो । ०२७ सालमै नेपालमै पहिलोपटक नारायणबहादुर सिंहको ‘नेपाली चित्रकार’ नामक पुस्तक साझा प्रकाशनले निकाल्यो ।

यसमा त्यतिवेलाका गोरखापत्रले मासिक रूपमा साहित्यिक पत्रिका मधुपर्कको प्रकाशन २०२५ बाट भएदेखि नै कलाका लेख रचना छापिन थाले । नाफाले ०२६ र ०३१ सालमा अंग्रेजीमा आफ्नो मुखपत्र प्रकाशन ग¥यो । २०३२ सालमा नरसिंहभक्त तुलाचनको प्रकाशन, कुसुम तुलाचनको सम्पादनमा ‘कलाकृति’ नामक कला पत्रिका प्रकाशन भयो । यो पत्रिका प्रकाशनमा गेहेन्द्रमान अमात्यको सहयोग रह्यो ।

त्यस्तै, २०३५ सालमा नेपालमै पहिलोपटक काठमाडौं बाहिर धरानबाट युवा कला केन्द्रको प्रकाशन र मुकेश मल्लको सम्पादनमा कलापत्रिका निस्क्यो । यो पत्रिका ३ अंकसम्म प्रकाशित भयो । नाफाले वेला वेलामा कलासम्बन्धी पत्रिका प्रकाशन गर्दै गयो । त्यस्तै, २०३४ सालमा पुसमा नेपाल प्रज्ञा प्रतिष्ठानले नेपालमा कलाको विषयमा केन्द्रित रहेर गोष्ठीको आयोजना ग¥यो । जसमा उत्तम नेपाली, नारायणबहादुर सिंह, मनब्रज बज्राचार्यले कार्यपत्र प्रस्तुत गरेका थिए ।

नारायणबहादुरको २०३३ सालमै ‘कला एक अनुभूति एक चिन्तन’ नामक अर्को पुस्तक प्रकाशित भयो । नेपालमा माध्यम, कला र कलाकार, तिसा, कलाकृति, आकृति, ललितकला द्वैमासिक, कलाकर्म, क्यानभास साप्ताहिक, फाइनआर्ट नेपाल डटकम, ललितकला समीक्षा, आर्टनेपाल, कलादृष्टि, ललितकला पत्रिका, नेपाल आर्ट न्युजडटकम, सिर्जना लगायतका सञ्चारमाध्यमले ललितकला क्षेत्रको विकास र प्रवद्र्धनका क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन् ।

२०७६ सालसम्म आइपुग्दा नेपालमा ललितकला विषयमा लेखिएका सयौँ पुस्तक प्रकाशित भएका छन् । यिनले नेपाली कला र कलाकारका बारेमा बहस, चिन्तन गर्दै आएका छन् । पछिल्लो समय नेपालमा गहकिलो कला लेखनको अभाव खट्किएको छ । लेखकलाई प्रोत्साहन तथा खोज अनुसन्धानमा लगाउने परिपाटीको विकास भएको छैन । यसले कलाको सौन्दर्यकरणमा निकै असर पारेको छ । नेपाली कलाको आधुनिक विकासक्रममा लेखनको भूमिकाले विशिष्ट स्थान ओगटेको छ ।

प्रतिक्रिया