मौलिक कृषिबारे ज्ञान दिन एडु फार्म

सोम पनेरु, सञ्चालक

सरकारले कृषिलाई प्राथमिकतामा राखेको लामो समय भएको छ । विगतका पञ्चवर्षीय योजनादेखि हालसम्म कृषिमा आधुनिकीकरण तथा प्राथमिकीकरणको कुराले निकै नै चर्चा पाइरहेको छ । कृषिमा बर्सेनि ठूलो मात्रामा बजेट खर्च भए पनि उपलब्धि भने शून्य प्रायः देखिन्छ । युवालक्षित कार्यक्रमको नाममा कृषिमा ठूलो धनराशी खर्च हुने गरेको छ । तर, राम्रा भन्दा हाम्राले अवसर पाउने भएकाले उल्लेख्य प्रगति हुन नसकेको सरोकारवाला बताउँछन् । कृषिमा कतिपय युवा आफ्नै बलबुताले भ्याएसम्मको लगानी गरेर राज्यलाई नै चुनौती दिइरहेका छन्् । कतिपय परिश्रमी कृषकले नेपालमै मासिक लाखौँ आम्दानी गरिरहेका छन् ।त्यस्तै, आधुनिक कृषिको नाराले बजार तातिरहेको छ । यसै सन्दर्भमा ललितपुरको छम्पीमा एक फरक प्रकारको कृषि फार्म सञ्चालनमा छ । कृषि क्षेत्रमा केही फरक गर्नकै लागि सोम पनेरु र दीपक थापाले उक्त फार्म सञ्चालनमा ल्याएका हुन । उनीहरूले कृषिमा भएका रैथाने वाली, पशु र लोप हुन लागेका कृषि प्रविधि तथा औजारहरूको संकलन गरेर अध्ययन गर्ने वातावरण सिर्जना गरेका छन् । यसै सन्दर्भमा दुईजना सञ्चालक मध्येका एक सोम पनेरुसँग सौर्यकर्मी केशव भट्टले गरेको कुराकानी :

तपाईंको फार्मको परिचय ?
हाम्रो फामको नाम ‘एडु फार्म’ हो । यो एजुकेसनको छोटो रूप हो । यसले नामअनुसारको काम गरिरहेको छ । जस्तै, सहरी परिवेशमा हुर्केका केटाकेटीहरूलाई हामीले खाने खानकुरा, अन्न, मासु, दूध, दही, फलफूल आदि कहाँबाट प्राप्त हुन्छन् ? यसका स्रोतहरू के–के हुन् ? भन्ने कुराको जानकारी दिने गर्दछौँ । यसका लागि स्कुल, कलेजले विद्यार्थीहरूलाई शैक्षिक भ्रमणको रूपमा ल्याएर वा अभिभावकले नै आफ्ना बालबालिकाहरूलाई ल्याएर हामीले खाने खानकुरा, अन्न, मासु, दूध, दही, फलफूल आदि कहाँबाट प्राप्त हुन्छन् र यसका स्रोतहरू के–के हुन् भन्ने विषयको जानकारी दिन्छौँ । साथै एक दिनमै फर्किने वा रात नै बस्ने गरी पनि आउन सकिनेछ । बस्नका लागि हामीसँग फाम स्टे, कट्टेजको पनि व्यवस्था छ ।

यहाँ बस्दा हामी यस फार्ममा आउने अतिथिलाई सकेसम्म यहीँ उत्पादन भएका खानकुरा, अन्न, मासु, दूध, दही खानेकुरा खुवाउछौँ । बच्चाहरूलाई यहाँ आउदाँखेरि उनीहरूले जीवनमा देखेका, सुनेका साथै विभिन्न प्रकारका चराचरुंगीका बारेमा पनि जानकारी दिने गछौँ । जस्तै, भालेपोथी कस्ता हुन्छन् ? फुल भालेले पार्छ कि पोथीले पार्छ ? फुल कस्तो ठाउँमा पार्छन् ? फुल पार्दा पोथी कसरी ढुक्छ ? कुखुराको भाले र पोथी कसरी छुट्याउने ? सिउर कुनको ठूलो हुन्छ ? लुइँचे भनेको कस्तो हुन्छ ? हाँस र कुखुराको फरक ? कसरी भालेपोथी कस्ता हुन्छन् ? लगायतका कुराहरू र हामीसँग भएका पशुपंछीहरूको रङ, साइज र अण्डा आदिका बारेमा ज्ञान लिन सक्छन् ।

त्यस्तै, यहाँ आएर गाईभैँसीको दूध दुहने, मथ्ने (मोही पार्ने), नौनी घ्यु बनाउने तरिका पनि सिक्न सक्छन् । भेडाबाख्राका पाठापाठी हेर्न, छुट्याउन रिप्रोडक्सन तथा पशुपंछी सम्बन्धि ज्ञान लिन सक्छन् । अर्को, तरकारी खेती सम्बन्धमा पनि ज्ञान लिन पनि सक्छन् । जस्तो, लसुन, प्याज, लहरे सिमी, घिरौँला तथा अन्य तरकारीहरू कुन–कुन जमिनमुनि फल्छन्, कुनकुन जमिनमाथि फल्छन्, जमिनमुनि फल्ने र जमिनमाथि फल्नेले के–कस्ता पौष्टिक दिन्छन् ? आदिका बारेमा पनि ज्ञान दिने गर्छाैं ।

यसको अवधारणा कसरी आयो ?
नेपाललाई कृषिप्रधान देश भन्छौँ, तर त्यो परिदृश्य व्यवहार र भनाइमा निकै अन्तर भएको छ । सहरीकरण बढेको छ । आखिर सहरमा बसे पनि खानुपर्ने त कृषि उपज नै हो । सहरमा बस्ने केटाकेटीले प्रकृति देख्न पाएका छैनन् । प्रकृतिसँग रमाउन पाएका छैनन् । सानो कम्पाउन्डमा बस्न बाध्य भएका छन्् । जहाँ रूख चढ्ने ठाउँ छैन । कान्लो चढ्ने ठाउँ छैन । त्यसको उपर यहाँचाँहि केटाकेटीलाई प्रकृतिसँग खेल्न, रमाउन, रूख चढ्न दिने पशुपंछीलाई नजिकबाट नियाल्न दिने, उस्तै परे बारीमा काम गर्न पनि लगाउने जसले गर्दा उनीहरूलाई कुनै पनि प्रकारका तरकारी उत्पादन गर्न लाग्ने समय, मेहनत आदिको जानकारी र किसानको महत्वबारे थाहा हुन्छ । यी र यस्ता कुरा साना उमेरका बालबालिकालाई बुझाउने प्रयासले यसको अवधारण आएको हो ।

यो फार्म सुरु गर्नुभन्दा अगाडि के गर्नुहुन्थ्यो ?
धेरै पहिलाचाँहि मैले शिक्षण पेसामा आबद्ध थिएँ । अहिलेचाँहि एउटा नेपाल युथ फाउन्डेसन भन्ने संस्थामा काम गर्छु । यो काम गरेको २४ वर्ष भयो । यस फाउन्डेसनले बच्चाहरूलाई शिक्षा, स्वास्थ्यमा पहुँच बढाउँछ । युवाहरूलाई रोजगारमूलक शिक्षा दिनका लागि सहयोग गर्छ । म एउटा गाउँको परिवेशमा जन्मेहुर्के र यहाँसम्म आएको मान्छे हुँ जसले गर्दा मलाई गाउँ र सहर दुवैको परिवेश थाहा भयो । हामीले हजारौँ बालबालिकालाई शिक्षा दियौँ, ग्राजुएड बनायौँ ।

यो फार्ममा कति लगानी गर्नुभएको छ ?
यो फार्मको स्थापना ख्यालख्याल गर्दागर्दै साँच्ची भयो । पहिले त शिक्षापथ मात्र बनाउने सोच थियो । त्यसले मात्र लगानी उठाउन सक्ने अवस्था भएन । यसमा मनोरञ्जनात्मक पक्ष थप्नुपर्ने भयो, कट्टेज बनाउनुप¥यो, फाम स्टे बनाउनुप¥यो, बाथरुम ट्वाइलेट बनाउनुपर्नेलगायतका कामले गर्दा निकै लगानी भएको छ । लगभग २ करोड ५० लाख जति लगानी भएको छ । जसमध्ये कृषिलोनबाट १ करोड ६० लाख र बाँकी लगानी हाम्रै रहेको छ । तर, पनि खुसी लागेको छ । किनकि, प्रत्येक दिन स्कुलका केटाकेटी आउने, भिजिट गर्ने गर्छन् । त्यहाँबाट केही सिक्छन्् । त्यसैले हामी खुसी छौँ ।

लगानी कतिको सुरक्षित छ ?
लगानी गरेपछि डर भइरहेकै हुन्छ । त्यसका लागि सदैव खट्नुपर्छ । हामी पनि २ जना छौँ । हामी बिहानदेखि बेलुकासम्म यहीँ बसेर काम गरिरहेका हुन्छौँ । ‘अटेन्सन टु डिटेल’ भन्ने कुरालाई मध्यनजर गरेर काम गर्छौं । पशुपंछीलाई रोग लागेको छ कि विचार गर्छौं । एउटा मात्र कुखुरा म¥यो भने पनि १७÷१८ सय घाटा लाग्छ । त्यस्तै, एउटा टर्की प्रजाति म¥यो भने ८ हजार घाटा लाग्छ । यो उदाहण मात्र हो । त्यसकारण यो त अति सेन्सेटिभ हुन्छ । हामी एकदम सचेत भएर काम गर्छौं ।

हाल यस फार्ममा के–कस्ता पशुपंछी छन् ?
यहाँ पंछीमा लगभग ८०० जति रैथाने वा लोकल कुखुरा, हाँस, लुइँचे, टर्की, लौकाट, कडकनाथ बट्टाई, छन्् भने पशुअन्तर्गत गाई, भैँसी, भेडा, बाख्रा, खरायो आदि छन् । विशेष गरी पशुहरूचाँहि देखाउनका लागि नै हुन् । यिनिहरूको गोठ (वासस्थान) को व्यवस्थापन फाम व्यवस्थापन गर्नकै लागि करिब–करिब लगानीको आधा जति खर्च भएको छ ।

लगानी उठाउनको लागि के–कस्ता योजना छन् ?
सबैभन्दा चुनौती भनेको बैंकको ऋण हो । सरकारले ब्याज छुट भन्छ, तर कमर्सियल बैंकहरूले त्यसमा धेरै पैसा थपेर ब्याज लिने कारणले हामीलाई ब्याज तिर्न अलि दबाब छ । त्यसका लागि उत्पादन कसरी बढाउने भन्नेतर्फ ध्यान केन्द्रित गर्छौं । त्यसैगरी, चराहरू बेच्छौँ, त्यसमा जोड गरिरहेका छौँ । अर्काे हाम्रो उत्पादन अर्गानिक छ, यी उत्पादनहरूलाई बजारसम्म कसरी पु¥याउने र हाम्रो कसरी अर्गानिककै भाउ पाउने भन्नतिर पनि कोसिस गरेका छौँ । किनकि, अर्गानिक भनेपछि उत्पादन कम हुन्छ । मेहनत बढी पर्ने, बढी समय लाग्ने, किराले खाने आदि समस्या हुन्छ । तर, बजारमा यसको भाउ अन्य उत्पादनको जस्तै हुने हुनाले मूल्यतर्फ पनि सोच्नुपर्ने भएको छ । एउटा तरकारी उत्पादन गरेर, अर्को पंछीहरू बेचेर साथै विद्यार्थी भिजिटबाट हो । एक सय रुपैयाँ तिरेर गेटबाट प्रवेश गर्न सक्छन्् र त्यसपछि दिनभरि अवलोकन गरेर ज्ञान हासिल गर्छन् ।

नेपालमा रोजगारीको अवसर नै छैन भन्ने मनस्थितिमा पुगेका युवाहरूलाई के भन्नुहुन्छ ?
हामी असाध्यै धेरै ह्वाइट कलरको जबमा जोड दिने संस्कार बस्यो थोरै तलब आए पनि काम गर्ने, सुकिलो मुुकिलो लुगा लगाउनुपर्ने, कुर्सी टेबलमा बस्नुपर्ने हातखुट्टा फोहोर हुनु नहुने बानी बसेको कारणले गर्दा ती युवाहरूलाई कृषिमा लगाउनका लागि अलि धामा परिराखेको छ । तर, कृषि परिवेशमा नै हुर्केको मान्छेले बुझेको हुनाले अहिले हामीले आठजना मान्छेलाई फुल टाइम रोजगारी दिएका छौँ । हामी श्रमको शोषण गर्दैनौँ, त्यसकारण उहाँहरू खुसी हुनुहुन्छ । यहाँ रमाइलो पनि छ । आफँै उत्पादन गरेर खाने हो ।

यो एउटा रोजगारीको पाटो राम्रो छ । वास्तवमा कृषिमा लाग्ने हो भने अरब जानेभन्दा यहाँ धेरै पैसा कमाइन्छ । हामीकहाँ दुईजना किसान छन्, जो अरब मलेसिया गएर ऋणमा डुबेर फर्केपछि अहिले यहाँबाट कमाएर ऋण तिरिरहेका छन् । त्यसैले, म भन्छु कि इच्छाशक्ति छ, भने यही देशमा बसेर हरेक काम गर्न सकिन्छ । विदेश जानै पर्दैन । विदेशको भन्दा नेपालमै बढी कमाउन सक्छौँ । हाम्रो देश अवसरको खानी हो ।

तपाईंले कुनै पनि संघसंस्थाबाट कृषि अनुदान पाउनु भएको छ कि छैन ?
राष्ट्र बैंकले दिने कृषि ब्याज छुट पाइएको छ । त्योबाहेक बिउबिजन अनुदान कहाँ पाइन्छ भन्ने पनि थाहा छैन । हामीलाई त थाहा पाउन गाह्रो हँुदो रहेछ भने सर्वसाधारण कृषकहरूलाई कसरी थाहा होला ? एक ठाउँमा सोध्यो अर्काे ठाउँ, अर्काे ठाउँमा सोध्यो अर्काे ठाउँ गर्दा गर्दै समय मात्रै खेर जाँदो रहेछ । त्यसकारण, यो अनुदान प्रक्रिया सजिलै तरिकाले किसानसमक्ष पु¥याउनुपर्छ, भन्ने मेरो मान्यता हो ।

तपाईको यो फार्मबाट मासिक कति आम्दानी हुन्छ ?
भर्खर सुरु गरेका छौँ । बैंकको मूल्य तिर्न र अपरेटिङका लागि मात्र पनि मासिक ३ लाख कमाउनै पर्छ । विस्तारै पिकअप लिँदैछ । प्रचार–प्रसार पनि भर्खर भर्खर हुदैछ । हप्तामा, ३/४ दिनमा र कहिलेकाहिँ एक दिनमै पनि ३–४ ग्रुप विद्यार्थीहरू आउन थालेका छन् । माार्केटिङ गर्न पनि समस्या छ ।

तपाईको  फार्ममा रहेको कृषि संग्रहालयको बारेमा बताइदिनुस् न ?
कृषि संग्रहालय भनेको कृषिमा कस्ता खालका औजारहरूको प्रयोग हुन्छ अथवा कुन प्रयोजनका लागि प्रयोग हुन्छ भन्ने कुराहरू सहरमा बसेका बच्चाहरूलाई मात्र होइन ठूलै मानिसहरूलाई पनि थाहा हुँदैन । त्यसले गर्दा कृषि लाइफ कस्तो हुन्छ, कृषकको लाइफ दुई प्रकारको हुन्छ एउटा बाहिरी र अर्काे भित्री । संग्रहालय बनाउन त समय लाग्छ । त्यसमा दुईवटा कोठा हुनेछ । एउटामा किसानहरूको बाहिरी जिन्दगी कस्तो हुन्छ, जस्तो हलो, जुवा, कुटो, कोदालो, गल आदि औजारहरू रहेको हुन्छ ।

अर्काे कोठामा चाँहि किसानको भित्री जिन्दगी अथवा घरभित्र कस्तो हुन्छ जस्तो ढिकी, जाँतो उसले पकाउने कसौँडी, कचौरा थाल अगेनो, चुलो कस्तो हुन्छ देखाउँछौँ ताकि बच्चाहरू यहाँ आउँदा ओहो गाउँ कस्तो हुन्छ हेर्न जाउँजाउँ भन्ने लागोस् । यसले के गर्छ भने युवापुस्तालाई गाउँसम्म जोड्ने काम गर्छ । गाउँको साँच्चिकै परिवेशलाई बुझ्दछन् र ग्रामीण आन्तरिक पर्यटकहरूको पनि वृद्धि हुन्छ । पुर्खाहरूका अनुसार हलोको मात्रै नौवटा पार्टपुर्जा छ । यी सबैबारे जानकारी दिने भूमिकाचाँहि कृषि संग्रहालयले खेल्दै छ ।

प्रतिक्रिया