आयुर्वेद संस्था विलयको विरोध

काठमाडौं । विभिन्न प्रदेशमा रहेका आयुर्वेद संस्थाहरूलाई विलय गराउने सरकारको निर्णय कार्यान्वयन नगर्न नेपाल आयुर्वेद चिकित्सक संघले माग गरेको छ । संघले सोमबार विज्ञप्ति जारी गर्दै प्रदेशहरूले प्रक्रिया नै पूरा नगरी आयुर्वेदसम्बन्धी संरचना बनाएको भन्दै आपत्ति जनाएको हो ।

अध्यक्ष डा. प्रकाश ज्ञवालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा विभिन्न प्रदेशहरूमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, नेपाल आयुर्वेद चिकित्सक संघ, सरोकारवाला आयुर्वेदका संस्था, जनप्रतिनिधिलगायतका व्यक्ति तथा संस्थासँग अन्तरक्रिया, छलफल नगरी, संगठन तथा व्यवस्थापन सर्वेलगायत कुनै पनि प्रक्रिया पूरा नगरी लहडमा संगठन संरचना बनाउने कार्य भइरहेको उल्लेख गरिएको छ ।

विगतदेखि सञ्चालनमा रहेका जनस्तरमा प्रख्यात आयुर्वेद सेवा कार्यक्रम हटाउने, नयाँ कार्यक्रम नदिने, इन्टिग्रेसनको नाममा आयुर्वेदका संस्था विलय गराउने लगायतका कार्यले आयुर्वेदको मूल मर्ममा प्रहार गरी आयुर्वेदलाई कमजोर गराउने कार्य भएको संघको ठहर छ । संघले उठाएको यस कुरा सुनुवाइ नभएर जबरजस्ती विभेदकारी तथा विवादास्पद् निर्णय अगाडि बढाए बाध्य भई स्वास्थ्य सेवा छोडी कडा आन्दोलनमा होमिन बाध्य हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘उक्त कार्यको घोर भत्र्सना गर्दै यस संघले सातै प्रदेशमा टोली परिचालन गर्ने निर्णय गरिसकेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तत्कालै यस्ता गलत निर्णय सच्याई यस संघ तथा सरोकारवालाहरूसँग छलफल तथा अन्तरक्रिया गरेर उचित निकास दिन समेत यस संघ जोडदार माग गर्दछ ।’

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, नेपाल आयुर्वेद चिकित्सक संघ, सरोकारवाला आयुर्वेदका संस्था, जनप्रतिनिधि लगायतका कुनै पनि व्यक्ति तथा संस्थाहरूसँग अन्तरक्रिया, छलफल नगरी गरेको निर्णय सैह्य नहुने संघले जनाएको छ । संघले यस कार्यबाट हुने सम्पूर्ण परिणामको जिम्मेवार नेपाल सरकार तथा सातै प्रदेश सरकार हुने समेत विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया