राप्तीका डाक्टरद्वारा सामूहिक राजीनामा

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

दाङको घोराहीस्थित रहेको प्रतिष्ठानका उपकुलपति डा. संगीता भण्डारीलगायत पदाधिकारीले पटक–पटक चरम मानसिक पीडा दिएको, अपमान गर्ने गरेको भन्दै बिहीबार चिकित्सकहरूले सामूहिक राजीनामा दिएका हुन् । उपकुलपति डा. भण्डारीले बारम्बार बर्खास्त गर्ने लगायतका धम्की दिएर तनाब दिएको भन्दै २५ मध्ये २२ चिकित्सकले सामूहिक राजीनामा दिएका हुन् ।

आफूहरूमाथि अनुचित बहानामा स्पष्टीकरण सोध्ने, बर्खास्तीको धम्कीलगायत मनोबल खस्काउने खालका दबाब दिएका कारण राजीनामा दिएको चिकित्सकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । उपकुलपतिकै कारण शारिरीक तथा मानसिकरूपमा विक्षिप्त भएर काम गर्न नसक्ने अवस्थामा पुगेको भन्दै उनीहरूले राजीनामा बुझाएका हुन् ।

पछिल्लो समय केही चिकित्सकलाई अनावश्यक लान्छना लगाएर बर्खास्त गर्न खोजेको आरोप चिकित्सकहरूले लगाएका छन् । यस विषयबारे उपकुलपति प्रा.डा. खड्कालाई पटक–पटक जानकारी गराएको र काम गर्ने वातावरण बनाइदिन आग्रह गर्दा पनि बेवास्ता गरिएको चिकित्कसकहरूको आरोप छ । सोही कारण कुनै पनि चिकित्सकले काम गर्न सक्ने अवस्था नभएको भन्दै सामूिहक उनीहरूले हस्ताक्षर गरेर राजीनामा बुझाएका छन् ।

राजीनामा दिनेहरूमा फिजिसिएन डा. जीतनारायण यादव, डा. दिनेश उप्रेती, अर्थोपेडिक डा. ओम अर्याल, डा. अनिलप्रसाद यादव, डा. सागर पन्थी, रेडियोग्राफी डा. रामेश्वर देवकोटा, डा. विक्रम बुढाथोकी, एनेस्थेसियालोजिस्ट डा. सुरेन्द्र कवर, डा. राजन शाक्य, पेडियाट्रिकस डा. कृष्णहरि सुवेदी, गाइनेकोलोजिस्ट डा. वसन्त लामिछाने, सर्जन डा. ईश्वरी भुसाल, एमडीजीपी डा. अमित लाम्गाडे, डर्माटोलिजिस्ट डा. जेम महर्जन र कमिनिटी मेडिसियन डा. वर्षा मानन्धर रहेका छन् । यस्तै मेडिकल अधिकृतहरू डा. अभ्यास पोखरेल, डा. कृष्ण रिजाल, डा. गौरव आचार्य, डा. अनिल खाम, डा. धना केसी, डा. प्रितम डिसी, डा. राजेन्द्र फुलारा, डा. आयुष पौडेल उपाध्याय, डा. सुर्वण बुढा र डा. मनोज यादवले पनि राजीनामा पत्रमा हस्ताक्षर गरेका हुन् ।

डाक्टरहरूलाई बिरामी जाँचको क्रममा पनि पटक–पटक हस्तक्षेप गर्ने, मौखिकरूपमा अपमानको भाषा बोल्नेलगायतको कार्य गरेको भन्दै बिहीबार बिहानैदेखि चिकित्सकहरू आन्दोलित भएका थिए । दिउँसो प्रतिष्ठानका पदाधिकारीहरूसँग पटक–पटक वार्ताको प्रयास भए पनि सहमति हुन सकेको थिएन । बिहीबार बेलुकी त्यहाँ कार्यरत सम्पूर्ण डाक्टरहरूले सामूहिक छलफल गरी प्रतिष्ठानको मानसिक यातना सहन नसक्ने भन्दै सामूहिक राजीनामा बुझाएका हुन् ।

प्रतिक्रिया