राम जानकी विद्यालयमा भ्रष्टचार !

उदयपुर । त्रियुगा नगरपालिकामा रहेको राम जानकी मा.विका प्रधानाध्यापकमाथि आर्थिक अनियमितता गरेको आरोप लागेको छ । प्रधानाध्यापक देवनाथ चौधरी र सहयाक प्रधानाध्यापक अष्टबहादुर राईको मिलेमतोमा आर्थिक अनियमितता हुने गरेको आरोप लागेको हो ।

त्रियुगा–३ मा रहेको सो विद्यालयबाट उनीहरू आयव्यय सार्वजनक नगरेको, परीक्षा र भर्ना शुल्क लिए पनि देखाउने नगरेको र सर्टिफिकेटको समेत शुल्क लिने गरेका हुन् । आर्थिक वर्ष २०७३÷७४ को सामाजिक लेखा परीक्षणको प्रतिवेदनले पनि अनियमितता गरेको देखाएको छ ।

चौधरीले विद्यालयका नाममा सापटी एक लाख रुपैयाँ लिएर खातामा जम्मा नगरेको भेटिएको छ भने फर्निचरका लागि भन्दै ५० हजारको चेक काटेर लगेका थिए । तर, उनले त्यसको काठ पनि नल्याएको र फर्निचर पनि नल्याएको विद्यालय स्रोतले जानकारी दिएको छ । उनीहरूको बदमासी यतिमा मात्रै सिमित छैन । राज्यले दिने निःशुल्क पाठ्यपुस्तकमा समेत शुल्क लिने गरेको भेटिएको छ ।

राज्यले कक्षा १० को ऐच्छिक कम्प्युटर विषयको पाठ्यपुस्तक निःशुल्क दिए पनि अर्को दुई सय ६० रुपैयाँमा किन्न लगाएका थिए । छात्रवृतिको रकम लुकाएको, निःशुल्क पुस्तकहरू पूरा उपलब्ध नगराएको, शैक्षिक सामग्रीका लागि आएको ७४ हजार नौ सय ७० रुपैयाँले कुनै सामग्री खरिद नगरेको सालेपले आफ्नो प्रतिवेदनमा उल्लेख छ । यसैगरी, विद्यालय बन्द रहेका वेला २८ हजार ७ सयको मसलन्द खर्च देखाएको, विज्ञान सामग्रीका लागि एक लाख पचास हजार दिए पनि ३६ हजारको बिल पेस नगरेको तर विवाद भएपछि अर्को बिल ल्याएका थिए ।

विद्यालयको नाममा रहेको दुई बिघा १२ कठ्ठा जमिनलाई प्रतिवर्ष ३५ हजारले ठेक्कामा दिएको छ । तर, प्रधानध्यापक चौधरी र व्यवस्थापन समितिका अध्यक्षले विगत तीन वर्षदेखि सो जग्गाको आयव्यय देखाउन सकेका छैनन् । विद्यालय स्रोतले दिएको जानकारीअनुसार उनीहरू दुवै जनाको मिलेमतोमा सो रकम व्यक्ति प्रयोजनका लागि लगेका छन् । जग्गाको आयव्ययका बारेमा ठेकदारलाई बुझाउन बोलाउँदा पनि उनीहरूले नै आउन दिएका छैनन् ।

प्रतिक्रिया