चिकित्सा शिक्षालाई मर्यादित बनाउनुपर्छः दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले चिकित्सा शिक्षालाई व्यवस्थित र मर्यादित बनाइनुपर्ने बताएका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेको उनले स्वस्थ समाज निर्माणको लागि चिकित्सा क्षेत्र सुरक्षित हुनुपर्ने भन्दै सेवालाई प्राथमिकता दिने चिकित्सा शिक्षा नीति अहिलेको आवश्यकता भएको बताए । नेकपा निकट चिकित्सकहरूको संस्था राष्ट्रिय चिकित्सक संघ नेपाल र अखिल नेपाल प्रगतिशील चिकित्सक संघले शनिबार राजधानीमा आयोजना गरेको ‘गुणस्तरीय स्वास्थ्य सेवाका लागि सुरक्षित पेसा खुसी चिकित्सक’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले चिकित्सा क्षेत्र पूँजीवादीहरूको कब्जामा विश्वव्यापीरूपमा नराम्रोसँग जकडिएको भन्दै त्यसबाट मुक्त गर्न स्वयं चिकित्सक र यससँग सम्बन्धित व्यक्ति अग्रसर हुुनुपर्ने बताए । यसका लागि चिकित्सकहरू परिवर्तनका संवाहक भएको र यसलाई मर्यादित गराउन स्वयं उनीहरू आफँै अघि सर्नुपर्नेमा जोड दिए ।

नेकपाका महासचिव विष्णु पौडेलले चिकित्सा क्षेत्र उत्कृष्ट हुनेपर्नेमा जोड दिए । समृद्धिबिना समाजवाद निर्माण नहुने भन्दै उनले स्वस्थ समाजवादका लागि स्वास्थ्य र शिक्षा नीति उत्कृष्ट हुनुपर्ने र त्यसलाई ल्याइनुपर्ने बताए । कार्यक्रममा राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा. सन्तोष पौडेलले स्वास्थ्य र समृद्धिका लागि अभियान चलाउन जरुरी रहेको भन्दै आन्दोलन र अनसनले स्वास्थ्य शिक्षामा दीर्घकालीन सुधार नहुने बताए ।

उनले अभियानका लागि स्रोत साधनको उपलब्धता, नीतिगत व्यवस्था, सुरक्षित वातावरण आदि सबै पक्ष समेटिनुपर्ने बताए । पेशामा सुरक्षा र मनमा खुसी भएन भने गुणस्तरीय नतिजा पाउन नसकिने भन्दै उनले सबै पक्ष मिलेर चिकित्सा पेसालाई मर्यादित र सुरक्षित बनाउन लाग्नुपर्ने बताए । कार्यक्रममा डा. पुष्पमणि खरालले अहिले चिकित्सा क्षेत्र असुरक्षित हुँदै गएको भन्दै अब यसलाई सुधार गर्न सबै लाग्नुपर्ने बताए । ‘बिरामी र चिकित्सकबीचको सम्बन्धमा नै समस्या देखापरिरहेको छ । उनले भने, ‘चिकित्सकहरू बिरामी पक्षसँग डराउनुपर्ने र बिरामी पक्ष चिकित्सकसँग विश्वस्थ हुन सकिएको अवस्था छैन ।’

कार्यक्रममा नेकपा स्वास्थ्य विभाग प्रमुख राजेन्द्र पाण्डे, उपप्रमुख अञ्जना विशंखे, पूर्व स्वास्थ्य राज्यमन्त्री वंशीधर मिश्र, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका डीन प्रा.डा.जगदीश अग्रवाल, नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ लगायतले आफ्ना धारणा प्रस्तुत गरेका थिए । त्रिवि शिक्षण अस्पताल परिसरमा भएको कार्यक्रममा चिकित्सा क्षेत्रका विज्ञ, जनस्वास्थ्यकर्मी, विद्यार्थीहरूको सहभागिता थियो ।

प्रतिक्रिया