आयोगमा तीन जना सिफारिस

काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । बुधबार बसेको चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि लोक सेवा आयोग अध्यक्ष उमेश मैनाली नेतृत्वको सिफारिस समितिले तीन जनाको अन्तिम नाम टुंगो लगाएको हो ।

शिक्षा मन्त्रालय स्रोतका अनुसार समितिले एक नम्बरमा प्रा.डा. सुरेन्द्र शेरचन, दुई नम्बरमा प्रा.डा. शम्भुकुमार पहारी र तीन नम्बरमा प्रा.डा. श्रीकृष्ण गिरीलाई सिफारिस गरेको छ । उपाध्यक्षका लागि दरखास्त दिएका उम्मेदवारमध्ये व्यावसायिक कार्ययोजनाको प्रस्तुति तथा अन्तर्वार्ताका आधारमा लोकसेवा आयोगकै पद्धतिमा आधारित भएर एक, दुई र तीन नम्बरमा नाम सिफारिस भएको हो ।

सिफारिसको एक नम्बरमा डा. शेरचन मानसिक अस्पतालका पूर्व निर्देशक हुन् भने दोस्रो नम्बरमा सिफारिस परेका डा. पहारीले लामो समय वीर अस्पतालमा काम गरेका थिए । त्यस्तै तेस्रो नम्बरको सिफारिसमा परेका डा. गिरी हाडजोर्नी विशेषज्ञ हुन् । उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्व रेक्टरसमेत हुन् । उपाध्यक्ष पदका लागि आवेदन दिएका नौ जना डाक्टरमध्ये साउन २८ र २९ गते अन्र्तवार्ता प्रस्तुतीकरणपछि तीन जनाको नाम सिफारिसमा परेको हो । छनोट तीनै जनासँग समितिले २९ गते अन्तर्वार्ता लिएको थियो ।

उपाध्यक्षका लागि प्रा.डा. श्रीकृष्ण गिरी, प्रा.डा. शम्भुकुमार पहारी, प्रा.डा. सुरेन्द्र शेरचन, प्रा.डा. राजेन्द्रप्रसाद साह, प्रा.डा. रमेशचन्द्र सिंह, प्रा.डा. यहुनचन्द्र शिवाकोटी, प्रा.डा. तरुण पौडेल, डा. निलमणि उपाध्याय र प्रा.डा. पारसकुमार पोखरेलले आवेदन दिएका थिए । आवेदन दिएका ११ जना डाक्टरमध्ये दुई जनाको भने आवेदन रद्द भएको थियो । प्रा.डा. प्रमोद कुमार सर्राफ र प्रा.डा. जेएन पाण्डेय ‘हिमाली’ ले लिखितरूपमा व्यावसायिक कार्ययोजनाको प्रस्तुति तथा अन्तर्वार्ता नदिएपछि आवेदन रद्ध भएको थियो ।

मानसिक अस्पतालका पूर्व निर्देशक डा. शेरचनले पाटन अस्पतालमा आफ्नै अगुवाइमा मानसिक रोगका विषयमा अध्यापनको काम सुरु गरेका थिए । त्यस्तै उनले रसियाबाट एमबिबिएस र एमडी अध्ययन गरेका हुन् । त्यस्तै लामो समय वीर अस्पतालमा काम गरेका डा. पहारी इन्टरनल मेडिसिनका विज्ञ हुन् । अवकासपछि उनले लुम्बिनी र युनिभर्सल मेडिकल कलेजमा प्राध्यापनको कामसमेत गरेका थिए ।

उनी कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा उनका निजी चिकित्सक रहेर काम गरेका थिए । हाडजोर्नी विशेषज्ञ डा. गिरीले चिकित्सा शिक्षा ऐनअनुसार शूल्क निर्धारण समिति सदस्यका रूपमा काम गरेका थिए । हाल उनी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत रहेका छन् । गिरी शिक्षामन्त्री गिरिराजमणी पोखरेलका निकटका रूपमा चिनिन्छन् ।

समितिसमक्ष प्रस्तुतीकरण र अन्तर्वार्तामा आवेदकहरूले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष भएपछि आयोगको नेतृत्वदायी भूमिका बहन गर्ने सम्बन्धी सोचपत्र तथा चार वर्षे व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरणसमेत दिएका थिए । खुला प्रतिस्पर्धाबाट उपाध्यक्ष छनोट गर्न समितिले गत एकदेखि १५ साउनसम्म म्याद दिएर आवेदन माग गरेको थियो । त्य

सअघि आवेदन हालेका ६ जनाको आवेदन रद्ध गर्दै आयोगले दोस्रो पटक आवेदन मागेको थियो । गत चैत चार गते बसेको आयोगको पहिलो बैठकले लोकसेवा आयोगका अध्यक्ष मैनालीको संयोजकत्वमा आयोगको कार्यकारी अधिकार रहने उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको थियो । राष्ट्रिय चिकित्सा शिक्षा ऐनअनुसार सिफारिस समितिमा लोक सेवा आयोगको अध्यक्ष संयोजक रहने व्यवस्था छ ।

प्रतिक्रिया