घिमिरे र श्रेष्ठ प्रतिभा नक्षत्र

काठमाडौं । ‘प्रतिभा नक्षत्र २०१९’ को उपाधि मुस्कान घिमिरे र मुस्कान श्रेष्ठले जितेका छन् । नेपालको झल्को दिने गरी बेलायतको चाल्र्टन मेरिडियन स्पोर्टक्लबमा आयोजित उक्त कार्यक्रममा स–साना बालबालिकाले विभिन्न नेपाली पहिरनमा तोते अंग्रेजी लवजमा नेपालीमा आफ्नो परिचय दिँदै बुद्ध नेपालमा जन्मिएको बताएपछि उपस्थित धेरैका आँखा रसाएका थिए ।

बेलायती नेपाली समुदायमा बर्सेनि थुप्रै कार्यक्रम गर्दै आएका छन् । यसैक्रममा ‘प्रतिभा नक्षत्र’ कार्यक्रम गरिएको हो । यो कार्यक्रम बेलायतमा हुर्किरहेका बालबालिकालाई समेट्दै नेपालका हरेक जात, धर्म, कला संस्वृmतिसहित सिंगो देशको प्रतिनिधित्व गर्ने गरिएको आयोजकले जिकिर गरेको छ ।

विदेशमै जन्मिएर त्यहीँ हुर्किरहेका बालबालिकाले नेपालको वर्णन गरिरहँदा अविभावक र उपस्थित अन्य व्यक्ति भावुक हुनु स्वभाविक थियो । प्रवासमा रहे तापनि नेपाली भाषा, भेषभूषा, कला, संस्कृति, साहित्य, परम्परा र नेपालीपनलाई जोगाई राख्न साथै यसलाई युवापुस्तामा हस्तान्तरण गरी नेपाली समुदायलाई एकढिक्का बनाउने उद्देश्यले राजेन्द्र खसको परिकल्पना र कलाकार मनीष श्रेष्ठको संयोजनमा ‘प्रतिभा नक्षत्र’ सन् २०१७ मा स्थापना गरिएको हो ।

संस्थाकी अध्यक्ष सिमी पुनको सभापतित्वमा बेलायतका लागि नेपाली राजदूत डा.दुगाबहादुर सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, विशिष्ठ गायकद्वय दीप श्रेष्ठ र योगेश्वर अमात्य, ग्रिनबिच बरोका लेबर पार्टी सांसद म्याथ्यु पेनिकुक, ग्रिनबिच काउन्सिलका डेप्युटी लिडर डेभिड गार्डनरलगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो ।

सो अवसरमा विभिन्न व्यापारिक, सूचना, स्वास्थ्य, नेपाली खाना, नेपाली साहित्यिक घर, प्रतिभा नक्षत्र घरका प्रदर्शनीलगायतका स्टल राखिएको थियो । उक्त प्रतिस्पर्धामा बाल र युवा गरी २१ जनाले भाग लिएका थिए । प्रतियोगितामा बाल विधातर्फ पहिलो, दोस्रो र तेस्रो क्रमशः मुस्कान श्रेष्ठ, नित्याश्री खरेल र माया इबिरे वारिका भए । उनीहरुले क्रमशः नगद ३ सय, २ सय र १ सय पाउन्ड नगदसहित विभिन्न उपहार प्राप्त गरे । त्यस्तै बाल विधामै बेस्ट पर्फर्मेन्समा आर्या अधिकारी र बेस्ट नृत्य निश्चलता राईले क्रमशः ५० पाउन्डसहित प्रमाणपत्र र मायाको चिनो प्राप्त गरे ।

युवा विधातर्फ पहिलो, दोस्रो र तेस्रो मुस्कान घिमिरे, निश्चल गुरुङ र रूपा चाम्लिङ राई भई क्रमशः पाँच सय, तीन सय र दुई सय पाउन्ड नगदसहित पेन्टिङलगायतका उपहार तथा ट्रफी र प्रमाणपत्र हात पारे ।

बालबालिका तथा युवायुवतीको प्रतिभालाई प्रोत्साहन गर्न कम उमेरमा पुस्तक लेख्ने बालप्रतिभा निशान्त कार्कीलाई सम्मानपत्र र युवातर्पm बेस्ट नृत्यमा एरोन गुरुङले ५० पाउन्ड नगद प्राप्त गरे । सोही अवसरमा गायक दीप श्रेष्ठ र गायिका मिरा राणालाई चित्रकार निमा दोर्जेद्वारा बनाइएको पोट्रेट प्रदान गरिएको थियो ।

उक्त प्रतिस्पर्धाको निर्णायकमा वरिष्ठ गायिका मिरा राणा, गायिका शर्मिला बर्देवा, संचारकर्मी श्रद्धा अर्याल, नृत्यनिर्देशक शान्तकुमार थापा मगर रहेका थिए ।

प्रमुख अतिथि, विशेष अतिथिहरूबाट कार्यक्रम निकै प्रभावकारी र उद्देश्यमूलक भएको विचार व्यक्त गरिएका थिए । त्यस्तै गायक योगेश्वर अमात्यले नेपाली कला संस्कृति प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको यस्ता किसिमका कार्यक्रमलाई नेपाली दूतावासबाट आर्थिक सहयागे हुनुपर्ने र यदि आर्थिक सहयोग गर्न नसके राजदूत आफैँ टिकट काटेर उपस्थित हुनुपर्ने जिकिर गरे ।

विजया दाहाल भण्डारीको संयोजन रहेको प्रतिभा नक्षत्र २०१९ को पहिलो चरणको कार्यक्रम संस्थाका महासचिव लक्ष्मण गुरुङले संचालन गरेका थिए । त्यस्तै, दोस्रो चरणको प्रतियोगितात्मक कार्यक्रम सुर्य गुरुङ र सोफिया महर्जन कार्कीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया