पाँचथरमा उपनिर्वाचन तात्न थाल्यो

पाँचथर । पाँचथरमा उपनिर्वाचन तात्न थालेको छ । आ आफ्नो पाटीबाट उमेद्वारी छान्न र रणनिती बनाउन पार्टीलाइ भ्याइ नभ्याइ छ । नेपालका १८ राजनीतिक दलसँगको परामर्शका आधारमा निर्वाचन आयोगले जनप्रतिनिधि रिक्त रहेको स्थानमा मंसिर १४ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । त्यसै अनुरुप पाँचथरका दलहरु पनि आन्तरिक रुपमा उपनिर्वाचनको तयारीमा जुटेका छन् ।

जिल्लास्थित केही सानादेखि ठूला दलसम्मले पार्टीका तर्फबाट हुन सक्ने सम्भावित उम्मेद्वारदेखि गठबन्धनका सम्भावित दलको सवालमा पनि आन्तरिक छलफल गर्दै आएकाले बजार तात्न थालेको छ । कतिपय पार्टीका सम्भावित उमेद्वारलाइ निर्वाचन अगावै बधाइ दिन थालको पाइन्छ । राजनैतिक पेसामा संलग्न रहेकाहरुलाइ चासो राख्दा अनौपचारिक र औपचारिक दुवै ढंगले दलहरुले दलभित्र निर्वाचन सम्बन्धि छलफललाई अघि बढाएका हुन् ।

उपनिर्वाचन हुने मिति पनि ४ महिना पूरा छैन । यसले गर्दा निर्वाचन आयोगले निर्वाचन कार्यालयमार्फत निर्वाचनसँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गरे लगत्तै निर्वाचन केन्द्रीत गतिविधिलाई तत्काल सञ्चालन गर्ने मनस्थितीमा दलहरु पुगेका छन् । दशैं र तिहार जस्ता चाड बीचमा परेको हुनाले दलहरुलाई चाड अगाडि र पछाडि निर्वाचनको तयारी समय कमनै छ । उपनिर्वाचन नै भएपनि प्रतिष्ठाको सवाल गाँसिएकोले दलहरुले यो निर्वाचनलाई निकै महत्वकासाथ लिएका छन् ।

जिल्लामा फाल्गुनन्द गाउँपालिका अध्यक्षसहित हिलिहाङ गाउँपालिका वडा नम्बर– ७ मा वडाध्यक्ष र फिदिम नगरपालिकाको वडा नम्बर – १ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुनेछ । यसरी एक गाउँपालिका अध्यक्ष र दुई वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा चर्को प्रतिष्पर्धा नेकपा र नेपाली कांग्रेसबीच हुने स्पष्ट छ । तर १४ असार २०७४ मा भएको स्थानीय तह निर्वाचनको मत परिणामलाई पनि एउटा आधार मान्ने हो भने फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष र फिदिम नगरपालिका वडा नम्बर – १ को वडाध्यक्ष पदका लागि दलीय गठबन्धन आवश्यक हुने देखिएको छ ।

दुई ठूला दल नेकपा र कांग्रेसलाई एक्लाएक्लै लडेर निर्वाचनमा नजिता आफ्नो पक्षमा पार्न निक्कै चुनौतीपूर्ण हुने देखिन्छ । यद्यपी, यी दुवै ठाउँमा नेपाली कांग्रेसका उम्मेद्वारले यसअघि भने गठबन्धन बिनै निर्वाचन जितेका थिए । हिलिहाङ गाउँपालिकाको वडा नम्बर– ७ मा भने तत्कालिन नेकपा एमालेका उम्मेद्वारले निर्वाचन जितेका थिए । दलहरुलाई एकातिर यसअघि भएको निर्वाचनमा जितेका स्थानलाई सुरक्षित गर्नु छ भने अर्कातिर नजितेका ठाउँमा जित दर्ता गर्नुछ ।

के भन्छन् ४ दलका ४ नेता ?

नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव होम जबेगू (सूर्यमान) ले अनौपचारिक छलफलमा फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदमा नेताहरु बीरबहादुर कुरुम्बाङ यसअघि अध्यक्ष पदका उम्मेद्वार, करुणा राई यसअघि उपाध्यक्ष पदका उम्मेद्वार र देउकुमार आङ्देम्बे साविक आङ्सराङ गाविसका पूर्व अध्यक्षको नाम आएको बताए । उनका अनुसार यीनै नेताहरु मध्ये एकजना उम्मेद्वार हुन सक्छन् ।

नेपाली कांग्रेसका जिल्ला सचिव बृजहाङ आङ्देम्बेले पार्टीले सम्भावित फाल्गुनन्द गाउँपालिका अध्यक्ष पदका उम्मेदवारको विषयमा अनौपचारिक ढंगले पहिलेदेखि नै छलफल गर्दै आएको बताए । उनले आफू पनि गाउँपालिका अध्यक्षको उम्मेद्वार हुन चाहेको भन्दै हालसम्म पार्टीका महासमिति सदस्य रामराज आङ्देम्बे, नेता एकराज नेम्बाङ, महाधिवेशन प्रतिनिधि धर्मेन्द्रबिक्रम नेम्बाङ, आमन्त्रित जिल्ला सदस्य मणिचन्द्र चेम्जोङ र महाधिवेशन प्रतिनिधि वीरेन्द्रकुमार खड्काको नाम आएको बताए ।

‘फाल्गुनन्दमा सांगठानिक रुपमा कांग्रेस राम्रो हो, एक दुई वटा वडा बाहेक । तर विपक्षीलाई कमजोर ठान्नु हुन्न, प्रतिष्पर्धा हुन्छ,’ उनले भने, ‘त्यति धेरै चुनौतीचाँही ठानेका छैनौं । वर्तमान परिप्रेक्ष्यमा फाल्गुनन्दवासी जनताले कांग्रेसप्रति भरोसा गरेका छन् ।’ फिदिमको वडा नम्बर– १ सहित हिलिहाङको वडा नम्बर– ७ मा पनि हाम्रो प्रतिष्पर्धा हुने र लोकतन्त्रमा विश्वास राख्ने पार्टीसँग कांग्रेसको जहिले पनि सहकार्य र गठबन्धन हुने आङ्देम्बे बताए ।

समाजबादी पार्टी नेपालका जिल्ला अध्यक्ष लक्ष्मण लावतीले पार्टी निर्वाचनमा होमिन लागेको भन्दै जति नै मत ल्याएपनि कँही कोहीसँग गठबन्धन नगर्ने बताए । थोरै मत आएपनि पहिचानवादीहरुको शक्ति थाहा पाउने भन्दै निर्वाचनमा कसैसँग बार्गेनिङ नगर्ने बताए । जिल्लाको फाल्गुनन्दमा यसअघिको निर्वाचनको मत परिणामलाई हेर्ने हो भने समाजबादी पार्टीको स्थिती तेश्रो हो । यसले गर्दा समाजबादीको मत त्यहाँ निर्णायक बन्न सक्ने देखिन्छ । तर फिदिम नगरपालिका वडा नम्बर १ र हिलिहाङ – ७ मा उक्त पार्टीको जनमत त्यति छैन ।

यता राप्रपा अध्यक्ष जगत थापा मगरले भने फिदिम नगर.पालिका. – १ को वडाध्यक्ष पदमा कांग्रेसले राप्रपालाई सहयोग गर्ने र फाल्गुनन्द गाउँपालिका अध्यक्ष र हिलिहाङ गाउँपालिकाको वडा नम्बर – ७ को अध्यक्ष पदमा कांग्रेसलाई राप्रपाले सहयोग गर्ने प्रस्तावमाथि पार्टीभित्र बहस भइरहेको बताए । उनले कांग्रेसले उक्त प्रस्ताव स्वीकारेको अवस्थामा गठबन्धन हुने भन्दै अस्वीकार गरे । अन्य साना दलहरुसँग गठबन्धनमा चुनाव लड्ने विकल्पमाथि छलफल पनि भएको बताए ।

के छ स्थिती

१४ असार २०७४ मा भएको स्थानीय तह निर्वाचनमा फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेस उम्मेद्वार अमरकुमार नेम्वाङ निर्वाचित भएका थिए । जिल्ला निर्वाचन कार्यालय पाँचथरले प्रकाशन गरेको स्थानीय तह निर्वाचन २०७४ एक झलक पुस्तिकामा उल्लेख भए अनुसार नेम्वाङले ४,१६३ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्धन्द्धी तत्कालिन नेकपा एमालेका अध्यक्ष पदका उम्मेद्वार बीरबहादुर कुरुम्बाङले ३३६७ मत प्राप्त गरेका थिए । अध्यक्ष पदका यी दुई उम्मेद्वारको मतान्तर ७९६ थियो ।

तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेद्वार ठाकुरसिंह नेम्वाङले ७४४ मत प्राप्त गर्दा तत्कालिन संघीय समाजवादी फोरम (हाल समाजवादी पार्टी नेपाल) का रामकुमार नेम्वाङले ४९०, राष्ट्रिय जनमुक्ति पार्टीका जीतेन चेम्जोङले ३११ र राप्रपाका कमलबहादुुर चेम्जोङले २३४ मत प्राप्त गरेका थिए । यसअघि अघिल्लो स्थानीय तह निर्वाचनमा तत्कालिन तीन ठूला दल (हाल दुई दल) बाहेक साना दललाई १०३४ मत गएको देखिन्छ ।

यद्यपी तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको सन्दर्भमा दुवै पार्टीका अध्यक्ष पदका उम्मेद्वारको मत जोड्दा पनि ४१११ मत देखिन्छ । त्यसो गर्दा पनि कांग्रेसको अध्यक्ष पदका उम्मेद्वारले प्राप्त गरेको मत नै ५२ मत बढि देखिन्छ । यो तथ्यलाई सामान्य ढंगले विश्लेषण गर्दा पनि फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदको चुनावी भीडन्त निक्कै कडा हुने आंकलन गर्न सकिन्छ ।

यसका लागि कांग्रेस र नेकपाले साना दललाई गठबन्धनमा जोडेर जानु जितका लागि हितकर हुने देखिन्छ । किनभने अघिल्लो निर्वाचनको परिणामलाई हेर्दा साना दलहरु नै ठूला दलका लागि जितको ‘चाबी’ बन्ने देखिन्छ । यता जिल्लाकै सर्वाधिक जनसंख्या भएको फिदिम नगरपालिका वडा नम्बर – १ को अध्यक्ष पदमा पनि फाल्गुनन्द गाउँपालिकाको अध्यक्षको चुनावी प्रतिष्पर्धा भन्दा कम नहुने स्थिती छ ।

यसअघि वडा अध्यक्ष पदमा तत्कालिन कांग्रेस उम्मेद्वार हर्कप्रसाद तामाङले ५ मतको झिनो मतान्तरले तत्कालिन नेकपा एमालेका उम्मेद्वार गजाधर भट्टराईलाई पराजित गरेका थिए । अध्यक्ष पदमा मोक्तानले ७७४ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी भट्टराईले ७६९ मत प्राप्त गरेका थिए । यी दुई उम्मेद्वारबीच २०५४ सालमा भएको स्थानीय निकाय निर्वाचनमा तत्कालिन फिदिम नगरोन्मुख गाविसको वडा नम्बर – १ को अध्यक्ष पदमा पनि ६ मतको झिनो मतान्तर थियो । त्यसबेला भट्टराईले ३३६ मत पाउँदा मोक्तानले ३४२ मत पाएर वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
अब हुने उपनिर्वाचनमा पनि हालै स्वर्गवासी भएका मोक्तानका पटक पटकका अति निकटतम प्रतिद्धन्दी भट्टराईलाई वडाध्यक्ष पदका लागि चुनावी मैदानमा उतार्ने संकेत नेकपाको छ । भट्टराई मैदानमा उत्रिँदा कांग्रेसले कस्तो उम्मेदवारलाई मैदानमा उतार्ला ? त्यसमा आंकलनसम्म गर्न सकिएला । अनि तत्कालिन नेकपा माओवादी केन्द्र ( हाल नेकपा) को वडाध्यक्षका उम्मेद्वार सागर नेम्वाङले पनि १३५ मत पाएका थिए । यसरी तत्कालिन एमाले र माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेद्वारले प्राप्त गरेको मतलाई जोड्दा ९०४ मत देखिन्छ ।

यसले गर्दा गठबन्धन कांग्रेसको लागि निर्विकल्पको स्थिती छ । गठबन्धनमा जाँदा राप्रपाको विकल्प देखिन्न । राप्रपाका उम्मेद्वार जगत थापा मगरले यसअघिको निर्वाचनमा २०९ मत प्राप्त गरेका थिए । अब हुने उपनिर्वाचनमा गठबन्धनपछि कांग्रेसलाई मात्रै राप्रपाको मत जाने हो भने कांग्रेस उम्मेद्वारको संघर्षपूर्ण जीतको सम्भावना आंकलन गर्न सकिन्छ । तर राप्रपाले भने फाल्गुनन्दमा गाउँपालिका अध्यक्ष र हिलिहाङ – ७ मा वडाध्यक्ष पदमा कांग्रेसलाई सहयोग गर्ने र फिदिम – १ मा राप्रपालाई कांग्रेसले गठबन्धनमा गएर सहयोग गर्ने चाहना राखेको छ ।

यदी यसो भएको अवस्थामा राप्रपाले यसअघि अध्यक्ष पदका उम्मेद्वार जगत थापा मगरलाई नै उठाउने सम्भावना रहन सक्छ । तर कस्को पल्लाभारी हुने हो, सम्भावनाको आंकलन गर्न तत्काल सकिन्न । राप्रपाले गर्ने भनिएको प्रस्ताव कांग्रेसले नमानेको र नेकपाले मानेको अवस्थामा भने कांग्रेसले हार बेहोर्नु पर्ने अवस्था आउन सक्छ । हिलिहाङ – ७ मा भने नेकपा कांग्रेसभन्दा निक्कै बलियो देखिन्छ । तत्कालिन नेकपा एमालेका अध्यक्ष पदका उम्मेद्वार तीर्थराज तिम्सिनाले ७१९ मत पाउँदा कांग्रेस उम्मेद्वार डिल्ली सुवेदीले ४९९ मत पाएका थिए ।

त्यहाँ माओवादी केन्द्रको पनि केही मत छ । राप्रपाका वडाध्यक्ष पदका उम्मेद्वार तुलप्रसाद पन्धाक लिम्बूले ५३ मत र माओवादीले वडाध्यक्षमा सहयोग गरेको तत्कालिन संघीय समाजवादी फोरम नेपालका वडाध्यक्ष पदका उम्मेद्वार धिरेन यक्पाङदेनले ४२ मत पाएका थिए । यसरी यसअघिको मतलाई मात्रै विश्लेषण गर्ने हो भने त कांग्रेसलाई गठबन्धनमा जाँदा पनि त्यति फाइदा हुने मत भएको पार्टी देखिन्न । यहाँ नेकपालाई जीतका लागि त्यतिधेरै चुनौती नहुन सक्छ । चुनावि मैदानमा उत्रे पछिमात्र थाहा हुने मतदाहरुको भनाइ रहँदै आएको छ ।

प्रतिक्रिया