काठमाडौं । डेंगु संक्रमण बढ्दै गएको पाइएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले निकालेको तथ्यांकअनुसार पाँच वर्षअघिको तुलनामा गएको आर्थिक वर्षमा ११ गुणाले बढेको हो । तथ्यांकअनुसार गत आर्थिक वर्षमा देशका विभिन्न ठाउँमा गरी तीन हजार चार सय २५ जनामा डेंगुको संक्रमण भएको थियो भने पाँच वर्षअघि डेंगुको बिरामी तीन सय दुईजना भेटिएका थिए ।
महाशाखाका अनुसार पछिल्लो तीन वर्षमा डेंगुको संक्रमण क्रमशः बढ्दै गएको हो । आर्थिक वर्ष २०७३-०७४मा एक हजार पाँच सय २७ जना, आर्थिक वर्ष २०७४-०७५ मा दुई हजार एक सय ११ जना र आर्थिक वर्ष २०७५-०७६ मा तीन हजार चार सय २५ जनामा डेंगुको संक्रमण भेटिएको छ । आर्थिक वर्ष २०७१÷०७२ मा तीन सय दुईजनामा भेटिए पनि आर्थिक वर्ष २०७२-०७३ मा डेंगु संक्रमितको संख्या केही घटेको थियो उक्त वर्ष एक सय ३४ जना मात्रै डेंगु संक्रमित भेटिएका थिए ।
गत ३० वैशाखमा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगुको पहिलो केस भेटिएसँगै यस चारमहिनाको अवधिमा भने धेरै भेटिएको हो । डेंगुले हालसम्म कसैको ज्यान नगएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पछिल्लो आर्थिक वर्षमा डेंगुको महामारीको रूप लिएको प्रदेश नं १ मा सबैभन्दा बढी केश तीन हजार एक सय ५२ जनामा संक्रमण भएको तथ्यांक छ । सबैभन्दा कम कर्णाली प्रदेशमा देखिएको छ ।
तथ्यांकअनुसार गत आर्थिक वर्षमा कर्णाली प्रदेशमा एकजनामा मात्रै डेंगु भेटिएको थियो । बढी भेटिने दोस्रो नम्बरमा प्रदेश नं ३ रहेको छ जसमा एक सय २६ जनामा डेंगु संक्रमण भएको महाशाखाले निकालेको रिपोर्टमा रहेको छ । पछिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी डेंगु भेटिएको जिल्ला सुनसरी रहेको छ । त्यहाँ तीन हजार २५ जनामा डेंगु देखापरेको छ ।
कुन प्रदेशमा कति
गत आर्थिक वर्षमा प्रदेश नम्बर १ मा सबैभन्दा बढी तीन हजार एक सय ५२ रहेको छ । प्रदेश नम्बर २ र सुदूरपश्चिम प्रदेशमा बराबरी १२ जनामा देखिएको थियो । त्यस्तै प्रदेश ३ मा एक सय २६ लाई देखिएको थियो भने गण्डकी प्रदेशमा २६ जनामा भेटिएको थियो । प्रदेश नम्बर ५ मा गत आर्थिक वर्षमा पहिलाको भन्दा धेरै घटेको पाइएको छ । गत आर्थिक वर्षमा जम्मा ९६ जनामा देखिएको थियो । त्यसभन्दा अघिल्लो वर्र्षमा आठ सय ३६ जनामा देखिएको थियो । त्यस्तै सबैभन्दा कम कर्णाली प्रदेशमा गत आर्थिक वर्षमा एक जनामा देखिएको थियो ।
प्रतिक्रिया