सेना प्रहरी खोज्दै बिरामी

बैतडी । जिल्लामा कोही बिरामी हुनेबित्तिकै आफन्तहरू सेना प्रहरीको सहयोग माग्न जानुपर्ने बाध्यता यहाँका बासिन्दालाई रहेको छ । रगत आवश्यक पर्ने बिरामीका आफन्त सबैभन्दा पहिला डाक्टरकोमा भन्दा पनि सेना र प्रहरीकोमा पहिला पुग्ने गरेका छन् ।

जिल्लामा रगतको अभाव रहेको र ब्लड बैंक नहुँदा बिरामीलाई सो समस्या आइपरेको हो । जिल्ला अस्पताल बैतडीमा भर्ना हुने हरेक बिरामीलाई रगत चाहिएमा सेना वा प्रहरीका जावन गुहार्न पर्ने बाध्यता रहेको छ । शुक्रबार गंगादेवी धामीले पनि यस्तै पीडा भोग्नु प¥यो । उपचारका लागि दार्चुलाबाट बैतडी अस्पताल पुगेकी गंगादेवी स्वास फेर्न नसकेर अस्पतालको बेडमा छटपटाइरहेकी थिइन । तर, उनका आफन्त भने बिरामी हेर्न छाडेर प्रहरी कार्यालय पुगेका थिए ।

डाक्टरका अनुसार गंगादेवीको शरीरमा २.२ ग्राम प्रतिशत होमोग्लोबिन थियो । औसत महिलामा होमोग्लोबिनको मात्रा ११.५ देखि १६ ग्राम प्रतिशत हुनुपर्नेमा कम भएपछि उनलाई तत्काल रगत आवश्यक थियो । गंगादेवीलाई डाक्टरले तुरुन्त रगत चाहियो भनेपछि बिरामीका आफन्त दगुर्दै जिल्ला प्रहरी कार्यालय पुगे । उनले प्रहरी जवान राजेन्द्रसिंह लोथ्याललाई लिएर अस्पताल पुगे । लोथ्यालले रगत दिएपछि सोही रगत बिरामीलाई दिइएको थियो ।

जिल्ला अस्पताल बैतडीबाट रगतका लागि बिरामीका आफन्त दैनिकजसो हारगुहार माग्न आउने गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी इन्सपेक्टर दीपक पातलीले बताए । प्रहरीका अनुसार उपलब्ध भएका रगतका ग्रुपअनुसार आपूmहरूले दिने गरेको जानकारी दिए । बैतडी अस्पतालमा सुत्केरी हुन आउने महिलाको अत्याधिक रक्तश्राव हुँदा रगतका लागि स्वास्थ्यकर्मी आत्तिनु पर्ने अवस्था छ । सुत्केरी र रक्त अल्पता भएका बिरामी बचाउन सेना र प्रहरीलाई गुहार्नुको विकल्प नभएको जिल्ला अस्पताल बैतडीका ल्याब असिसटेन्ट चन्द्र डोबालले बताए । रगत नपाइने हुँदा जिल्लाका अधिकांश सुत्केरी जिल्ला बाहिर जाने गरेका छन् ।

आ.व २०७५÷२०७६ मा जिल्ला अस्पताल बैतडीमा सुत्केरी भएका महिलामध्ये अत्याधिक रक्तश्राव भएका पाँचजनालाई नेपाली सेना र नेपाल प्रहरीले रगत दिएपछि ज्यान जोगिएको जिल्ला अस्पताल बैतडीले जानकारी दिएको छ । २०४८ सालमा स्थापना भएको जिल्ला अस्पताल बैतडीमा ब्लड बैंक छैन । बैतडीको जनसंख्या दुई लाख ५० हजार रहेको छ । यो मध्ये ५१ प्रतिशत महिलाको जनसंख्या छ ।

नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण सन् २०१६ को प्रतिवेदनअनुसार बैतडीलगायत सुदूरपश्चिममा प्रजनन् उमेरका महिलामध्ये ३९.३ प्रतिशतमा रक्त अल्पता रहेको तथ्यांक छ । जन्मेको ६ महिनादेखि ५९ महिनासम्मका बालबालिका मध्ये ५० देखि ५३ प्रतिशतमा कुनै न कुनै किसिमको रक्त अल्पता रहेका स्वास्थ्य सर्वेक्षणले देखाएको छ । आम सर्वसाधारणले रगत दिन नमान्दा सेना, प्रहरी र स्वास्थ्यकर्मीले रगत दिएर सुत्केरी बचाउने काम भइरहेको छ । यो वर्ष सुदूरपश्चिम प्रदेश सरकारको पहलमा जिल्ला अस्पताल ब्लड बैंक स्थापना गर्न उपकरण आउन लागेको जिल्ला अस्पताल बैतडीका डा. जगदीशचन्द्र विष्टले जानकारी दिए ।

प्रतिक्रिया