देवघाटमा भक्तजनको भीड

चितवन । पवित्र तीर्थस्थल देवघाट धाममा साउनको पहिलो सोमबार आज स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आइतबार देखिनै देवघाट आएर रात बिताइ बिहान सबेरै स्नान र पूजापाठ गर्ने ठूलो सङ्ख्यामा रहेका छन् ।देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार बिहान सबेरैदेखि नदीमा स्नान गर्ने र मन्दिरमा पूजापाठ गर्नेको भीड लागेको हो ।

पानीमा सम्भावित दुर्घटना रोक्नका लागि बोटेको उद्धार टोली तैनाथ गरिएको, सुरक्षाको प्रबन्ध मिलाइएको, प्राथमिक स्वास्थ्य टोली र एम्बुलेन्स तयारी अवस्थामा राखिएको पौडेलले जानकारी दिए । तीन जिल्लाको सङ्गमस्थल देवघाट धाममा साउनको सबै सोमबार भक्तजन आउने गर्दछन् ।

पहिलो र अन्तिम सोमबार यो सङ्ख्या बढी हुने गर्दछ । मुख्य गरी हिन्दू संस्कारअनुसार साउन महीनालाई वर्षकै सबैभन्दा चोखो महीनाका रूपमा लिने गरिएकाले यो महीनाभर श्रद्धालुले चोखो भएर विभिन्न पूजा आराधना गरेर विशेष रूपमा मनाउँछन् । देशका विभिन्न भागका साथै भारतबाट समेत भक्तजन यहाँ आउने गर्दछन् । पहेँलो बस्त्र लगाएर खाली खुट्टामा समेत बोलबम भन्दै भक्तजन आएका छन् ।

प्रतिक्रिया