राउतको बायोपिक बन्दै

काठमाडौं । केही समयअघिसम्म पृथक्तावादी अभियानबाट मूलधारको राजनीतिमा डा. सिके राउतको बायोपिक बन्ने भएको छ । जनमत पार्टीका संयोजकसमेत रहेका राउतको जीवनीमा आधारित ‘डा. सिके राउत’ नामक उक्त चलचित्रको कथा तथा निर्देशन सन्तोष शाहले गर्दैछन् ।

राउतको भूमिकामा भोजपुरी अभिनेता परदेशी शाहले खेल्ने तय भएको छ । एसपी खरेलका नाममासमेत परिचित शाहले यसअघि भोजपुरी चलचित्र ‘एसपी खरेल’, ‘जय मधेसी’ ‘प्यार किया तो डरना क्या’, ‘दिवाना २’ लगायतका चलचित्रमा काम गरिसकेका छन् । नेपाली, भोजपुरी र हिन्दी भाषामा बन्ने उक्त चलचित्र घोषणा समारोहमा नेता राउतको समेत उपस्थिति रहेको थियो ।

डेढ करोडको लगानीमा बन्न लागेको उक्त चलचित्रमा विशाल पहरी, पुकार भट्टराई, ध्रुव कोइराला, किरण थापालगायतका कलाकारको मुख्य भूमिका रहने निर्माण पक्षले जनाएको छ ।

भदौबाट छायांकनमा जाने तयारीमा रहेको उक्त चलचित्र जनकपुर, वीरगञ्ज, काठमाडौंलगायतका स्थानमा छायांकन हुने निर्देशक शाहले जानकारी दिए ।

प्रतिक्रिया