द्वन्द्वको यथार्थ चर्चा

देश निर्माणको कार्य कुनै एक व्यक्तिको प्रयासले मात्र पूर्ण हुँदैन । देशमा शासन व्यवस्था परिवर्तन हुन जनताको मनमा चेतना छाउनुपर्छ । त्यस अभियानका लागि सचेत समाजसेवी र राजनीतिक कार्यकर्ता होमिएका हुन्छन् । त्यस्तै, नेपालको राजनैतिक, आर्थिक र सांस्कृतिक परिवर्तनका निम्ति लाग्ने एक योद्धा हुन्, गंगाबहादुर लामा ‘कोसिस’ । उनको हालको अवस्था भनेको एउटा राजनीतिक शुभचिन्तकको मात्र हो ।

‘दशवर्षे जनयुद्ध स्मृतिका डोबहरू’ उनको ०५२–०६२ सम्मको अनुभवमा आधारित संस्मरणात्मक पुस्तक हो । यो पुस्तक सहिद र बेपत्ता स्मृति प्रतिष्ठानले प्रकाशन गरिदिएको हो । ०७६ वैशाखमा दोस्रो संस्करणका रूपमा प्रकाशित यस पुस्तक आवरणबाहेक १३६ पेजमा फैलिएको छ । महान् जनयुद्धका सहिद, बेपत्ता, घाइते तथा अपांगहरूप्रति सादर समर्पित गरिएको यो पुस्तक दोस्रो संस्करणमा मोहन वैद्य ‘किरण’ ले भूमिका लेख्नुभएको छ । त्यसैगरी, माइला लामाको प्रथम संस्करणको भूमिका र जगदिश घिमिरे, राजन मुकारुङ साम्तेन भुटियाका संक्षिप्त पुस्तक प्रतिक्रियासमेत यसमा समेटिएका छन् । त्यसैगरी, प्रथम र द्वितीय संस्करणको प्रकाशकीय पनि निकै चोटिलो खालको रहेको छ ।

लेखकले आफ्नो संस्मरणमा राजनीतिसँग साक्षात्कार भएको सन्दर्भलाई ०३६ सालबाट जोडेका छन् । ०३६ सालबाट राजनीतिलाई आफूले अंगीकार गरेको सूचना दिएका छन् भने उनले सम्प्रतिमा पूर्वनेकपा (माओवादी) भनेबाट अत्यन्त गहन भाव यहाँ लुकेको छ । ४० वर्ष लामो राजनीति यात्रामा कसरी सहभागिता जनाए यहाँ प्रष्ट ढंगले उल्लेख गरेका छन् । एकातिर माध्यमिक शिक्षा पढेको विषय उल्लेख गर्नु र शिक्षा भनेको ठाउँमा अनौपचारिक भन्नुले लेखकको आफूलाई महत्व नदिने वा सामान्य ठान्ने प्रवृत्ति राम्ररी झल्किन्छ । परिचय र चिनजान दिनेश शर्माबाट भएपछि राजनीति यात्रा थालेको जस्तो लागे पनि साँच्चै उनी जब टीका शम्शेरले भनेको शब्दबाट झस्के र मुखामुख गरे उनको मनमा समेत फरक आँधी गएको अनुभूत हुन्छ । उनले भनेका छन्, ‘राणाको थिचोमिचो र हेपाहा सामन्ती चिन्तनले पनि मेरो मनभित्र विद्रोही स्वभावको बिजारोपण गरेजस्तो लाग्छ ।’ (पृ. २६)

यस पुस्तकमा लेखक लामाले ‘राजनीतिसँग साक्षात्कार’, ‘जनयुद्धको सेरोफेरो’, ‘पूर्णकालीन कार्यकर्ता’, ‘प्रचण्डसँग पहिलो भेट’, ‘प्रथम वार्षिकीमा जनयुद्ध’ जस्ता अत्यन्त महत्वपूर्ण उपशीर्षकहरू दिएर मिहिनेत साथ आफ्नो मात्र विषय नजोडेर आफूजस्तै इमान्दार प्रयास गर्ने राजनीतिक, सांगठनिक व्यक्ति–व्यक्तित्वको र राजनीतिक यात्रासमेत सिलसिलाबद्ध ढंगले उल्लेख गरेका छन् ।

पूर्व–पश्चिम लडेका साथीको सम्झना गर्दै, महान् सहिदले बगाएको रगतलाई खेर जान दिनु हुँदैन भन्ने अठोट गर्दै र क्रान्तिकारी ऊर्जालाई गति दिँदै अगाडि बढिरहे । (पृ. ४३) लेखकले आफ्नो राजनीति यात्रालाई निजी जीवनको सुखदुःखका रूपमा नभई इमान्दार रूपमा वर्गीय प्रेमका निम्ति लडेको स्पष्ट पारेका छन् । बाटामा भेटिएका साथीभाइहरू झन् जोशिला देख्दा मनमा ऊर्जा भरिएको कुरासमेत यहाँ स्पष्ट रहेको छ । त्यति वेलाको हितबहादुर तामाङसँगको अन्तरविरोधलाई समेत उनले वर्गीय र व्यक्तिगत सन्दर्भमा उदाहरण दिएर प्रस्तुत गरेका छन् । मूलतः उपत्यकामा संगठनको जिम्मेवारी लिएको व्यक्तिलाई धादिङ, रसुवा, नुवाकोट निकै नै कठिन यात्रा थियो । साथीहरूको एकता र अन्तरविरोधले ऊर्र्जा र सुस्तता दुवै काम गर्दथ्यो ।

लेखक लामाले एकातिर पार्टीभित्र रहेको श्रम शिविर र यातना शिविरको दमन र उत्पीडनको विरोध गरेका छन् भने अर्कोतर्फ पहाडबाट तराई दमित भएका विषय पनि उल्लेख गरेका छन् । उनको यो पुस्तकमा एकपछि अर्को घटना व्यक्ति पात्र, परिवेश र घटनाक्रमको रिल घुमेझै घुमिरहन्छ । यस्तो लाग्छ उनी आलोचना कति पचाउँछन् तर आलोचना गर्ने नचुक्ने आलोचनात्मक चेत भएका लेखक हुन् । आफूलाई चित्त नबुझेका कारण हालको नेतृत्वसँग निकट नरहेका उनी शरीर गुमाएर पनि देशको राजनीतिक जीवन योग्य बनाउन खटेका योद्धा हुन् । अन्ततः सहयोद्धा कमरेडहरू एक–अर्काको दुःख लुकाएर सहभागी हुन्थे ।

वर्गीय मायाको उँचो र व्यवहार नभएको भए सायद दशवर्षे जनयुद्ध यहाँसम्म आउन सक्दैनथ्यो । वर्तमानप्रति सन्तुष्ट नरहेका लेखक विगतप्रति गौरव गर्दछन् । जीवन र राजनीतिलाई द्वन्द्वात्मक देख्ने लेखकले माक्र्सवादलाई गतिशील विज्ञानको रूपमा बुझेको तर आफू अनुकूल व्याख्या गरेकाले सही समाधान निस्कन नसकेको ठहर उनको रहेको छ । अन्ततः यो पुस्तक एउटा राजनीति इतिहास जान्न पढ्नै पर्ने दस्तावेजको रूपमा स्थापित छ ।

प्रतिक्रिया