काठमाडौं । नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केही नेताहरू आफूलाई बदनाम गराउन सक्रिय रहेको आरोप लगाएका छन् । एक सहकारी बचत संस्थामा स्रोत नखुलेको आफ्नो ६१ करोड रुपैयाँ बचत रहेको झुटा समाचार सम्प्रेषण गर्न लगाउने काममा सत्तारुढ नेकपाकै नेताहरूको संलग्नता रहेको दाबी गरेका हुन् ।
राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गरी उनले मिडिया काउन्सिल विद्येयकको विरुद्धमा आफू उभिएपछि सत्तारूढ दलकै केही नेताको संलग्नतामा आफ्नो सामाजिक तथा राजनीतिक प्रतिष्ठामाथि नै आँच आउने गरी त्यस्तो कपोलकल्पित समाचार सम्प्रेषण गराइएको दाबी पनि गरे ।
काठमाडौंको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा पूर्वमन्त्री बस्नेतको नाममा स्रोत नखुलेको ६१ करोड रुपैयाँ बचत रहेको र त्यस सम्बन्धमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानविन प्रक्रिया अघि बढाएको छ । त्यही समाचारको खण्डन गर्न आयोजित पत्रकार सम्मेलन काँग्रेस केन्द्रीय सदस्य बस्नेतले त्यो सहकारीमा आफू र आफ्नो परिवारको सदस्यको कुनै पनि खाता नरहेको पनि दाबी गरे ।
पूर्वसञ्चारमन्त्री रहेका नेता बस्नेतले त्यो सहकारी संस्थाको नाम आफूविरुद्धको त्यो समाचार आएपछि मात्रै थाहा पाएको उल्लेख गर्दै सहकारी संस्थाले पनि शुक्रबार विज्ञप्ति जारी गरेर मेरो नाममा कुनै पनि खाता नरहेको स्पष्ट पारेको पनि बताए । उनले आफूमाथि झुटा आरोप लगाइएको उल्लेख गर्दै त्यसको भ्रममा नपर्न पनि सबैलाई आग्रह पनि गरेका छन् ।
प्रतिक्रिया