शोधनान्तर घाटा एक खर्ब

काठमाडौं । मुलुकको वित्तीय स्थिति खस्किएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको ११ महिनाको आर्थिक तथा वित्तीय स्थितिअनुसार अधिकांश सूचक खस्किएका छन् । जेठ महिनामा उपभोक्ता मुद्रास्फिति दर अर्थात मूल्य वृद्धि ६ दशमलव २ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यसै अवधिमा यस्तो दर ४ दशमलव १ प्रतिशत थियो भने वैशाख महिनामा यस्तो दर ५ दशमलव ३ प्रतिशत थियो । आन्तरिक रूपमा मूल्य वृद्धि बढ्दै जाँदा मुलुकको व्यापार घाटा भने चुलिँदै गएको छ । ११ महिनामा १२ खर्ब ११ अर्ब व्यापार घाटा पुगेको छ । गत वर्षको यसै अवधिको तुलनामा व्यापार घाटा १७ दशमलव २ प्रतिशतले बढेको हो । व्यापार घाटा चुलिनुले उत्पादनमूलक क्षेत्रको विकास हुन नसकेको जनाउँछ । कृषि उपजदेखि इन्धनसम्मको आयात बढेको छ ।

मुलुकले ८७ अर्ब ८३ करोड रुपैयाँको वस्तु बाहिर पठाउँदा १२ खर्ब ९९ अर्बको आयात गरेको छ । व्यापार घाटामा पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा उच्च छ । व्यापार घाटा बढ्दै जाँदा मुलुकको भुक्तानी सन्तुलन अर्थात शोधनान्तर स्थितिमा दवाब परेको छ । ११ महिनामा मुलुकको भुक्तानी सन्तुलन ९० अर्ब ८३ करोड ऋणात्मक छ । यसको अर्थ मुलुकमा भित्रिनेभन्दा बाहिरिने रकम झण्डै १ खर्ब छ ।

यसैबीच, काठमाडौं उपत्यकामा मूल्य वृद्धिदर नियन्त्रण लक्ष्यभन्दा माथि पुगेको छ । गत आर्थिक वर्षको बजेट र मौद्रिक नीतिले ६ दशमलव ५ प्रतिशतमा मूल्य वृद्धिदर नियन्त्रण गर्ने लक्ष्य निर्धारण गरिए पनि काठमाडौं उपत्यकामा योभन्दा माथि पुगेको हो ।

नेपाल राष्ट्र बैंककाअनुसार उपत्यकामा ७ दशमलव १ प्रतिशत मूल्य वृद्धिदर पुगेको छ । आर्थिक वर्ष ०७५/७६ को ११ महिना अर्थात् जेठ मसान्तसम्म औषत मूल्य वृद्धिदर नियन्त्रणमा नै देखिए पनि उपत्यकामा यो औषतभन्दा बढी रहेको छ । ११ महिनाको अवधिमा औषत वृद्धिदर ६ दशमलव २ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फिति ४ दशमलव १ प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ मुद्रास्फिति २०७६ जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिति ६ दशमलव ७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फिति ३ दशमलव शून्य प्रतिशत रहेको थियो । गैर–खाद्य तथा सेवा मुद्रास्फिति २०७६ जेठ महिनामा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फिति ५ दशमलव ७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फिति ५ दशमलव शून्य  प्रतिशत रहेको थियो ।

सबैभन्दा बढी तरकारीको मूल्य वृद्धि १४ दशमलव ६ प्रतिशत रहेको छ । गत वर्ष सोही अवधिमा यस्तो वृद्धिदर ११ प्रतिशत रहेको थियो । क्षेत्रगत उपभोक्ता मुद्रास्फितिमा काठमाडौं उपत्यकामा ७ दशमलव १ प्रतिशत, हिमालमा ६ दशमलव ५ प्रतिशत, तराईमा ५ दशमलव ८ प्रतिशत र पहाडमा ५ दशमलव ७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया