डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिकाले किसानलाई आयआर्जनमा जोड दिन उन्नतजातका गाई र भैंसी वितरण गरेको छ । पूरै नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउन पूर्ण अनुदानमा उन्नतजातका गाई र भैंसी वितरण गरिएका हुन । किसानको आयस्तर वृद्धि गर्ने उद्देश्यले उन्नतजातका गाई र भँैसी वितरण गरिएको नगरपालिका प्रमुख मञ्जु मलासीले बताईन ।
नगरपालिका ५, ६ र ७ वडाका १३ किसानलाई जर्सी, होलिस्टिन र रेडसिन्धी जातका गाई वितरण गरेको नगरपालिकाका पशु सेवा प्राविधिक डिलबहादुर साउदले जानकारी दिए । आर्थिक वर्ष २०७५÷७६ को कार्यक्रम अनुसार जम्मा २० किसानलाई उन्नत गाई वितरण गर्ने योजना रहेकामा वडा नं ४ का सात किसानलाई केही दिनभित्रै गाई वितरण गरिने जनाइएको छ ।
त्यसैगरी नगरपालिकाको वडा १ शिरखोलीसैनका आठ किसानलाई मुर्राक्रस जातका भैँसी पनि वितरण गरिएको पशु सेवा प्राविधिक साउदले बताए । सार्वजनिक सूचनामार्फत किसानबाट फाराम भर्न लगाई ती फारामउपर स्थलगत अनुगमन गरी किसान छनोट गरिएको नगरपालिकाले जनाएको छ । ढुवानीसहित रु १५ लाखमा २० गाई र रु सात लाख ६० हजारमा भैँसी खरीद गरी किसानलाई वितरण गरिएको नगरपालिकाको पशु सेवा शाखाले जनाएको छ ।
आफूले विगत पाँच वर्षदेखि व्यावसायिकरूपमा गाईपालन गर्दै आएको र नगरपालिकाले थप दुई उन्नतजातका गाई उपलब्ध गराएको साम्भवी एग्रो प्रोडक्सन प्रालि दिपायलका सञ्चालक रवि श्रेष्ठले बताए । उनले भने, ‘मैले विगत पाँच वर्षदेखि उन्नतजातका गाईपालन गर्दै आएका थिएँ, यो पटक नगरपालिकाले थप गाई दिएपछि मेरो फार्ममा सहुलियत भएको छ ।’ यसअघि नगरपालिकाले किसानलाई बाख्रा, बोयर बोका र कुखुरासमेत पूर्ण अनुदानमा वितरण गरिसकेको छ ।
प्रतिक्रिया