स्याङ्जाको भिरकोट–४ मा रहेको छायाँक्षेत्र मन्दिर दुलहीझैँ सिंगारिएको छ । साउन महिनामा शिवशक्ती पीठमा भक्तजनको घुइँचो लाग्ने भएकाले यस क्षेत्रमा पनि साउन महिनामा महाआरती गर्ने उद्देश्यले मन्दिर परिसरलाई सिंगारिएको छ ।
सिद्धार्थ राजमार्गको छेउमा रहेको यस क्षेत्रको धार्मिक महिमा श्रीस्वस्थानी व्रत कथामा समेत उल्लेख रहेको पाइन्छ । भगवान् शिवले सतिदेवीको मृत शरीर बोकेर ब्रह्माण्ड डुल्ने क्रममा सतिदेवीको अन्तिम अंग पतन भएको क्षेत्र छायाँक्षेत्र हो । यसको विस्तृत कथाका बारेमा स्वस्थानी व्रतकथामा पनि उल्लेख गरिएको छ ।
यस श्रेत्रको नामाकरण छायाँ क्षेत्रबाट छाङ्छाङदी कसरी भयोे ? भन्ने विषयमा एक किंवदन्ती छ । यहाँ पहिले मगरहरूको बाक्लो बसोवास भएको र कडा चट्टानको बीचबाट उत्पन्न भएको जल छ्याङ—छ्याङ गर्दै बग्ने भएकाले यस क्षेत्रको नाम छाङछाङदी भएको भन्ने जनविश्वास छ ।
मगर भाषामा डि को अर्थ पानी र छ्याङ–छ्याङ गर्दै पानी बग्ने भएकाले छ्याङ–छ्याङ डी अपभ्रंस हुँदै छाङछाङदी नामाकरण भएको विश्वास मानिँदै आएको छ । शिव भगवान्को आराधना गरिने यस मन्दिरमा आफूले चाहेको मनोकामना पूरा हुने विश्वासका साथ निकै टाढा तथा छिमेकी देश भारतदेखिका श्रद्धालु भक्तजन आउने गर्दछन् ।
मंगलबारका दिन मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत साउन महिनाभरीे विभिन्न कार्यक्रमको तयारी पूरा गरिएको छायाँक्षेत्र मन्दीर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले जानकारी दिए । प्रादेशिक र संघीय सरकारले भौतिक पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताउँदै उनले भने, ‘छायाँक्षेत्र स्याङजाको मात्र होइन, गण्डकी प्रदेशको गौरवको धार्मिक क्षेत्र हो ।’ श्रेष्ठले १ सय ८ जलधारा, सिटी हल, गुरूकुल तथा राजमार्गबाट नै मन्दिर देखिने राजमार्गको छेउछाउ कटान रोक्ने कार्यमा ३ वटै सरकारको साथ आवश्यक रहेको बताए ।
शिव महिमाको महिनाको रूपमा लिइने साउन महिना तीर्थ व्रत गर्ने, शुद्ध शाकाहारी भोजन ग्रहण गर्ने, बोलबम यात्रा गर्ने र शिवको आरधना गर्ने महिनाको रूपमा लिइन्छ । बिशेष गरी साउन महिनाको सबै सोमबार यस श्रेत्रमा विशेष पूजा गर्ने दर्शनार्थीको भीड लाग्ने गर्दछ । यस श्रेत्रमा कडा चट्टान फोरेर जल वर्षा भएको दृश्य आश्चर्यजनक मानिन्छ । सोही जल गौमुखबाट स्नान गर्ने अर्को पवित्र कार्य मानिन्छ ।
नेपालको पशुपतिनाथमा गरिनेजस्तो महाआरती यस महिना छाङछाङदीमा पनि गरिन लागेको प्रमुख वाचक पण्डित प्रकाश तिवारीले बताए । उनले भने, ‘यो भूमिमा हिजो धार्मिक एवं आज विज्ञानको हिसाबले पनि शत्तिशाली छ । प्रकृतिमा शक्ति लुकेको छ । यसको प्रवद्र्धन गर्न सके धार्मिक पर्यटनको ठूलो सम्भावना देखेको छु , छायाँक्षेत्रमा ।’ यस क्षेत्रको महिमा उनले बताए ।
यस वर्षको साउन महिनामा विशेष शिव संगीत, भजन, किर्तन, चट्टान फोरेर निस्किएको जल शेचन गर्दै वैदिक मन्त्रले जपेको जनै फेर्न पाईने व्यवस्था, टाढाबाट आउनेलाई खान बस्नको व्यवस्थालगायतका सेवा प्रदान गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव कृष्ण प्रसाद श्रेष्ठले बताए ।
यस क्षेत्रको प्रवद्र्धन गर्न स्थानीय सरकारले चासो देखाएको नगर उपप्रममुख सीमा केसी कर्माचार्यले बताइन्, ‘छायाँक्षेत्रको महिमा देवी देउताको पालादेखिको वास्तविकता हो । यसको ऐतिहासिक एवं धार्मिक महत्वलाई जोगाउन आवश्यक छ ’, कर्मचार्यले बताइन् ।
यस धाममा आउने धार्मीक पर्यटकलाई किचनसहित ६० जनासम्म खान बस्न सक्ने आवासको समेत व्यवस्था गरिएको छ । अझ भौतिक पूर्वाधारको विकास गर्दै आवास, सभा हल, एक सय ८ जलधारा व्यवस्थापन यस धामको लक्ष्य रहेको छ । यहाँ आउने भक्तजनहरूले मनोकामना पूरा हुनेमा विश्वास गर्ने गरेका कारण यस पवित्र क्षेत्रको महिमा अझ झरिलो बनेको छ ।
भारतबाट आउने धार्मिक पर्यटन ओझेलमा
धार्मिक पर्यटनको उच्च सम्भावना रहेको यस धाममा उचित प्रचार प्रसार हुन नसक्दा हजारौँ भारतीय पर्यटक यस धामको मझेरीबाट बिदा गर्नुपरेको भनाइ छायाँक्षेत्र मन्दिर व्यवस्थापन समितिको गुनासो छ । ‘दैनिक हजारको संख्यामा भारतीय पर्यटक यहाँबाट दौडिन्छन् तर यस्तो महिमा बोकेको धार्मिक श्रेत्रको प्रचार गरेर उनीहरूलाई आकर्षित पार्न सकेनाैँ’, व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले बताए । उनी भन्छन् ,‘धार्मिक पर्यटनको विकास गर्न आँधीखोलाको र छायाँश्रेत्रको महिमा बेच्न सके मात्र पुग्छ ।’
छायाँक्षेत्र मन्दिरबाट निस्किएको जल पवित्र आँधीखोलामा मिश्रण भएपछि यहाँको जल अझ पवित्र भएको भक्तजनको विश्वास छ । पुत्र वियोगको शोकमा अन्धाअन्धी माता–पिताको पीडा, रोदनको साक्षी छायाँक्षेत्रको जल बनेपछि अति पवित्र मानिने भए पनि प्रचार–प्रसारको अभावमा यहाँ आउने धार्मिक पर्यटन रोक्न नसकेको नमस्ते आँधीखोलाका अध्यक्ष सुरज प्रताप खाँणले बताए । नमस्ते आँधीखोलाले अब आँधीखोला संरक्षण प्रर्वद्धन तथा यस श्रेत्रको धार्मिक महिमाको प्रचार गर्न लाग्ने खाँणको भनाइ छ ।
यस्ता पवित्र स्थल धार्मिक महत्वको वेला मात्र खोज्ने होइन अरू वेला प्रचार प्रसार गर्ने बानीको विकाश गर्ने हो भने धार्मिक पर्यटनको उच्च सम्भावना रहेको छ ।
स्याङ्जा
प्रतिक्रिया