कर्कट संक्रान्ति अर्थात् साउने संक्रान्ति र लुतो फाल्ने पर्व

पछिल्लो समयमा धर्म निरपेक्ष भनिए पनि हाम्रो देश वैदिक सनातन हिन्दूहरूको बाहुल्यता भएको देश हो । हिन्दू धर्ममा हरेक दिन केही न केही चाडपर्व तिथिहरू रहेका हुन्छन् । आज श्रावण महिनाको १ गते । यहाँ श्रावण महिनाको पहिलो दिन साउने संक्रान्तिको बारेमा केही जानकारीहरू प्रस्तुत गरिएको छ । धार्मिक दृष्टिले महिना पवित्र महिना मानिन्छ । त्यसमा पनि श्रावणको सोमबारको छुट्टै महत्व रही आएको छ । श्रावण महिना हिन्दू नारीहरूका लागि त्यतिकै महत्वको रहेको छ ।

शिवजीको आराधनाका रूपमा लिइने यो महिनाका बारेमा अर्को लेखमा विस्तृत जानकारी गराउने छु । हिन्दू संस्कृतिमा श्रावण महिनाको पहिलो दिनलाई साउने संक्रान्ति पर्वको रूपमा लिइन्छ । हिन्दू धर्मावलम्बीहरूले मनाउने चाडहरू मध्ये साउने संक्रान्ति एउटा महत्वपूर्ण चाड पर्व हो । विक्रम सम्वत्को क्यालेन्डर अनुसार श्रावण महिनाको १ गतेलाई साउने संक्रान्ति भनिन्छ । ज्योतिषशास्त्रानुसार सौर्य तिथिको हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गरी दक्षिणायण हुने हुनाले यसलाई ‘कर्कट संक्रान्ति’ पनि भनिएको हो ।

यो दिनदेखि सूर्य उत्तरी गोलाद्र्धबाट दक्षिणी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकोले दिन छोटो र रातलामो हुँदै जाने विश्वास गरिन्छ । साउन महिनाले नेपाली खास गरी हिन्दू धर्मसँग सम्बन्धित परम्पराका चाडहरूलाई भित्र्याउने भनाइ छ । नेपालभर स्नान, दान, होम, श्राद्धजस्ता विशेषकार्यको सुरुवात यही दिनदेखि गरिन्छ । हिन्दू धर्मअनुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने भएकोले हिन्दूधर्मावलम्बीले साउन महिनादेखि पितृकार्यको थालनी गर्ने प्रचलन छ 

सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्व पूर्ण मानिन्छ । यो दिनदेखि सूर्य उत्तरी गोलाद्र्धबाट दक्षिणिगोलाद्र्धतर्फ प्रवेश गर्ने भएकोले दिन छोटो र रातलामो हुँदै जाने विश्वास गरिन्छ । साउन महिनाले नेपाली खास गरी हिन्दू धर्मसँग सम्बन्धित परम्पराका चाडहरूलाई भित्र्याउने भनाइ छ । नेपालभर स्नान, दान, होम, श्राद्धजस्ता विशेषकार्यको सुरूवात यही दिनदेखि गरिन्छ ।

हिन्दू धर्मअनुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिनहुने भएकोले हिन्दूधर्मावलम्बीले साउन महिनादेखि पितृकार्यको थालनी गर्ने प्रचलन छ । साउने संक्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिरा जस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वासका रहिआएको छ । विवाहित महिलाहरू साउने संक्रान्तिदेखि साउन महिनाभर सौभाग्यको प्रतीक र वस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमबार व्रत बसी शिवको पूजा आराधना गर्दछन् ।

यसलाई अयन संक्रान्ति कर्कट संक्रान्ति पनि भन्ने गरिन्छ । सहर बजारमा यो पर्व विस्तारै लोप हुँदै गए पनि ग्रामीण क्षेत्र तिर अझै पनि यो पर्वले महत्व राख्दछ । ज्यो. पं. भरतमणि मरासिनिका अनुसार वर्षमा दुई अयन हुन्छन् । अयन भनेको सूर्यको उत्तर र दक्षिणी हिँडाइको गति हो । यिनमा उत्तरायणलाई देवताको दिन भनिन्छ र दक्षिणायन लाई रात । सूर्यको पालो फेरिएर एक स्थानबाट अर्काे स्थानमा जानु लाई संक्रान्ति भनिने हुँदा मकर संक्रान्ति देखि सूर्यको गति उत्तरतिर हुन्छ भने कर्कट संक्रान्तिदेखि दक्षिणतिर हुन्छ । बाह्र संक्रान्ति मध्ये कर्कट संक्रान्ति र मकर संक्रान्तिमा अयनहरू फेरिने हुँदा यी संक्रान्तिहरू महत्वपूर्ण छन् ।

साउने संक्रान्तिका दिन सहर बजारमा छोरी चेलीलाई बोलाएर मीठा–मीठा परिकार खुवाउने चलन छ भने ग्रामीण इलाका तिर भने यस दिनलाई लुतो फाल्ने चाडका रूपमा मनाइने गरिन्छ । लुतो भनेको हाम्रो शरीरमा ज्यादै चिलाउने र बाक्ला बिबिरा उठेर पाक्ने खटिराविशेष रोग हो । साँझ झमक्क परेपछि कण्डारक राक्षसको विशेष रूपले पूजाआजा गरी फलफूलसहित अँगेनामा कुरिलो र तीतेपातीका डाँठहरू सल्काएर बलिरहेको यसैको एउटा अगुल्टो झिकेर नाङ्लो ठटाउँदै अगुल्टोलाई पूर्व, पश्चिम, उत्तर र दक्षिण चारै दिशा घुमाउँदै ‘लुतो लैजा’ ‘मेरो खटिरा पटिरा लैजा’ भन्दै हुरूहुरू चारैतिर फ्याँकेर सेलाइन्छ ।

वास्तवमा लोक विश्वासअनुसार कण्डारक भनेको लुतो आदि रोगको कारक मानिएको एक पौराणिक मानवेतर दुष्ट राक्षसलाई बुझाउँछ । यसरी यस राक्षसको पूजाआजा गरी बलिरहेको अगुल्टो फ्याँकेपछि यस राक्षसले दुःख दिँदैन र लुतो रोग पनि लाग्न पाउँदैन भन्ने मान्यता छ । त्यसो गर्नुको अर्थ वर्षदिनका रोगहरूलाई घरबाट बाहिर हुत्याउनु हो भनिन्छ । लुतो फालिसकेपछि कुकुर डाइनोको मलम बनाई घाउ खटिरामा लगाइने गरिन्छ । कुकुरडाइनो एक प्रकारको जडीबुटी पनि हो जसले सानातिना घाउखटिरा निको पार्दछ । यस पर्वको तात्पर्य रोग फाल्ने, कमजोरी हटाउने, भयावह महामारीबाट सतर्क रहने तथा स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने पर्व पनि हो ।

साउने संक्रान्तिलाई सूर्य उपासनाको पर्वको रूपमा पनि लिइन्छ । सूर्य प्रत्यक्ष परमेश्वर भएकाले सबैले प्रत्यक्ष दर्शन गर्न पाउँने देवता हुन् । अरू देवतालाई अनुमानका आधारमा वा अरूले गरेको वर्णनको आधारमा दर्शन गर्ने गरिन्छ । तर, सूर्य प्रत्यक्ष परमेश्वर भएकाले सबैले प्रत्यक्ष दर्शन गर्न सक्ने देवता हो । सूर्य नभए प्राणीको अस्तित्व नै संकटमा पुग्दछ ।

यस्ता प्रत्यक्ष परमेश्वरको उपासना गर्ने पर्व संक्रान्ति हो । यस दिन मानिसहरू तीर्थ स्थल एवं घाटहरूमा गई स्नान शुद्धिपश्चात् देवीहरूको दर्शन, पूजन र भजन गर्दछन् र सूर्य भगवान्को पूजा पनि गर्दछन् । अनि दिउँसोतिर पहाड तथा टाढा–टाढाका गाउँहरूबाट काठमाडौं उपत्यका स्थित देवदेवीहरूको दर्शन गर्न नरनारीहरू आउँछन् र वनकालीको वन तथा स्वयम्भूको वन आदि स्थानहरूमा भेला भई आफ्नो घरबाट औकात अनुसार तयार पारेर ल्याएका खानेकुराहरू खाएर एक एक समूहमा बाँडिएर आ–आफ्नै लयमा रसिया, झ्याउरे, दोहा, चौपाई, कविता, टफ्फा, टुक्काहरू गाउँदै, अलापी यस वर्षको आफ्नो जीवनलाई सार्थक र सफल पा¥यौँ भन्दै ठूलो खुसीयाली पनि मनाउने गर्दछन् । यी उपरोक्त कार्यहरूका अतिरिक्त यस दिन कसै कसैले श्री सत्यनारायणको पूजा गरी व्रतउपवास पनि बस्ने गर्दछन् ।

हाम्रो देशका अधिकांश मानिसहरू कृषि पेसासँग सम्बन्धित छन् । त्यसकारण आषाढ महिनाभर ‘मानो खाएर मुरी उब्जाउने’ भन्ने कथनानुसार यहाँका मानिसहरू रोपाईं कार्यमा लागेका हुन्छन् र त्यस कार्यले गर्दा तिनीहरू थकित हुनुको साथै आफ्ना इष्टमित्र र नाता कुटुम्बहरूसँग भेटघाट गरेर कुनै पनि मनोरञ्जन गर्न पाएका हुँदैनन् । त्यसैले थकित अवस्थालाई मनोरञ्जन तुल्याउन र आषाढ महिनामा रोपाईं कार्य गरी हिलोमैलो लागेको शरीरलाई सुग्घर सफा गरी स्नानादि कार्य गराई यो साउने संक्रान्ति मनाउने गरिन्छ ।

प्रतिक्रिया